arrow

त्रिपक्षीय अडानको चपेटामा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाः मैदान छ, खेल छैन

logo
नारायण वली,
प्रकाशित २०८० पुष ७ शनिबार
criket (2).jpg

लुम्बिनी । पछिल्लो समय नेपालले क्रिकेटमा एकपछि अर्को सफलता पाउँदै गएको छ । १२ वटामध्ये ११ खेल जितेर एक दिवसीय मान्यता समेत पायो । नेपाल एसिया कपमा भारत र पाकिस्तान जस्ता क्रिकेटका बलिया देशका टिमसँग पनि भिड्यो ।

जसले गर्दा १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुन पुग्यो । नेपालले अब एक दिवसीय विश्वकप खेल्ने र टेष्ट मान्यता पाउने पक्का छ । तर बिडम्वना, नेपालमा हालसम्म सुविधायुक्त क्रिकेट रंगशालाको कमी छ ।

देशमा राम्रो मैदान नहुँदा र क्रिकेटको विकासले लय लिँदै गर्दा सरकारप्रति सर्वत्र जनगुनासो बढ्दै आएको छ । गुणस्तरीय मैदान बनाउनका लागि । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रुपमा क्रिकेट मैदान र रंगशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहे पनि चरम ढिलाईले खेलप्रेमी र खेलाडीहरु निराश बन्दै गएका छन् ।

सरकाले काठमाडौँको मूलपानीमा क्रिकेट रंगशाला निर्माण गर्न थालेको १७ वर्ष बितिसक्दा हालसम्म पूरा हुन सकेको छैन । युवा तथा खेलकुद मन्त्रालयका अनुसार ३५ प्रतिशत काम सम्पन्न भएको जनाएको छ। सो रंगशालाको भीआईपी प्याराफिट ब्लक ढलान भइ प्लास्टरको काम भइरहेको बताइएको छ।

भैरहवास्थित क्रिकेट रंगशालामा ‘ब्लक बी’ आयोजनाको २२.५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमीको ‘ब्लक एच’ र कास्कीको पोखरा क्रिकेट रंगशालाको एउटा ब्लक निर्माण कार्य शुरु भएको मन्त्रालयको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रगति समीक्षा कार्यक्रममा जनाएको छ।

क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि सरकारी तवरका निर्माणकार्य ढिलाई भए पनि तर संस्थागत रुपमा बनाइएका उत्कृष्ट क्रिकेट मैदानको सदुपयोग हुन सकेको छैन । यसको ज्वलन्त उदाहरण हो, अन्तर्राष्ट्रियस्तरको मापदण्ड अनुसार बनाइएको दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला खेल मैदान । मैदान भएपनि खेलाडी र प्रतियोगिता नभएका कारण प्रयोगविहीन बन्दै आएको छ । 

लमही नगर विकास समितिको ६ करोड लागतमा नेपालकै अन्तर्राष्ट्रियस्तरको मानिने देउखुरी क्रिक्रेट रंगशाला लुम्बिनी प्रदेशको स्थायी राजधानी नजिकै पर्दछ । बिडम्वना, प्रतियोगिता सञ्चालन गर्न अन्य क्रिक्रेट मैदानको खोजी गरिन्छ, उक्त रंगशालामा प्रतियोगिता गराइदैन लमही नगर विकास समितिका अध्यक्ष शोभाराम पौडेलले बताए । उनले भने, ‘यसलाई चलायमान बनाउन स्थानीय सरकारनै जाग्नुपर्ने हो, तर चासो दिएको पाइँदैन ।

देशका लागि लाखौं रुपैयाँ खर्चिएर बनाएको मैदानले बिजनेश नपाउनु सम्बन्धित निकाय र राज्यको गम्भीर नालायकीपन हो । क्रिक्रेट मैदानको संरक्षण र समन्वय गर्ने अग्रसरता स्थानीय पालिकाले देखाउनु पर्छ ।  स्थानीय सरकारले चासो नदिँदा अन्तराष्ट्रिय क्रिक्रेट मैदान ओझेलमा पर्दै गएको स्थानीय युवा युवराज पौडेलले बताए ।

उनले भने, 'स्थानीय पालिका स्वास्थ्यका लागि खेल भन्ने नारा मात्रै लगाउने तर काम भने नगरेको जनाउँदै स्थानीय सरकारबाट अपेक्षा गरिए अनुसारको सहयोग क्रिकेट मैदानले पाएको देखिँदैन । उनले भने, 'संरचनालाई सक्रिय र चलायमान बनाउन स्थानीय पालिकाबाट कुनै पहलकदमी भएको छैन ।' 

मैदानको संरक्षणमा कसैले चासो नदिदा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान घाँसे मैदानमा परिणत भएको हो । सरोकारवालाहरु मौन बस्नु र मैदानको संरक्षण तथा सम्द्र्धनतर्फ कसैको ध्यान नपुग्दा मैदान ओझेलमा परेको स्थानीय विजय गिरीले बताए । हालसम्म दुई ओटा ठूला क्रिक्रेट खेल सञ्चालन भएका छन् । त्यसयता हुन सकेका छैनन् ।

आठौँ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता र प्रधानमन्त्री कप, महिला क्रिक्रेट प्रतियोगिता सम्पन्न भइसकेका हुन् भने प्रदेशस्तरिय खेलाडी छनोट प्रतियोगिता सम्पन्न भइसकेको छ । मैदानभित्र स्कोर बोर्ड र एलईडी (डिस्प्ले) डिजिटल बोर्ड स्थापना गरिएको छ, तर ती बोर्ड प्रयोगविहीन छन् । बोर्ड स्थापना भएदेखि मैदानमा खेल भएको छैन । 

देउखुरी क्रिकेट क्लबका पूर्वसचिव पवन रिजालले भने, 'भौतिक पूर्वाधार बनाउन लमही विकास समितिलाई बजेट विनियोजन गराउन पटकपटक लगायौँ मैदान बन्यो, स्थानीय निकायलाई विगतदेखि हालसम्म हेर्दा बेवास्ता नजरले हेरेको छ, हामीले यहाँ अन्तर्राष्ट्रियस्तरको खेल प्रतियोगिता गराउन खाज्यौँ । हामी सबैले क्रिकेट मैदान सञ्चालन तथा संरक्षणको जिम्मेवारी क्यानलाई दिने र त्यहाँ बनेका व्यवसायिक सटरहरुको आय नगरपालिकालाई दिने सहमतिमा सञ्चालन गरौँ भन्दा पनि चासो दिइँदैन । क्लबले चलाउन सम्वभ छैन । क्यानलाई दिएमा सञ्चालनमा आउने थियो भन्ने हाम्रो विश्वास हो । 

क्लबका एक सदस्यले नाम नखुलाउने सर्तमा भने ‘क्युरेटर बिना मैदानको अर्थ छैन । मैदानको संरक्षण भएको पाइँदैन । यस विषयमा स्थानीय पालिकाले तदारुकता नदेखाएको बेला क्रिकेटको छाता संगठन नेपाल क्रिक्रेट संघ (क्यान) ले आफ्नो मातहतमा खोज्नु, लमही नगर विकास समिति र स्थानीय लमही नगरपालिकाले हस्तान्तरण गर्न नमान्नुले त्रिपक्षीय अडानको चपेटाले अलपत्र जस्तै बन्न पुगेको बताए । 

प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले सही ठाउँमा बनेको क्रिकेट रंगशालालाई चलायमान बनाउनका लागि परिषद्ले त्यहाँ सम्बन्धित निकायलाई बोलाएर आवश्यक छलफल एवं पहल गर्ने, खेलका गतिविधिलाई शुरु गराउने कुरामा जोड दिने र उक्त मैदानको विषयमा आफूले विशेष ध्यान दिएको बताए ।

उनले करोडौँ लगानीमा बनेको क्रिकेट मैदानलाई बेकामको बनाउनु खेलप्रति उपेक्षा गरिएको बुझ्न सकिने भएकाले समयमै सम्बन्धित निकायहरुले प्रदेशमा परिषद् पनि छ भनेर समन्वय गरेर सञ्चालन गर्ने कुरा लाग्नुपर्ने उल्लेख गरे । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ