arrow

गृहमन्त्री लामिछाने नेताका पीएसओसँग निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
ravi-lamichhane-home-minist.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । करिब ६ महिना लामो रस्साकस्सीपछि नेपाल प्रहरीमा रिक्त एसपी पदमा भएको बढुवा सिफारिसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको कार्यसम्पादनमाथि प्रश्न उठेको छ । 

वरीयतामा पहिलो नम्बरमा रहेका डीएसपी नै छुटेर नेताका पीएसओहरु हावी भएपछि गृहमन्त्री लामिछानेको कार्यसम्पादनलाई लिएर गृह मन्त्रालय र प्रहरी प्रधान कार्यलयमा प्रश्न उठेको हो ।

लामिछाने गृहमन्त्री भएपछि भएको यो पहिलो बढुवामा विगतमा झैँ पहुँचवालाहरु नै हावी भएपछि लामिछानेमाथिसमेत प्रश्न उठेको हो ।

बुधबार बेलुका बढुवा समितिले ढकेन्द्र खतिवडा, अंगुर जीसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलीया, निरञ्जन दत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरेको बढुवा सिफारिस गरेको हो । बढुवामा १२ जना डीएसपी प्रतिस्पर्धामा थिए । 

प्रतिस्पर्धीमध्ये प्रदीप क्षेत्री, नारायण रंजितकार, अनन्त शर्मा र एकनाराण कोइराला छुटेका छन् । १२ औँ नम्बरमा रहेका विनोद घिमिरे बढुवा हुँदा पहिलो नम्बरमा रहेका प्रदीप क्षेत्री छुटेपछि बढुवाको निष्पक्षतामाथि प्रश्न उठेको छ भने लामिछानेको बोली र व्यवहारमा पनि फरक देखिन थालेको टिप्पणी हुन थालेको छ। 

लामिछानेले प्रहरी सरुवा बढुवामा कुनै मोलाहिजा नहुने बताए पनि व्यवहारमा त्यस्तो नदेखिएको चर्चा हुन थालेको छ । घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पूर्वपीएसओ हुन् । 

बढुवा महिनौँ रोकिनुको एउटा कारण उनी पनि थिए । घिमिरेको वढुवा निकाल्न लामिछाने निरीह भएका थिए । छैटौँ नम्बरका नारायण रंजितकार पनि छुटेका छन् । सन्तोष तामाङ र राजन लिम्बू एमाले अध्यक्ष केपी शर्मा ओलीका पूर्वपीएसओ हुन् ।

बढुवा सिफारिस भएका वरीयताअनुसार पहिलो नम्बरमा प्रदीप क्षेत्री, दोस्रोमा अंगुर जीसी, तेस्रोमा ढकेन्द्र खतिवडा थिए । खतिवडाको पहिलो र जीसीको दोस्रो नम्बरमा बढुवा सिफारिस भएको छ ।

त्यसपछिको वरीयतामा यादव ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे थिए ।

एसपीका दुई प्राविधिक दरबन्दी प्रशासनतर्फ स्थानान्तरण गरी बढुवा गर्ने प्रयास भए पनि त्यो सफल हुन नसकेपछि आठ पदमै बढुवा भएको हो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ