arrow

एमाले सचिवालय बैठकको निर्णय

राष्ट्रिय सभा निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने एमालेको निर्णय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
uml-sachibalaya-2080-07-22.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने भएको छ । शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटा सिटमै उम्मेदवारी दिने निर्णय गरेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरूको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरिएको पार्टीका महासचिव शङ्कर पोखरेलले जानकारी दिए । 

राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । त्यसैगरी बैठकले ६ जना नेताहरूलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत पनि गरेको छ । प्रदेश कमिटीको अध्यक्षबाट बाहिरिएका कोशी प्रदेशका ५ जना नेताहरू कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, बागमती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी र मधेस प्रदेशको राम अवतार यादवलाई एमालेले केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । 

त्यसैगरी लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय बैठकले गरेको पनि महासचिव पोखरेलले बताए ।

महासचिव पोखरेलले भने,‘आज हामी राष्ट्रियसभाको निर्वाचनको सिलसिलामा उम्मेदवारहरूको विषयमा छलफल गर्न बैठक बसेका थियौँ । २३ गते राष्ट्रिय सभाका लागि १९ वटा सिटका लागि मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ । हामीले सात वटै प्रदेशका तर्फबाट त्यो प्रदेशमा रिक्त रहेका क्लष्टरका लागि प्रत्येक क्लष्टरमा ३ जनाको नाम सिफारिस गर्न अनुरोध गरेका थियौँ । खासगरी आन्दोलनमा योगदान गरेका र सबै पक्षको विश्वास जित्न सक्ने व्यक्तिहरूलाई सिफारिस गर्न भनेर अनुरोध गरेका थियौँ । प्रदेशको तर्फबाट उहाँहरूले नाम सिफारिस गर्नुभएको छ । हामीले क्लष्टरवाईज रूपमा चाहिँ नामका बारेमा छलफल गरेका छौं । अब कतिपय क्लष्टरहरुको प्रमाणीकरण गर्नुपर्ने जस्ता विषयहरू चाहिँ स्पष्ट हुनुपर्ने भएको कारणले गर्दा हामी ती विषयमा आजको बैठकमा हामीले प्रारम्भिक छलफल गरेका छौं । र, केही नामहरूका सन्दर्भका बारेमा खासगरी क्लष्टर अन्तर्गत पर्ने, नपर्ने त्यो अन्तरगतका प्रमाणित हुने, नहुने भन्ने विषय स्पष्ट भएर त्यसलाई २३ गतेका दिन हामी १९ वटै ठाउँहरूमा उम्मेदवारी दर्ताको तयारी गरेका छौं । अर्कोतर्फ आज हामीले हाम्रा प्रदेश अधिवेशनहरू सम्पन्न गरेका छौं । र, प्रदेश अधिवेशनहरू सम्पन्न भएपछि कतिपय प्रदेशका अध्यक्षहरू जिम्मेवारीबाट बाहिरिनुभएको छ । खासगरी ५ वटा प्रदेशका अध्यक्षहरू चाहिँ जिम्मेवारीबाट बाहिरिनु भएको छ । उहाँहरूलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनयन गर्ने निर्णय गरेका छौं । त्यसमा कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपाने, बागमती प्रदेशको केशवराज पाण्डे, कर्णाली प्रदेशको विनोद शाह र सुदूरपश्चिम प्रदेशको दामोदर भण्डारी र मधेस प्रदेशको राम अवतार यादव रहनुभएको छ । त्यसै गरेर लामो समयदेखि पार्टी काममा रहनुभएका झापा जिल्लाका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय कमिटीको सदस्यमा मनोनयन गर्ने निर्णय भएको छ ।

त्यसैगरी एमालेले भारतीय विदेश मन्त्री एस जयशंकरको नेपालको भ्रमणको क्रममा भएका सम्झौताबारे पार्टीसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरेको छ ।

महासचिव पोखरेलले भने, भर्खरै भारतीय परराष्ट्र मन्त्री नेपाल भ्रमण गरेर फर्कनुभएको छ । दुई देशका बीचको ज्वाईन्ट कमिसनको बैठक भनेर बैठकको आयोजना गरिएको र त्यहाँ के-के विषयहरूमा छलफल भयो ? र, के-के विषयहरूमा सम्झौताहरू भए भन्ने कुरा चाहिँ सत्ता पक्षले प्रतिपक्षसँग परामर्श गर्नुपर्ने कुरा नगरेको कुराप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ । राष्ट्रियताको प्रश्नहरूमा सत्तापक्षले चाहिँ प्रतिपक्षलाई विश्वासमा लिएर मात्रै कामहरू गर्नुपर्नेमा त्यो मामिलामा चाहिँ हामीसँग कुनै परामर्श नगरिएको र के के विषयहरूमा सहमति, सम्झौता भए भन्ने कुरा पनि स्पष्ट नपारेको सन्दर्भमा हामीले सरकारका तर्फबाट भएका कमजोरीहरूको आलोचना गर्दै के के विषयहरूमा सहमति, सम्झौता भएका छन् । ती विषयहरूलाई स्पष्ट पार्न माग गर्ने कुरा गरेका छौं । र, अर्कोतर्फ जे कुरा बाहिर आएका छन् । वास्तवमा भन्ने हो भने नेपालको बजेटरी प्रणालीलाई कमजोर पार्ने हिसाबले कुनै काम हुनुहुँदैन । वैदेशिक सहायता नेपालको बजेटरी प्रणाली भित्रै हुनुपर्दछ भन्ने हाम्रो पार्टीको मान्यता रहेको कुरा म तपाईँहरूको बीचमा राख्न चाहन्छु ।

त्यसैगरी एमालेले आफ्नो पार्टीका जनप्रतिनिधिहरूलाई काम गर्ने वातावरण निर्माण गर्न पनि सरकारलाई सचेत गराएको छ ।

महासचिव पोखरेलले भने, सर्लाहीको बरहथहवामा हाम्रो पार्टीका केन्द्रीय सदस्य जो मेयर हुनुहुन्छ कल्पना कुमारी कटुवाल उहाँले एक प्रकारले भन्दाखेरी त्यहाँ नगर अस्पतालको क्षमता बिस्तारका सन्दर्भका बारेमा के गर्ने भन्ने विषयमा छलफल चलिरहेको बेला सत्तापक्षका कार्यकर्ताहरूले जे हुलदुंंगा गरीकन ढुंगामुडा गर्ने, तोडफोड गर्ने खालकोकाम गर्दा खेरी प्रहरीले बल प्रयोग गर्दा खेरी एक जना नागरिकको मृत्यु भएको छ । सत्तापक्ष आफैँ यस प्रकारका अराजक क्रियाकलापमा संलग्न हुने कुरा अत्यन्तै दुखद पक्ष हो । यस्ता कुराहरू सत्ता पक्षले नियन्त्रण गर्नु पर्दछ । आज सामाजिक अराजकता सृजना गर्ने कुरामा सत्तापक्षकै कार्यकर्ताहरूको योगदान र भूमिका देखिने गरेको छ । आज मुलुकको परिवर्तनलाई कमजोर पार्ने खालको गतिविधि र क्रियाकलापमा सत्तापक्षका अकर्मण्यता र उनीहरूको कार्यकर्ताहरूमा देखा परेको अनुशासनहीनता र अराजकताले त्यस प्रकारका गतिविधिहरू भइरहेका छन् । त्यो स्थितिलाई तत्काल नियन्त्रण गर्न, जनताको जीउधनको सुरक्षा गर्न र जनप्रतिनिधिले निर्बाध रूपमा काम गर्न पाउने खासगरी प्रतिपक्षसँग सम्बन्धित जनप्रतिनिधिहरूले निर्बाध ढङ्गले जनताको सेवा गर्न पाउने अवस्था बनाउनका लागि हामीले माग गरेका छौं । त्यो हिसाबले सर्लाही घटनाको सन्दर्भमा जे क्षति भएको छ । त्यसप्रति हामी दुःख व्यक्त गर्दछौँ । र, सरकारको अर्कमन्यता र जुन प्रकारको अराजक क्रियाकलाप छ । त्यसका कारणले एक जना युवाको ज्यान गएको छ । त्यसप्रति हामी हाम्रो पार्टीको तर्फबाट दुख व्यक्त गर्दछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ