arrow

कांग्रेस–माओवादी सम्बन्ध चिसिदै गर्दा एमाले च्याँखे दाउ थाप्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १८ बिहिबार
uml-sachibalaya-2080-07-22.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनवर्गीय संगठनलाई आन्दोलनको तयारी गर्न भने पनि आन्तरिक रुपमा भने गठबन्धन भत्काउन लागेका छन् । 

कोशी प्रदेशमा माओवादी केन्द्रका उम्मेदवार हारेपछि माओवादीले नेपाली कांग्रेसमाथि धोका दिएको आरोप लगाइरहेका बेला एमाले भने सत्ता गठबन्धन भत्काउने कोसिसमा लागेको छ । 

दुई दिनअघि बालुवाटारमा बसेको समीक्षा बैठकमा प्रचण्ड स्वयंले कांग्रेसबाट धोका भएको बताएका थिए । तर बैठकमा सहभागी कांग्रेसका नेताहरुले त्यसको प्रतिवाद गरे पनि माओवादी सन्तुष्ट देखिएको छैन । 

कांग्रेस माओवादी सम्बन्धमा चिसोपन बढ्न थालेका बेला एमालेले दुईमध्ये एक दललाई आफूतिर तान्ने र आफू सरकारमा जाने च्याँखे दाउ खेल्न थालेको छ । पछिल्लो समय कांग्रेसभित्र दुई धार छन् । 

संस्थापन पक्ष माओवादीसँगको गठबन्धन तोड्न नहुने पक्षमा छ । संस्थापन बाहिर रहेका कांग्रेस नेताहरु माओवादीको गतिविधिसँग सन्तुष्ट छैनन् । एमालेले कांग्रेसको दोस्रो धारलाई लक्षित गरिरहेको छ । 

उता माओवादीको पनि दोस्रो धारसँग सम्पर्कमै रहेको छ । वर्षमान पुन लगायतका नेताहरु नारायणकाजी श्रेष्ठ, सुदन किराती लगायतका मन्त्रीहरुसँग असन्तुष्ट छन् । 

पुन लगायतका नेताहरु एमालेसँगको सहकार्यलाई अघि बढाउने पक्षमा छन् । एमालेसँग माओवादीका दोस्रो धारका नेताहरु सम्पर्कमा रहेका छन् । 

‘एमाले यो गठबन्धनको पक्षमा छैन । यो सरकार जबसम्म रहन्छ, तबसम्म मुलुकले आर्थिक सफलता हासिल गर्न सक्दैन । राजनीतिक अराजकता झन् लम्बिएर जान्छ । त्यसैले यो गठबन्धन टुटाउने, फुटाउने हाम्रो घोषित उद्देश्य नै हो’, एमालेका नेताहरुले सार्वजनिक रुपमा व्यक्त गर्दै आएको यो धारणालाई मान्ने हो भने आन्दोलनभन्दा पहिला गठबन्धन फुटाउन लागिरहेका छन् । 

‘अहिले राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवार पराजित भएका बेला सिंगो माओवादी कांग्रेससँग चिँढिएको छ । पार्टीभित्र यो समूहको पल्ला भारी छ । यसको फाइदा एमालेले उठाउन चाहन्छ’, स्रोतले भन्यो ।

केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच सरकारविरुद्ध सडक आन्दोलन गर्ने बारेमा अनौपचारिक छलफल भएको थियो । 

यद्यपि आन्दोलनको निश्चित एजेण्डा नपाउँदा यो विषय अघि बढ्न सकेको थिएन । अहिले माओवादीले कांग्रेसमाथि आरोप लगाउने र विभिन्न नेताहरुले गठबन्धनको समीक्षा गर्नुपर्ने अभिव्यक्ति दिएका बेला एमालेले यसलाई गठबन्धन फुटाउने मौकाको रुपमा हेरिरहेको छ । 

अहिले आन्दोलनमा जाने निश्चित एजेण्डा नभएको भन्दै आन्दोलनमा जाँदा पार्टीनै क्षति हुने देखिएपछि एमालेले आफ्नो रणनीति परिवर्तन गरेको बताइएको छ ।

यतिबेला एमालेले समानान्तर रुपमा माओवादी र कांग्रेसका नेतासँग छलफल चलाइरहेको स्रोत बताउँछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम वर्तमान सत्ता गठबन्धन फुटाउने एमालेको घोषित नीति रहेको बताउँछन् । 

‘प्रमुख प्रतिपक्ष दल गठबन्धनको पक्षमा हुँदैन, एमाले यो गठबन्धनको पक्षमा छैन, सरकार जबसम्म रहन्छ, तबसम्म मुलुकले आर्थिक सफलता हासिल गर्न सक्दैन । राजनीतिक अराजकता झन् लम्बिएर जान्छ । त्यसैले यो गठबन्धन टुटाउने, फुटाउने हाम्रो घोषित उद्देश्य नै हो’, गौतमले भने ।

उनले फागुनबाट सरकारविरुद्ध आन्दोलनको ‘वार्मअप’ गर्न लागिएको जनाए । सरकारले सुशासन कायम गर्न नसेकेको, कर्मचारीलाई तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्था उत्पन्न भएको, अराजकता र अस्थिरताले मुलुक आक्रान्त बनेको आरोप लगाउँदै उनले सदन र सडकमार्फत सरकारको ध्यानाकर्षण गराउने जनाए ।

‘देश अप्ठेरो स्थितिमा छ । सबैतिरबाट देश जोगाउनुपर्ने अवस्था छ । यस्तै भइरहे हामीले मिसन ०८४ भनेर पर्खन नसक्ने स्थिति आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ०८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ ! उस्तै परे हामीले गठबन्धन भत्काउनुपर्छ तर लोभीपापीहरू नभत्किन सक्छन्’, ओलीले माघ ४ गतेको एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘यिनीहरू सबैको घाँटी, शरीर एकै ठाउँ जोडिएको छ । यी एकै भ्रष्टाचारी वंशका, कमिशनतन्त्रीय वंशका हुन्, निकम्मा गोत्रका, देशद्रोही जातका हुन् । त्यसैले हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता छ ।’ 

तर उनले कुन एजेण्डामा आन्दोलन गर्ने, आन्दोलन कहिलेसम्म हुन्छ भन्ने बारेमा केही बताएका थिएनन् । एमालेले आन्दोलनको एजेण्डा तयार पार्न सकेको छैन । तर उसले सरकारमा रहेका दलहरुको गतिविधिलाई भने नजिकबाट नियालिरहेको छ । ‘सरकारको गतिविधिलाई हेरेर हामीले आन्दोलनको स्वरुप तयार पार्ने हो’, प्रचार विभाग प्रमुख गौतमले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ