काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले विभिन्न देशमा सरकारद्वारा नियुक्त भएका राजदूतहरुसँग भेट गरेको छ । सोमबार र मंगलबार गरी महासंघका पदाधिकारीहरुले विभिन्न ३ देशका प्रतिनिधिहरुले भेट गरेका छन् ।
मंगलबार मात्रै महासंघका पदाधिकारीहरुले रसिया तथा इजिप्टका लागि नवनियुक्त नेपाली राजदूतद्वय ऋषिराम घिमिरे र झविन्द्र प्रसाद अर्यालसँग भेटवार्ता गरे । महासंघका अध्यक्ष पशुपति मुरारका सहितका पदाधिकारीहरु र उक्त देशकालागि चयन भएका राजदूतद्वयसँग महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भएको महासंघले जनाएको छ ।
भेटमा महासंघको टोलीले नेपाल र ती देशहरु बीचको आर्थिक, व्यवसायिक, लगानी सम्भाव्यताका विषयमा छलफल गर्न नवनियुक्त राजदूतहरुलाई आग्रह गरेको थियो । उक्त अवसरमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरु ज्ञानेन्द्रलाल प्रधान र प्रकाश गिरी लगायतको सहभागिता थियो ।
उक्त भेटवार्तामा महासंघको तर्फबाट आर्थिक कुटनीतिको माध्यमबाट नेपालमा उर्जा, पर्यटन, व्यवसायिक कृषि लगायतका क्षेत्रमा ती देशहरुबाट लगानी तथा प्रविधि आकर्षण गर्न नवनियुक्त राजदुतहरुबाट विशेष पहल गर्न महासंघले आग्रह गरेको थियो ।
त्यस्तैगरी, सोमबार महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा सहित पदाधिकारीहरु र चीनका लागि नवनियुक्त नेपाली राजदूत लीलामणि पौडेलबीच महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भएको थियो । नव नियुक्त राजदूतको कार्यभार सम्हाल्न चीन जानु अगाडि नेपालको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघसँग दुई देश बीचको व्यापार प्रवद्र्धन, लगानी विस्तार, प्रविधि हस्तान्तरण लगायतका विषयमा राजदूत पौडेल समक्ष छलफल भएको हो ।
उक्त भेटमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डीराज ढकाल, पूर्व अध्यक्ष एवं अनुशासन समितिका सभापति रविभक्त श्रेष्ठ, उपाध्यक्षहरु दिनेश श्रेष्ठ र शेखर गोल्छा, कार्यकारिणी समितिका सदस्यहरु चन्द्र प्रसाद ढकाल र निरक के।सी र महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको सो अवसरमा सहभागिता रहेको थियो ।