गुल्मी ।गुल्मी र बाग्लुङ्ग अन्तर्गत पौदीबासीहरुको न्वागी पर्वसँगै खार बजारमा लाग्ने न्वागी मेला सञ्चालन हुन एक दिन बाकी हुदा विभिन्न व्यापार र व्यवसाय गर्ने व्यापारीहरुको चहलपहल बढेको छ ।
बाग्लुङ्ग जिल्लाको ग्वालिचौर गाविसको खारबजारमा ४ दिनसम्म सञ्चालन हुने मेलामा सामान्य फलफूल पसल देखि लिएर ठूला होटल व्यवसाय र झुला पिङ्ग लगायत गरि झण्डै साना र ठूला व्यापारको ७० वटा स्टलहरु बुकिङ गरेको मेला समितिका कोषाध्यक्ष प्रदिप खरेलले जानकारी दिए ।पश्चिमाञ्चल क्षेत्रकै प्रसिद्ध मेलाको रुपमा परिचित न्वागी मेलालाई एउटा व्यापारिक केन्द्रको रुपमा पनि लिने गरिन्छ । मेलालाई मधयनजर गरि विभिन्न स्थानहरुबाट आफ्नो व्यापार लिएर खार बजारमा व्यापारीहरु आउने क्रम जारी रहेको छ ।
विशेष गरि मेलामा बढि मात्रमा फलफुल,होटल व्यवसाय,फेन्सी कपडा पसल तथा स्थानीय रुपमा उत्पादित कृषि उपज लगायतको कारोबार राम्रो हुने गर्दछ । यसपालीको मेलामा १ करोड भन्दा माथिको आर्थिक कारोबार हुने अनुमान गरिएको मेला समितिका कोषाध्यक्ष खरेलले जानकारी दिए ।