arrow

राष्ट्रिय सभामा उपस्थिति

एमालेले राप्रपालाई धोका दिए पनि पहिलो दल बन्न सकेन, तेस्रोमा खस्यो

कांग्रेसको एक ठाउँको भोटक्रसले पनि माओवादी पहिलो दल

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनको मत परिणामपछि एमाले पहिलोबाट तेस्रो स्थानमा झरेको छ । बिहीबार सम्पन्न निर्वाचनको परिणामपछि फागुन २१ गतेबाट सरकारको नेतृत्व गरेको माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्न पुगेसँगै नेपाली कांग्रेस दोस्रो, एमाले तेस्रो र नेकपा एस चौथो दल बन्न पुगेको हो । 

फागुन २१ मा पदावधि सकिने राष्ट्रपतिबाट मनोनित बाहेक १९ सांसदका लागि भएको निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी जसपा रहेको सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भए भने कोशी प्रदेशमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी चम्पा कार्की एमाले उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित भएपछि एमालेले एक सिटमा जित हासिल गरेको छ । जसले गर्दा एमाले एससँग बराबरी हुनबाट जोगिएको हो । 

माओवादीबाट उम्मेदवार बनेका अन्य प्रदेशका पाँच उम्मेदवार निर्वाचित भएका छन् । एक सांसद गुमाए पनि राष्ट्रिय सभामा माओवादी पहिलो दलका रूपमा स्थापित भएको हो । त्यस्तै कांग्रेसका १०, नेकपा एसका २ र जसपाका एक जना निर्वाचित भएका छन् । 

राष्ट्रिय सभामा माओवादीका हाल उपाध्यक्षसहित १६ सांसद छन् । आगामी फागुन २१ मा ३ जना माओवादी सांसदको पदावधि सकिने भए पनि निर्वाचनबाट ५ जना निर्वाचित हुँदा राष्ट्रिय सभामा माओवादीका १८ सांसद पुग्छन् । 

२०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेससहितका दलसँग गठबन्धन गर्दा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जम्मा ३२ स्थानमा जितेर माओवादी तेस्रो भएको थियो । 

सोही निर्वाचनबाट प्रतिनिधि सभामा पहिलो दल बनेको कांग्रेस हाल राष्ट्रिय सभामा १० सांसदसहित तेस्रो स्थानमा थियो । फागुन २१ बाट कांग्रेसका ४ जनाको पदावधि सकिएर घर फर्किदा निर्वाचनबाट १० थपिँदा १६ जना पुगेसँगै अब दोस्रो स्थानमा पुग्नेछ । 

निर्वाचनमार्फत २ सिट जितेको एकीकृत समाजवादीको राष्ट्रिय सभामा उपस्थिति संख्या ८ नै कायम हुनेछ ।  राष्ट्रिय सभामा पाँचौँ दलको हैसियतमा रहेको जसपाका तीन सांसद छन् । १९ सिटको मत परिणामले राष्ट्रिय सभाको पहिलो दल एमालेलाई तेस्रो स्थानमा खुम्च्याइदिएको छ । 

कोशी प्रदेशमा महिलातर्फ अनपेक्षित जित हात पारेको एमाले आगामी फागुन २१ पछि १० जनामा सीमित हुनेछ । हाल राष्ट्रिय सभा अध्यक्षसहित एमालेका सांसदको संख्या १८ छ । 

आगामी फागुन २० गते पदमुक्त हुने सांसदमा १९ निर्वाचितमध्ये एक स्वतन्त्र छन् भने एक मनोनित छन् । 

राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था संविधानमा छ । जसअनुसार संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष सकिएर नयाँ सदस्य आइसकेका छन् । 

बाँकी एक तिहाइ सदस्यको छ वर्षको पदावधि पनि फागुनमा सकिन लागेको हो । सत्ता साझेदार दलहरुबीच भएको आन्तरिक गठबन्धनले निर्वाचनपछि माओवादी केन्द्र पहिलो दल बनेको हो  ।

कोशीमा एमालेले दियो राप्रपालाई धोका 
कोशीमा सत्ताधारी र सरकार बाहिरको गठबन्धनबीच अपेक्षाविपरीतको परिणाम आएको हो । दुवै गठबन्धनमा धोका भएको छ । सत्ताधारी गठबन्धनमा कांग्रेसले माओवादीलाई र प्रतिपक्ष गठबन्धनमा एमालेले राप्रपालाई धोका दिएको हो । 

सत्ता गठबन्धनमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित भइन् । त्यस्तै प्रतिपक्ष गठबन्धनमा एमालेका उम्मेदवार रुक्मिणी कोइराला विजयी हुँदा राप्रपाका उद्धव पौडेल पराजित भए । 

सिटौलाले ५ हजार २९२ मतभार ल्याउँदा कार्कीले ४ हजार ९९२ मतभार ल्याइन् । त्यस्तै कोइरालाले ५ हजार ८६ मतभार ल्याउँदा पौडेलले ४ हजार ५२६ मतभार मात्रै पाए । 

कोशीमा सत्ताधारी गठबन्धनको स्पष्ट बहुमत भएर पनि भोट क्रस भयो । एमालेको मतभार ४ हजार २४८, कांग्रेसको ३ हजार ६८४, माओवादीको १ हजार २७८, राप्रपाको ३९४, एसकोे ३४५, जसपाको १२९ मतभार थियो । सत्ता गठबन्धनको ५ हजार ४३६ मतभार थियो भने एमाले–राप्रपा गठबन्धनको ४ हजार ६४२ थियो । तर पौडेलले ४ हजार ५२६ मतभार मात्रै प्राप्त गरे । 

राप्रपाले यसलाई धोका भनेको छ । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एमालेले उम्मेदवारी दिने बेलादेखि नै ‘राजनीतिक बेइमानी’ गरेको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै माओवादीले कांग्रेसको एक समूहले अन्तर्घात गरेको टिप्पणी गरेको छ । त्यसो त कांग्रेसका सिटौलाले नै दुई जना प्रदेश सांसदको भोट पाएनन् । यसैले पनि यो अवस्था असहज हो । गठबन्धन टिकाइराख्ने हो भने यसको छानबिन भने हुनुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ