arrow

तीन डीआईजीको दरबन्दी रिक्त, मेरिट बाहिर गएर मूल्यांकन नम्बर पठाउन गृहमन्त्रीको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
nepal-police-logo_1618051596.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरीमा तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी रिक्त भएको छ । केही दिनपछि डीआईजी सुरेन्द्र मैनालीको अवकाश भएपछि चार वटा दरबन्दी रिक्त हुनेछ । 

बैशाख ३ मा बढुवा समितिले उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआईजीमा बढुवा सिफारिस गरेसँगै दुई वटा र डीआईजी विकाशराज खनाल ५६ वर्षे उमेर हदका कारण अवकाशमा गएपछि तीन जना डीआईजीको दरबन्दी रिक्त भएको हो । 

अबको केही दिनमा अर्को एक सिट पनि रिक्त भएपछि ती सिटमा गृहमन्त्री रवि लामिछानेले मेरिटभन्दा बाहिर गएर बढुवा सिफारिस गर्न र कार्यसम्पादन मूल्यांकन नम्बर पठाउन आदेश दिइसकेका छन् । अहिले दुई डीआईजी एआईजीमा बढुवा भैसकेका छन् । 

डीआईजीको रिक्त दरबन्दीमा बढुवा हुन आईजीपीसँगै प्रहरीमा प्रवेश गरेका एसएसपीहरू प्रतिस्पर्धामा भएपछि उनीहरुमध्ये केहीलाई छाडेर पछिल्लो ब्याचीलाई बढुवाको सिफारिस गर्न आइजीपीलाई दबाब दिएका हुन् । 

बढुवा हुनुपर्ने सूचीमा भोलाबहादुर रावल, ध्रुवराज राउत, गणेश चन्द र कृष्णहरि शर्मा पोखरेल छन् । त्यसमध्ये पोखरेलसहित पछिल्लो व्याचका सिद्धिविक्रम शाह, दानबहादुर कार्की र मनोज केसीको बढुवा सिफारिस ल्याउन दबाब दिएको स्रोतको दाबी छ । आईजीपी बसन्त कुँवरले यो विषयमा सहमति जनाइसकेको पनि स्रोतले जनाएको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक रावल, राउत र चन्द २०५१ चैत ५ मा प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै प्रहरीमा प्रवेश गरेका हुन् ।  

राउत २०५१ चैत ५ गते हालका प्रहरी महानिरीक्षक कुँवरकै ब्याची हुन् । तर उनी एसपीबाटै पछि परेका थिए । २०६४ साउन १ गते डीएसपी भएका उनी अरूभन्दा एक वर्षपछि २०७३ पुस १३ मा मात्रै एसपीमा बढुवा भए । 

२०७८ मंसिर ६ गते एसएसपी भएका राउत डीआईजी बढुवाका प्रबल दाबेदार हुन् । ३० वर्षे सेवा अवधिका कारण उनी २०८१ चैत ५ गते अवकास हुनेछन् । 


तेस्रो नम्बरमा छन्, भोलाबहादुर रावल । उनले पनि २०५१ चैत ५ गते प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका हुन् । अहिलेका एसएसपीहरूलाई उनले डीएसपी बढुवामा पछि पारेका थिए । उनी २०६३ भदौ ८ गते नै डीएसपी भइसकेका थिए ।

बढुवा सूचीको १ नम्बरमा कृष्णहरि शर्मा पोखरेल छन् । उनी आईजीपी कुँवर भन्दा पछिल्लो तर एआइजी दीपक थापाका ब्याचका हुन् । 

प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार पोखरेल २०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेका थिए । पोखरेल २०७७ माघ ९ मा एसएसपी भएका हुन् । 

मेरिट लिस्टको पाँचौँ नम्बरमा सिद्धीविक्रम शाह, छैटौँमा सुशील सिंह राठौर र सातौँ नम्बरमा उमाप्रसाद चतुर्वेदी छन् । 

राष्ट्रिय अनुसन्धान विभागबाट आएका उनीहरू २०७९ साउन १ मा एसएसपीमा बढुवा भएका थिए । भोलाबहादुर रावल र ध्रुबराज राउत २०७८ मङ्सिर १२ मा एसएसपी भएका हुन् ।

आईजीपीकै ब्याचका एसएसपीहरू डीआईजी हुने प्रतिस्पर्धामा छन् । तर रिक्त भएका ४ सिटमा पछिल्लो ब्याचका अधिकृतहरूलाई बढुवा लामिछानेले नाम नै तोकेर निर्देशन दिएका छन् । 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘नेतृत्व विकाश गर्नुपर्छ’ भन्दै एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोज केसीलाई बढुवा गर्ने जनाएका हुन् । 

उनीहरु दुवै आफ्नो ब्याचमा अब्बल भएपछि अहिले नै हतार गरेर बढुवा भैहाल्नपर्ने अवस्था नभएको प्रहरी अधिकारीहरुले दाबी गरेका छन् । 

‘गृहमन्त्रीको आदेश आईजीपीले तुरुन्तै मान्ने भएकाले आफ्ना ब्याचीलाई छुटाउने तयारी छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । त्यसका लागि आउँदो १० गतेसम्म कुर्ने बताइएको छ  । 

१० गते सुरेन्द्र मैनालीले अनिवार्य अवकाश पाउँदै छन् । एसएसपीद्वय कार्की र केसी २०५४ चैत १८ मा निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । डा. केसीले उपत्यका अपराध अनुसन्धान कार्यालयमा बस्दा भुटानी शरणार्थी प्रकरणको फाइल खोलेका थिए ।

डा. केसी नेतृत्वको टिमले नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाउने मुख्य अभियुक्त सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरेर मुद्दा अघि बढाए ।

त्यसबेला काठमाडौँ प्रहरी प्रमुख रहेका कार्कीले मुद्दाको विस्तृत अनुसन्धान गरेर थप आरोपीलाई पक्राउ गर्ने कामको नेतृत्व गरेका हुन् । 

बढुवा सूचीमा माथिल्लो नम्बरमा भएका भन्दा करिब ३ वर्षपछि सेवा प्रवेश गरेकालाई बढुवा दिँदा ‘फौजी मनोबल कमजोर हुने’ भए पनि आईजीपीले त्यसलाई वास्ता गरेका छैनन् । 

कार्की र केसी दुवै जना २०७९ साउन १ मा एसएसपीमा बढुवा भएका थिए । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्की र केसीलाई अवधि नपुग्दै हटाएर काठमाडौँमा भूपेन्द्र खत्री र अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्रसिंह राठौरलाई पठाएका थिए । 

गृहमन्त्री लामिछानेले एसएसपी राठौर र खत्रीलाई पनि पूरा अवधि काम गर्न दिएनन् ।  

नेपाल प्रहरीका विभिन्न एकाई इन्चार्जहरू सामान्यतः एक वर्षमा मात्रै सरुवा गर्ने गरिएको भए पनि आईजीपी कुँवर विदेश भएका बेला उनीहरूलाई ८ महिनामै हटाइदिएका थिए । 

लामिछानेले काठमाडौँमा वसन्त रजौरे र अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराईलाई पठाएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ