arrow

सिधै टीका टाँस्दिने नीति

एमालेको जिल्ला अधिवेशनमा अलग प्यानल बनाउन केन्द्रले लगायो रोक

विगतमा प्यानल बनाउँदा एकले अर्कालाई हेर्ने दृष्टिकोण बदलिएको र बदलाको भावना बढेको तर्क

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले जिल्ला अधिवेशनको तयारीका लागि आन्तरिक सर्कुलर पठाएर नेतृत्वको लागि अलग–अलग प्यानल बनाउन रोक लगाएको छ । 

विगतमा प्यानल बनाउँदा एकले अर्कालाई हेर्ने दृष्टिकोण बदलिएको र बदलाको भावना बढेको भन्दै एमालेले अलग–अलग प्यालन बनाउन रोक लगाएको हो ।

साथै जिल्ला अधिवेशनबाट निर्माण हुने कमिटीमा एकतिहाई युवाको प्रतिनिधित्व गराउन पनि सर्कुलर गरेको छ । सर्कलरमा केन्द्रको निर्णयलाई सिर्जनात्मक रूपले कार्यान्वयन गर्न जिल्ला कमिटीलाई निर्देशनसमेत दिएको छ । 

प्रदेश अधिवेशन सकिएपछि जिल्लाले कार्यतालिका सार्वजनिक गरेर अधिवेशन शुरू गरेलगत्तै महासचिव शंकर पोखरेलले अलग्गै परिपत्र जारी गर्दै त्यस्तो निर्देशन दिएका हुन् ।

एमालेका सबैजसो जिल्ला कमिटीले माघदेखि आगामी जेठभित्र अधिवेशन गर्ने गरी तयारी शुरू गरेका छन् । १८ पुसमा दार्चुलाले अधिवेशन सम्पन्न गरेलगत्तै सबैजसो जिल्लाले अधिवेशन कार्यतालिका सार्वजनिक गरेर तयारी अगाडि बढाएका छन् ।

जिल्ला अधिवेशनबारे प्रदेश पदाधिकारीको राष्ट्रिय भेलामार्फत सुझाव लिएर महासचिव पोखरेलले परिपत्र जारी गरेका हुन् । ‘एकतिहाई युवा प्रतिनिधित्व सुनिश्चित गर्ने भन्ने निर्णयलाई सिर्जनात्मक रूपले कार्यान्वयन गर्ने । उदाहरणका लागि ४० वर्षमुनिका युवाको सहभागिता प्रदेश कमिटीमा न्यूनतम १० प्रतिशत, जिल्लामा न्यूनतम १५ प्रतिशत, पालिकामा न्यूनतम २० प्रतिशत र वडा तथा टोलमा कम्तीमा एकतिहाइ पुर्याउने,’ महासचिव पोखरेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।

त्यस्तै जिल्ला अधिवेशनमा नेतृत्वका लागि अलग–अलग प्यानल बनाउन पनि केन्द्रीय कार्यालयले रोक लगाएको छ । पदाधिकारी र सदस्यहरूले व्यक्तिगत रूपमा उम्मेदवारी दिएर व्यक्तिगत रूपमै प्रचारप्रसार गर्न परिपत्रमा निर्देशन गरिएको छ । स्थानीय तहको प्रमुख र उपप्रमुख, प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्वाचित सांसदहरूले जिल्ला नेतृत्वको कार्यकारी पदमा उम्मेदवारी दिन पाउने छैनन् । 

‘विधानमा भएको व्यवस्था बमोजिम जिल्ला कमिटीले निर्वाचित प्रतिनिधि संख्याको ५ प्रतिशतसम्म प्रतिनिधिहरु मनोनित गर्न सक्नेछन् । यस प्रावधानलाई उपयोग गर्दा पार्टी प्रवेश लगायतका सम्वोधन गर्नुपर्ने प्रतिनिधित्वमा छुटेका पक्षलाईसमेत ध्यान दिने’, सो परिपत्रमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ