बाजुरा । बाजुराको उत्तरी भेग पाण्डुसैन गाविसमा रहेको नारीघाट ओलीसिम जलविद्युत गृहमा हिजो देखि तालाबन्दी गरिएको छ । विद्युत गृहमा तालाबन्दी गरेपछि विद्युत अवरोध भएको छ । विद्युत संचालक समितिका पदाधिकारीहरुले रकम असुल नभएको भन्दै तालाबन्दी गरेका हुन् ।
विद्युत गृहमा तालाबन्दी गर्नेमा पाण्डुसैन गाविस वडा नं ८का केशव बहादुर र सोही वडाका भीम बहादुर विष्ट रहेका छन् । शुक्रबार दिउसो करिव २ बजेदेखि विद्युत गृहमा दुवै जनाले ताला लगाएको उपभोक्ताको भनाइ छ । विद्युतको मेसिन मर्मतका लागि लिएको छ हजार ऋण तिर्न नसकेपछि तालाबन्दी गरिएको विष्टले बताएका छन् ।
उनले ऋण लिएर हाल सम्म साँवा र व्याज नदिएकाले विद्युत गृहमा तालाबन्दी गरिएको बताए । जलविद्युत सचिव लाल बहादर खड्का अनुसार ऋण लिएको भएपनि विद्युत संचालन समितिसंग कुनै छलफल नै नगरी विद्युत गृहमा तालाबनदी गरेको सुनाए।
विद्युत गृहमा तालाबन्दीसँगै पाण्डुसैनका उपभोक्ताले बत्ती बाल्न पाएका छैनन् । ३२ किलोवाट क्षमता भएको सो विद्युत बन्द हुदा पाण्डुसैनका ६ सय घरपरिवार अध्यारोमा बस्न बाध्य भएका छन्।