काठमाडौं । सूर्तिजन्य पदार्थमा चेतावनीमूलक तस्वीर राख्नेमा नेपाल सबैभन्दा इमान्दार मुलुकमा सूचित भएको छ। क्यानेडियन क्यान्सर सोसाइटीले ‘सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश’ विषयक अन्तराष्ट्रिय प्रतिवेदन यस्तो तथ्य सार्वजनिक गरेको हो।
सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश राख्ने मुलुकको सुचीमा नेपाल पहिलो स्थानमा परसँगै नेपालले सुर्तीजन्य नियन्त्रणको क्षेत्रमा आफ्नो नाम, इज्जत र प्रतिष्ठा वढाएको जानकारहरु बताउँछन् । विश्व स्वास्थ्य संगठनले २०१५मा आवुधावीमा भएको विश्व सुर्ती सम्मेलनमा पनि नेपाललाई सम्मान गर्नुका साथै कानूनको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक सहयोग पनि प्रदान गरेको थियो । सो पुरस्कार र सम्मान तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीले लिएका थिए।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र तत्पश्चात आएका नियमावलीले व्यवस्था गरेअनुरुप नेपालले ९० प्रतिशत चेतावनीमुलक चिन्ह राख्ने व्यवस्था २०७१ जेठ १ गतेदेखि लागू गरेको थियो । सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल र प्याकेजिङको बाहिरी कुल भाग मध्ये ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रङ्गीन चित्र छाप्न तथा अङ्कीत गर्न निर्देशन दिइएको थियो।
तर व्यवहारमा हेर्ने हो भने अझै पनि सुर्तीजन्य पदार्थमा ९० प्रतिशत चेतावनीमुलक सन्देश छापिएको पाइँदैन । वैधानिक बाटो भएर विदेशबाट आयात हुने सुर्तीजन्य पदार्थमा ९० प्रतिशत राखिए पनि अवैधानिक वाटो भएर आउनेमा यस्तो व्यवस्था भएको पाइँदैन । नेपालमै उत्पादन हुने सुर्तीजन्य पदार्थमा पनि ७५ प्रतिशत मात्रै चेतावनीमुलक सन्देश भएको पाइन्छ । सरकारले लागू गर्न निर्देशन दिने र झारा टार्ने हैसियतले मात्र अनुगमन गर्ने गर्दा सुर्ती उद्योगहरुले अटेर गरिरहेको हाम्रो बुझाइ छ ।
क्यानेडियन क्यान्सर सोसाइटीले गरेको विश्व प्रतिवेदनले प्रशान्त महासागरमा रहेको भनौटा पनि पहिलो स्थानमा नै रहेको देखाएको छ । भनौटाले ९० प्रतिशत चेतावनीमुलक सन्देश राखेपनि पछाडिपट्टि २०१७ बाट मात्र कार्यान्वयनमा आउने भएकाले यो दोस्रो स्थानमा रहन आउँछ । प्रतिवेदनले ८५ प्रतिशत चेतावनीमुलक सन्देश राख्ने राष्ट्रहरु भारत र थाइल्यान्डलाई तेस्रो स्थानमा देखाएको छ ।
तर कानुनी व्यवधानका कारण भारतले ८५ प्रतिशत चेतावनीमुलक सन्देश राख्न सकेको छैन । यति मात्र होइन ठूलठूला सुर्ती कम्पनीले सुर्ती खेती गर्ने किसानको नाममा हाम्रो रोजीरोटी खोस्ने भयो भनी यस सुर्ती नियन्त्रणका लागि अन्तराष्ट्रिय अभिसन्धिको विरोधमा अभियान चलाएको छ । कार्यान्वयनमाअस्ट्रेलिया पाँचौ स्थानमा छ भने श्रीलंका र उरुग्वे छैठौं स्थानमा छ । ब्रुनाइ, क्यानाडा, लाओस र म्यान्मा संयुक्त रुपमा आठौं स्थानमा छन् । विश्वमा पहिलो पटक क्यानाडाले २००१ मा चेतावनीमुलक चित्रअंकित सन्देश राखेको थियो ।
क्यानेडियन क्यान्सर सोसाइटीले दुई वर्षलाई आधार बनाएर तयार गरेको प्रतिवेदनअनुसार १०० ओटा राष्ट्रमा चेतावनीमुलक सन्देश राख्न बाँकी रहेको छ । १०५ ओटा राष्ट्र जसले सन्देश राखि सकेको छ, ती मुलुकमा विश्वको कुल ५८ प्रतिशत जनसंख्या रहेको छ ।