arrow

हरुवालाई राष्ट्रिय सभामा उम्मेदवारी दिनु व्यवस्थामाथिकै गम्भीर प्रहार-रवि लामिछाने [भिडियो]

सबै जिम्मेवार निकायमा योग्यतमको आधारमा चयन गर्नुपर्ने प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
ravi-lamichhane-samiti-new.jpg

काठमाडौँ । हरुवालाई राष्ट्रिय सभामा उम्मेदवारी दिनु व्यवस्थामाथिकै गम्भीर प्रहार भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन् । 

प्रतिनिधि सभा निर्वाचनमा हारेकालाई राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाउने कुराले राजनीतिक व्यवस्थामाथि नै ठुलो ढुङ्गा प्रहार भएको जिकिर गर्दै  लामिछानेले त्यसप्रति आक्रोश व्यक्त गरेका हुन् । 

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले निर्वाचनमा हारेकाहरूलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने कुराले यो व्यवस्थामाथि गम्भीर प्रहार भएको बताए । 

राष्ट्रका लागि भन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रियसभामा छान्ने कुरा पनि यो राजनीतिक प्रणालीमाथिको गम्भीर प्रहार भएकाले यसलाई रोक्नुपर्ने सभापति लामिछानेको भनाई थियो । सभापति लामिछानेले राज्यका सबै जिम्मेवार निकायमा मेरिटबेस (योग्यतम) को आधारमा चयन गर्नुपर्ने प्रस्ताव गरे । संवैधानिक परिषद्को सदस्यहरूको नियुक्ति पनि मेरिट बेसको आधारमा गर्ने भनेर संविधान र कानुनमै व्यवस्था हुनुपर्ने उनको माग थियो ।

 सभापति लामिछाने राष्ट्र र जनताका लागि आवश्यक मान्छे छान्ने काम मेरिट बेसको आधारमा चयन गर्ने मान्यता विश्वव्यापी मान्यता भएको भन्दै सोहीअनुसार अघि नबढे मुलुकको प्रणाली र व्यवस्थामाथि भइरहेको हाईज्याकलाई रोक्न नसक्ने बताए ।

उनले भने, ‘ल आज चुनाव हारेका मान्छेहरू राष्ट्रिय सभामा ठाँटले यही कार्यकाल चुनाव हारेका मान्छेहरू उठिरहेका छन् । मैले उदाहरण दिएको यहाँहरूलाई । तर हामी अप्ठ्यारो नमान्नु होला माननीयज्यीहरु । तपाईँहरूले मुटुमाथि ढुङ्गा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ नि । त्यसै गरी तपाईँको मुटुमा अर्को ढुङ्गा बस्छ । फेरि अर्को ढुङ्गा राखेर तपाईँहरू हाँस्नुपर्ने अवस्था आउँछ । मलाई विश्वास छ-यहाँहरूको पुस्ताले लडेर हाम्रो पुस्ताले त्यो सौभाग्य प्राप्त गर्न सकेन व्यवस्था परिवर्तनका लागि । गोली थाप्ने, छाती थाप्न अगाडि बढ्न पाएन । मौका परे हामी पनि चुक्दैनौँ । त्यसका लागि हामी पनि गोली थाप्छौँ । तर त्यसरी गोली थापेर ल्याएको व्यवस्थामा यत्रो उपहास भइरहँदा खेरी व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदाखेरी यहाँहरूले गर्ने प्रतिवाद खोइ त ? त्यस कारण कानुनमा उस्तै परे संविधानमा व्यवस्था गरिनुपर्छ । मेरिट बेसमा मान्छे सेलेक्ट भयो भने उपस्थिति मात्रै होइन, कहिले बैठक राख्ने भनेर उपस्थित पनि हुन्छ । र एक दिन पनि रिक्त हुँदैन । यो सेलेक्सनको विधि भनेको विश्वव्यापी मान्यता हो । त्यो मेरिट वेसमा पनि आफ्ना मान्छेहरू हुन्छन् भने भने त्यस्तो नहुने कार्यविधि हामी बनाउन सक्दैनौँ ? यतिमा जनताले विश्वास गरेर जिताएका हामी माननीयहरूले यो देशमा योग्यतम मान्छे छान्न सक्ने कार्यविधि बनाउन सक्ने हाम्रो क्षमता छैन ? के तपाई हामी आफ्नै क्षमतामाथि प्रश्न गरिरहेका छौं ? संयन्त्रको कुरा होइन, कानुनमा २ पाना थपिएर फरक पर्दैन, संविधानमा २० वटा पाना थपिएर फरक पर्दैन । देश, देशको अवस्था, राजनीतिक परिस्थिति यी सबै कुरालाई मध्यनजर गर्दा हामीले व्यवस्थालाई थिलथिलो बनाएका छौं । व्यवस्थालाई हाईज्याक गर्ने अवस्था हामी पुगिसक्यौ भने पछि फेरि संवैधानिक निकायका यस्ता ठाउँहरूमा हामीले देख्यौँ नि एक पटक प्रमुख प्रतिपक्ष दलको नेता आइदिनु भएन । अर्को पटक सभामुख आइदिनु भएन । यही कुरा निरन्तर भइरहन्छ भनेर यो बैठक बसेको हो । यसले उनीहरूको नैतिकतामा प्रश्न गर्न मिल्दैन भनेको भए त यो लज्जास्पद विषयमा हामी बस्नै पर्ने थिएन नि । राष्ट्रको सबैभन्दा उच्च ओहोदामा बसेका मान्छेहरू आई दिएनन्, कसरी ल्याउने भन्ने मात्रै हो र ? अब त सल्लाह गरेर आफ्नो राजनीतिक लाभहानीका लागि सल्लाह गरेर सर्वसम्मत गर्दा पनि कस्तो मान्छेहरूमा सर्वसम्मत गरिएको छ हेरौँ न ? मैले नाम लिइन । त्यस्ता मान्छेहरूको नाम लिएर भनिरहँदाखेरी पूर्वाग्रहको अवस्था रहला । तर मुलुकको विभिन्न क्षेत्रमा देखिएको यो बेथितिको कारण के त ? मेरिट नभएर होइन र ? चाहे विश्वविद्यालयको कुरा गरौँ, चाहे संवैधानिक निकायको कुरा गरौँ । त्यस कारण देशलाई मेरिट बेसमा लिएर जाने कुरा अझ यस्तो जिम्मेवार पदहरूमा मेरिट बेसमा मान्छेहरू ल्याउने कुरामा हामीले एकमत गर्न सक्यौँ भने गणपूरकको समस्या पर्दैन । एक दिन पनि पद रिक्त हुँदैन । देशलाई चाहिने मान्छे हो भने सबै जना सहमत हुन्छन् । तर पार्टीलाई चाहिने मान्छे भयो भने तपाईँको पार्टीका लागि किन आइदिन्छ, आउँदैन । यहाँ सिष्टमनै हाईज्याक भएको छ । यसलाई बचाउने हो भने व्यवस्थामाथि चिन्ता गरेको हो । कसले आक्रमण गर्‍यो व्यवस्थामाथि ? संवैधानिक परिषद्को बैठकमा नआउनेले व्यवस्थामाथि आक्रमण गर्‍यो । देशलाई योगदान दिएको भन्दा आफ्नो पार्टीका लागि काम गर्न सक्ने मान्छे सिफारिस गर्ने कामले यो व्यवस्था माथि आक्रमण गर्‍यो । घाइते भएर आएको छ व्यवस्था । त्यो घाइते भएको व्यवस्था, जसलाई ढुङ्गा खाएर, गोली खाएर तपाईँहरू जस्ता साथीहरूले बचाएर ल्याउनुभएको थियो । त्यो लड्न लागेको व्यवस्थालाई फेरि ठुलो ढुङ्गा प्रहार भएर चुनाव हारेको मान्छेलाई यही कार्यकालमा फेरि तपाईँहरूले ल्याउनु भएको छ राष्ट्रिय सभामा । यो व्यवस्थालाई हाईज्याक हुनबाट बचाऔँ ।’

सभापति लामिछानेले विद्यमान व्यवस्था ल्याउनका लागि छातीमा गोली थापेकाहरूले यो व्यवस्थामाथि हाईज्याक हुन नदिन पनि अघि बढ्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ