arrow

इलाम २ एमालेलाई फलामका च्यूरा चपाएसरह, कांग्रेस बलियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १७ शनिबार
upanirwachan-2081.jpeg

काठमाडौँ । आउँदो बैशाख १५ मा हुने इलाम क्षेत्र २ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि सत्ता गठबन्धन दलकै फरक फरक उम्मेदवार भएपछि एमालेलाई सकस परेको छ । विगतमा झिनो मतले जितेको एमालेलाई गठबन्धनमा रहेका दलहरुले उम्मेदवार उठाएपछि सकस परेको हो ।

नतिजा आफ्नो पक्षमा पार्न दलको विशेषता मात्र होइन उम्मेदवार पनि महत्वपूर्ण हुने भएपछि दलहरू उम्मेदवार छनोटमा निकै संवेदनशील देखिएका छन् । यसपल्ट नेपाली कांग्रेस चुनाव जित्नेगरी अघि बढेको छ । 

एमालेभित्रकै नेताहरु पहिचानको नाममा बाहिरिएका छन् । एमालेले यो क्षेत्रमा दिवंगत  नेता सुवासचन्द्र नेम्वाङकै कान्छा छोरा ३२ वर्षे सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । उनी अधिवक्ता हुन् । उनलाई पार्टीको केन्द्रीय कानून विभाग सदस्यमा मनोनित गरिएको छ ।  

भदौ २६ गते सुवासचन्द्रको निधन भएपछि बुबाले चुनाव जितेको क्षेत्रमा सुहाङ उम्मेदवार बन्ने चर्चा शुरु भइसकेको अवस्थामा पार्टीका कयौँ नेताहरुलाई छाडेर एमालेले उनलाई उम्मेदवार बनाएको थियो । सरकारमा सहभागी भएको रास्वपा र एकीकृत समाजवादीले आफ्नो उम्मेदवार बनाएर निर्वाचनमा होमिएका छन् ।

 एमालेको तर्फबाट जिल्लाबाट छ जनाको नाम सिफारिस भएकामा सुहाङ उम्मेदवार बनेपछि कतिपय नेता कार्यकर्ताले पचाउन सकिरहेका छैनन । कतिपयले बुबाकै क्षेत्रमा छोरालाई उम्मेदवारका रूपमा ल्याउनुलाई ‘वंशवाद’को संज्ञासमेत दिएका छन् ।

‘सुहाङका लागि पार्टी नै चुनौती बन्न सक्ने विश्लेषण गर्न थालिएको छ । नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले त्यस क्षेत्रमा आँखा लगाएको भए पनि एमालेले एक्लै उम्मेदवार घोषणा गरेपछि भने सत्ता गठबन्धनमा खटपट आएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३२ वर्षे मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । उम्मेदवार बन्न छ जनाले निवेदन दिएकामा पाँच जनाले फिर्ता लिएपछि मिलन उम्मेदवार बन्ने टुंगो भएको रास्वपाले जनाएको छ । 

डेढ दशकदेखि पत्रकारितामा क्रियाशील मिलन इलामकै माङ्सेबुङ गाउँपालिकाका बासिन्दा हुन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को महासचिव थिए । 

नेकपा (माओवादी) निकट पत्रकारको संस्था प्रेस सेन्टर नेपालमा रहेका लिम्बूले केही साताअघि आफू कुनै पार्टीमा नभई स्वतन्त्र रहेको घोषणा गरेपछि उनलाई कारबाही गरिएको छ ।

उनी आफूलाई यो निर्वाचन क्षेत्रको ‘माटोको उम्मेदवार’ दाबी गर्छन् । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका जिल्ला सचिवालय सदस्य जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । 

राई इलामकै माइजोगमाई गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् । उनी लामो समय एमालेमा क्रियाशील थिए । पार्टी विभाजनपछि मात्रै नेकपा एसमा लागेका हुन् । 

२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट पालिका अध्यक्ष विजयी बनेका राई ०७९ सालको निर्वाचनमा पनि तत्कालीन गठबन्धनबाट अध्यक्षकै उम्मेदवार थिए । तर एमाले उम्मेदवार कुशबहादुर थेबेसँगै पराजित भए । 

विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय राईले राष्ट्रिय युवा सङ्घमा पनि लामो समय काम गरिसकेका छन् । नेकपा एसकै भए पनि जिल्लामा उनको राम्रो छवि रहेको छ । 

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले ६८ वर्षे डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएका छन् । 

विभिन्न ४१ संस्थाले उनलाई साझा उम्मेदवार बनाएका हुन् । किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खासहितका संस्थाले उनलाई समर्थन गरेका छन् । 

थेगिम कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै आन्दोलनरत अभियानका अध्यक्ष पनि हुन् । २०३४ सालदेखि शिक्षण पेशामा रहेका थेगिम २०६३ देखि ०७२ सालसम्म स्रोत व्यक्ति थिए । एमालेमा आबद्ध उनले उम्मेदवार बन्ने भएपछि केही साताअघि एमाले छोडेर पहिचान पक्षमा भन्दै उम्मेदवार घोषणा गरेका हुन् । 

उनले अहिले यो क्षेत्रमा अरु स्वतन्त्र उम्मेदवार पनि नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने बताएको छ । 

गुरुङ ०५६–०५७ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ, मरब क्याम्पसको अध्यक्ष थिए ।  ०६४–०६५ सालमा राप्रपा युवक संगठन अध्यक्ष भएका उनी त्यसपछि पार्टी जिल्ला सदस्य हुँदै ०७८ सालयता केन्द्रीय शिक्षा विभाग सदस्य छन् । 

यो क्षेत्रमा पहिचानवादीकै दाबी गर्दै प्रेमदीप लिम्बूले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

उता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेदवार टुंगो लगाउन बाँकी छ । कांग्रेस जिल्ला समिति बैठकले भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राईको नाम प्रदेशमा सिफारिस गरे पनि अहिलेसम्म उम्मेदवारको निर्णय भएको छैन । 

०७९ को निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी भएका छन् । 

निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए । 

रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए । समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ८६ मत ल्याएका थिए । 

यसरी हेर्दा यस पटक एमालेको भन्दा कांग्रेसको पल्ला भारी देखिएको छ । जिल्लामा कांग्रेसकै नेताहरुले आफ्नो जीत सुनिश्चित रहेको बताउन थालेका छन् । 

लामो समयदेखि जनताको घर दैलोमा पुगेका कांग्रेस जनहरुले अहिले थोरै मेहनत गरे पुग्ने र यसलाई अवसरको रुपमा लिनुपर्ने बताइरहेका छन् । 



लोकप्रिय समाचार
नयाँ