विमानस्थलमा कुटाकुट प्रकरणमा अधिकृतलाई विभागीय कारबाही र असईलाई निलम्बनको सिफारिस
कुटाकुट प्रकरणमा डीएसपी पोखरेल मातहत रहेका प्रहरीले कर्मचारीमाथि कुटपिट गरेकोले कमाण्ड सम्हाल्न नसकेको भन्दै लिखित सचेत गराउन सिफारिस
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
4.6k
Shares
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सुरक्षार्थ खटिएका डीएसपी रेवतीरमण पोखरेललाई कमाण्ड सम्हाल्न नसकेको आरोप लागेको छ ।
विमानस्थलमा कर्मचारी र प्रहरीबीच भएको कुटाकुट प्रकरणमा डीएसपी पोखरेल मातहत रहेका प्रहरीले कर्मचारीमाथि कुटपिट गरेकोले उनले कमाण्ड सम्हाल्न नसकेको भन्दै लिखित सचेत गराउन सिफारिस गरिएको छ ।
साथै अधिकृत छायाँलाल मोक्तानलाई अध्यागमन कार्यालयबाट हटाइ विभागीय कारबाही गर्न र कुटपिटमा संलग्न असई प्रकाश चौधरीलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।
विमानस्थलमा कर्मचारी र प्रहरीबीच कुटाकुट भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको समितिले प्रतिवेदन बुझाउँदै त्यस्तो सिफारिस गरेको हो ।
त्यसैगरी प्रहरी जवानद्वय रविरञ्जन गुप्ता र राजकुमार महतोलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।
गत शुक्रबार विमानस्थलस्थित अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबीच विवाद हुँदा कुटाकुट भएको थियो ।
सो घटनालाई लिएर माघ १२ गते मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।
गठित समितिले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनअनुसार कुटपिटमा संलग्न अन्य दुई प्रहरीलाई भने विभागीय कारबाहीको सिफारिस गरिएको छ ।
छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य थिए ।
उनीहरुले सो प्रतिवेदन बुधबार मन्त्रालयमा बुझाएका हुन् । कर्मचारी कुटपिटपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू प्रहरीलाई कारबाही माग गर्दै कालोपट्टी बाँधेर काम गरिरहेका थिए ।
कर्मचारीहरुले प्रहरीलाई कारबाही नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए । तर गृहमन्त्री नारायणकाजी श्रेष्ठले समितिको प्रतिवेदन आएपछि कानूनअनुसार कारबाही गर्ने बताएका थिए ।