arrow

ओलीको निर्देशन विपरीत जिल्ला अधिवेशनमा गुटबन्दी, अहिले नै ८४ को चुनावको झल्को 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एमालेभित्र अहिले जिल्ला अधिवेशनको चटारो चलिरहेको छ । मुगुको जिल्ला अधिवेशन सकिएको छ भने धादिङमा लफडा चलिरहेको छ । दोलखामा दुई ओटा प्यानल निश्चित भएका छन् । अन्य जिल्लाहरुको पनि प्यानल घोषणा भएर सम्मेलन हुने क्रममा छन् । 

‘अहिलेको जिल्ला सम्मेलनले आगामी ८४ सालमा हुने निर्वाचनमा कसको पल्लाभारी हुने भन्ने निर्धारण भएकाले अहिलेबाटै जिल्लाको नेतृत्वमा आफ्नो आफ्नो प्यानल खडा गर्न लागि परेका छन्’, एमालेका एक नेताले भने । 

दोलखामा पार्वत गुरुङको तर्फबाट नरबहादुर श्रेष्ठ र आनन्द पोखरेलको तर्फबाट ईश्वरचन्द्र पोखरेल अध्यक्षको उम्मेदवार हुन् । २०७९ सालको निर्वाचनमा पोखरेल र गुरुङको लडाइँले बालकृष्ण शिवाकोटीले टिकट हात पारेका थिए । 

अहिले दुवै नेताहरु शिवाकोटीलाई बाहिर राखेर आफूहरुको नेतृत्वमा गुट बनाएर जिल्ला अधिवेशनमा होमिएका छन् । सोमबारबाट शुरु भएको दोलखा जिल्ला सम्मेलन बुधबार निर्वाचनको संभावना रहेको छ । सर्वसम्मत हुने कुनै संभावना नभएकाले बुधबार निर्वाचनको तयारी गरिएको दोलखाबाट एक नेताले बताए । 

धादिङ जिल्ला अधिवेशनको बन्दसत्र अझै अनिश्चित छ । बिहान ८ बजेदेखि बन्दसत्र अघि बढाउने निर्णय भएको नेताहरूले बताएका थिए । तर  धादिङ अधिवेशनको अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले सूचना जारी गर्दै आन्तरिक तयारीको केही काम बाँकी नै रहेको जनाउँदै पन्छिएका छन् ।

 त्यहाँ भूमि त्रिपाठी र डा.रामकुकमार अधिकारीको समूह रस्साकस्सीमा लागेको छ । एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले दुवैलाई राखेर सम्झाउने प्रयास गरेको भए पनि त्यहाँको अधिवेशन सुल्झन सकेको छैन । 

माघ २१ गते बिहान बन्दसत्रको समय शुरु हुनै लाग्दा विवादपछि प्रक्रिया स्थगित गरी नेताहरू काठमाडौँ आएका थिए । त्यसको भोलिपल्ट अर्थात् माघ २२ गते बिहान ८ बजेकासम्मका निम्ति अधिवेशन स्थगित गरिएको थियो ।

सोही दिन बालकोट पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीसित प्रदेश र जिल्ला कमिटीका नेताहरूले छलफल गरेका थिए । अध्यक्ष ओलीले विवाद समाधान गरी बन्दसत्र अघि बढाउन सरोकारवाला दुवै पक्षलाई निर्देशन दिए पनि अहिलेसम्म विवाद साम्य हुन सकेको छैन । 

उता बझाङमा माघ २० मै हुनुपर्ने अधिवेशन रोकिएको छ । बझाङमा पनि नेतृत्व विवादकै कारण रोकिएको हो । एमाले अध्यक्ष ओलीले देशभर सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिइरहेका बेला बझाङमा रोकिएको हो । 

महोत्तरीमा जिल्ला अधिवेशन चलिरहेको छ । त्यहाँ पनि दुई पक्षबीच नेतृत्वमा रस्साकस्सी चलिरहेको छ । यसैगरी मधेस प्रदेश कमिटी कार्यालय (पदाधिकारी)को बैठकले मधेस प्रदेशका आठ वटै जिल्ला कमिटीको जिल्ला परिषद् र जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरेका छन् । 

जसअसनुर माघ २५ र २६, पर्साको माघ २८ र २९ गते र बाराको फागुन १२ र १३ गते निर्धारण गरेको छ  । सर्लाही, धनुषा, सिरहा र सप्तरीको जिल्ला अधिवेशन चैतको पहिलो हप्ताभित्र गरिसक्ने जनाएको छ ।

ओलीले कुनै पनि जिल्लामा गुट खडा नगरी जिल्ला अधिवेशन गर्न निर्देशन दिएको भए पनि विवाद झन् चर्कँदो छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ