arrow

उम्मेदवार छनोटमा ढुलमुल

राष्ट्रिय सभा निर्वाचनः कांग्रेसले हिँड्नु पर्ने बाटो 

छनोटमै समस्या, पटक पटक अवसर पाएकालाई नछुन आग्रह, जोड अवसर नपाएका र युवामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १२ बिहिबार
congress-party-office-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ । आगामी फागुन २० गते राष्ट्रिय सभामा निर्वाचित १९ तथा राष्ट्रपतिको मनोनयनमा परेका एक गरी २० सांसदको पदावधि सकिँदैछ । 

राष्ट्रपतिले पछि एक जना मनोनयन गर्ने र त्यसअघि १९ जनाको लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । दलहरुबीच आन्तरिक तयारी तीव्र भइरहेको छ । 

कुन पार्टीबाट कस्ता उम्मेदवार आउलान् भन्ने चासो एकातिर त छँदैछ अर्कातिर गठबन्धन दलहरुबीच को कोसँग कसरी तालमेल हुँदैछ भन्ने अहिलेसम्म खुलेको छैन । 

सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले यसलाई निकै महत्वका साथ लिएकै कारण पुस १६ देखि हुने भनिएको महासमिति बैठक नै सारेर फागुन ७ का लागि पुर्याएको छ । 

कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवार चयन गर्नका लागि प्रारम्भिक चरणको छलफल आज गर्दैछ । 

दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिको बैठक बस्दैछ । यो बैठकमा समसामयिक लगायत राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसबाट बचाउने उम्मेदवारका बारेमा गम्भीर बहस हुने बुझिन्छ । 

को बन्न पाउँछन् उम्मेदवार ? 
नेपालको संविधान २०७२ को धारा ८७ बमोजिम राष्ट्रिय सभाको सदस्य हुनका लागि पाँच ओटा योग्यता तोकेको छ । जसमा–
क, नेपालको नागरिक भएको हुनुपने ।
ख, पैँतीस वर्ष उमेर पूरा भएको हुनुपर्ने ।
ग, नैतिक पतनदेखिने फौजदारी कसूरमा सजाय नपाएको हुनुपर्ने ।
घ, कुनै संघीय कानूनले अयोग्य नभएको हुनुपर्ने ।
ङ, कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने ।

यसमा स्पष्टीकरणमा लाभको पद भन्नाले निर्वाचन वा मनोनयद्धारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनुपर्छ भनेर उल्लेख छ । 

त्यसैगरी कुनै पनि व्यक्ति एकैपटक दुवै सदनको सदस्य हुन सक्ने छैन भने निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति यस भाग बमोजिम संघीय संसदको सदस्य पदमा निर्वाचित वा मनोनीत भएमा संघीय संसदको सदस्य पदको शपथ ग्रहण गरेको दिनदेखि निजको त्यस्तो पद स्वतः रिक्त हुने उल्लेख छ । 

कस्तो छ उम्मेदवारीको प्रावधान ? 
निर्वाचन आयोगले पुस २३ का लागि आवश्यक तयारी तीव्र पारेको जनाएको छ । आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिका बमोजिम मनोनयन पत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले स्पष्ट गरेको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्ने छ । 

महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । आर्थिक रूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहको सिफारिस पत्र संलग्न हुनुपर्नेछ ।

मनोनयनका लागि दलको उम्मेदवारको हकमा उम्मेदवार मनोनयनको औपचारिक पत्र, दलित समूहबाट उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा आवश्यक पर्नेछ । 

अपाङ्गता भएका वा अल्पसंख्यक समुदायबाट उम्मेदवारी दिने व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । 

साथै अल्पसंख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायले दिएको अल्पसंख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा संलग्न हुनुपर्नेछ ।

यस्तै प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचकमण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको ब्यहोरा खुल्ने प्रमाण, मतदाता नम्बर पनि उल्लेख गर्नुपर्नेछ । 

साथै, घर संख्या, घर रहेको स्थान तथा जग्गाको विवरण खुलाइएको उम्मेदवारको सम्पत्ति विवरण, कुनै सङ्घीय कानुनले अयोग्य नभएको भनी गरेको स्वघोषणापत्र, निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पदमा बहाल नरहेको भनी गरेको स्वघोषणापत्र पनि आवश्यक पर्ने आयोगले जनाएको छ । 

उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा, गत प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीबाट नाम फिर्ता लिएको आयोगको पत्रको प्रतिलिपि पनि संलग्न गर्नुपर्ने आयोगले जनाएको छ ।

कांग्रेसको चाहना र जोडबल  
कांग्रेसभित्र यस्तो एउटा रोग पालिएको छ कि कुनै पनि पदका लागि यतिपटक हुनुपर्ने भन्ने विधानमै उल्लेख छैन । सबैभन्दा पुरानो दल भएको नाताले कांग्रेसले विधानमा उल्लेख नगरेसम्म संविधानमा उल्लेख हुन सक्दैन भन्ने नजिर कांग्रेसका पुराना नेताहरुले बसाउन खोजेको भए पनि लाभको पदमा भने तँछाड र मछाड नै हुने गरेको छ । 

व्यावहारिक रुपमा हेर्ने हो भने कांग्रेसले अहिले निर्वाचन हुँदै गरेका १९ मध्ये कति उम्मेदवार दिन पाउने भन्नेमा अलमल छ । किनकि कांग्रेस गठबन्धन सरकारमा छ । केन्द्रदेखि प्रदेशसम्म गठबन्धन भएर जोडिएकाले कांग्रेसले सबै १९ जना नै उम्मेदवार उठाउन पाउने छैन । 

कांग्रेसले १९ मध्ये कति जना उम्मेदवार उठाउन पाउँछ त भनेर गठबन्धन दलहरु गम्भीर छलफलमा बसेका छैनन् । कांग्रेसले बढीमा पाउने भनेको १० देखि ११ जनामात्रै हो । 

११ जनाको हिसाब गर्दा पनि कस्ता मान्छे आउनु पर्छ त भनेर बहस गर्ने हो भने निकै लामो समय जान सक्छ । त्यो समय केन्द्रीय समितिको बैठकमा पनि छलफल हुने सम्भावना कम छ । 

कांग्रेसभित्र पदीय लोभ र पदलोलुपता धेरै छ । को कति पटक प्रधानमन्त्री हुन पाउने ? को कतिपटक सांसद हुन पाउने ? को कति पटक चुनाव लड्न पाउने वा को कतिपटक लाभको पदमा बस्न पाउने भन्ने नियम न संविधानमा छ न त कांग्रेसको विधानमै । 

कांग्रेसभित्र जसको शक्ति उसको भक्ति चलिरहेको छ । कानूनमै लेखिएर नआएसम्मका लागि बेथिति उत्तिकै हुनेछ । 

अहिले १९ जनाको चुनाव हुँदै गर्दा कांग्रेसबाट मात्रै आकांक्षी देशभरबाट चार सयको हाराहारीमा पुग्न सक्ने देखिन्छ । बुधबारमात्रै बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस गरिएको छ । 

यसबाट पनि बुझिन्छ कोही इच्छुक छन् । कोही आफ्ना नेताले नाम पार्न सकिन्छ कि भनेर नाम हालिदिएका पनि छन् र कोही त नामसम्म सिफारिसमा पार्न पाए अन्त कतै वा भोलिका दिनमा सांसदका लागि पनि उम्मेदवारीको सिफारिस गराउन सजिलो हुने थियो भनेर मिसन ८४ लाई अहिलेदेखि नै लागेको पनि देखिन्छ । कोही त कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रमा पर्नका लागि पनि नाम परेका हुन सक्छन् । 

तर त्यसमा चर्चित अनुहार पनि उत्तिकै छन् । चुनाव हारेका, यसअघि पटक पटक लाभको पदमा बसेका, मन्त्री नै भइसकेकाहरु पनि जोडतोडले अन्तिम पटक हो भन्दै पाएक किन छाड्ने भनेर नेतृत्वलाई दबाब दिँदै गरेकाहरु पनि छन् । 

कांग्रेसको पाको उमेरकाहरु राष्ट्रिय सभामा अनुभवी व्यक्ति जानुपर्छ भनिरहेका छन् । अन्तिम अवसरका रुपमा उनीहरुलाई सम्मान गर्नुपर्छ भन्ने पनि छन् । 

तर सम्मान आफ्नो ठाउँमा होला राष्ट्रिय सभामा जाने भनेको काम गर्नका लागि हो । संसदमा पुग्नु असल कानून निर्माणका लागि हो । स्पष्ट वक्ता जो दूरदृष्टि राखेर राजनीति गरिरहेका छन् त्यस्ता व्यक्तिहरुका लागि हो राष्ट्रिय सभा । 

युवाको प्रतिनिधित्व नरहेसम्म विकासको राजमार्ग पकड्न सकिँदैन भनेर युवालाई राष्ट्रिय सभामा लैजानुपर्ने माग पनि उत्तिकै उठेको छ । 

जेहोस् कांग्रेसले यसअघि गरेको गल्ती नदोहोर्याओस् भन्नेमा धेरैको जोड रहेको छ । एकपटक अवसर पाइसकेकालाई भन्दा प्रजातन्त्र र लोकतन्त्रका लागि जीवन नै सुम्पेका त्यागी नेताहरु र स्पष्ट कार्यदिशा भएका नेताहरुलाई राष्ट्रिय सभामा ल्याउनु पर्नेमा धेरैको एक मत छ । 

पटक पटक अवसर पाएकालाई राष्ट्रिय सभामा लैजानु भनेको युवाको राजनीतिमा लागेर देश सेवा गरौँला भन्ने भावनामाथि कुठाराघात नै हो । तसर्थ पनि यसपालि कांग्रेसले विगतको गल्ती नदोहोर्याइ हाम्रा हैन राम्रा र सक्षमलाई यसअघि अवसरबाट वञ्चित भएकालाई समेटेमा नेतृत्व आलोचनाबाट बच्न सक्ने पक्का छ । 

कांग्रेसले लिनुपर्ने सुल्टो बाटो भनेको पनि समयअनुसार चल्नु हो । राजनीतिक मनोविज्ञानका विज्ञहरु कांग्रेसमा ‘पोर माइन्डसेट’ ले जरो गाडेको आरोप लगाउँछन् । यसलाई चिर्नका लागि पनि ‘रिच माइन्डसेट’ लाई सक्रिय पार्नु समयको माग हो । 

कांग्रेसले सुल्टो बाटो लिन्छ कि उल्टै बाटोमा रमाउने हो त्यो कांग्रेसको बैठकबाट नै तोकिने उम्मेदवारबाट निर्क्यौल हुने विषय हो । 

कांग्रेसले आलोचनाबाट बच्न पनि अब त सुल्टो बाटो नै लिनुपर्नेछ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ