arrow

‘हुन्डीको कारोबार नगदमा हुन छाड्यो, बिटक्वाइनमार्फत् हुन्छ प्रतिबन्धित वस्तु आयात’

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
bitcoin.jpg
तस्बिर : फाइल

काठमाडौँ। पछिल्लो समय हुन्डीको कारोबार भर्चुअल मुद्रामार्फत हुन थालेको छ। राजश्व अनुसन्धान विभागले पछिल्लो समय प्राप्त गरेको उजुरीका सम्बन्धमा गरेको अनुसन्धानमा यस्तो अवस्था देखिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा महानिर्देशक ढुङ्गानाले पछिल्लो समय विदेशी विनिमय अपचलनसम्बन्धी उजुरीमा अधिकांश उजुरी भर्चुअल मुद्रासँग सम्बन्धित हुने गरेको जानकारी दिए।

पछिल्लो समय नेपालमा प्रतिबन्धित वस्तु तथा सेवाहरूको भुक्तानीका लागि बिटक्वाइन लगायत भर्चुअल मुद्राको प्रयोग हुने गरेको भन्दै उनले यी विषयहरूमा अनुसन्धान गर्न कानूनी तथा प्राविधिक रूपमा सक्षम हुनुपर्ने बताए।

उनले अहिलेको अवस्थामा अनलाइनबाट हुने विभिन्न कारोबारलाई करको दायरामा ल्याउनु प्रमुख चुनौती रहेको बताए। सुन, सुपारी, केराउ, मरिच लगायत वस्तुहरू नेपाललाई चाहिनेभन्दा बढी आयात हुने गरेको पाइएको भन्दै यस्ता वस्तुहरू नेपाललाई आवश्यक परिमाण कति हो निक्र्यौल हुनुपर्ने बताए।

विभागले चालु आर्थिक वर्षको माघ महिनासम्म ९७ करोड बिगो बराबरको ४५ वटा विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दामा ८३ जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।

त्यस्तै, सोही अवधिमा राजश्व अनुसन्धानतर्फ २५ वटा मुद्दामा १ अर्ब ६२ करोड बिगो माग दाबी गर्दै ४५ जना प्रतिवादीविरुद्ध मुद्दा चलाएको महानिर्देशक ढुङ्गानाले जानकारी दिए।

यो अवधिमा विभागले भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) अन्तर्गत अनुगमन गरी दर्ता नभएका ७८३ वटा ट्रक नियन्त्रणमा लिई ३ करोड ८ लाख ७० हजार रुपैयाँ बराबरको जरिवाना गरेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ