लण्डन । इङल्याण्डको क्लव लेष्टर सिटी युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
मगलबार राति भएको समूहको पाँचौं चरणको खेलमा बेल्जियमको क्लव ब्रुजलाई २–१ ले हराउँदै लेस्टर नकआउट चरणमा पुगेको हो ।
लेस्टरलाई विजयी गराउन रियाद महारेज र ओकाजाकीले एक–एक गोल गरे ।
लेस्टर सिटी रहेको समूह जीको खेलमा डेनमार्कको एफसी कोपनहेगन र पोर्चुगलको एफसी पोर्टोले गोलरहित बराबरी खेलेका छन् ।
इङल्याण्डको एक क्लव लेस्टर अर्को चरणमा पुग्दा अर्को क्लव टोटनह्याम हट्सपर भने समूह चरणबाटै बाहिरिएको छ ।
मंगलबार राति भएको खेलमा फ्रान्सको मोनाकोसँग २–१ ले पराजित भएपछि टोटनह्याम एक खेल खेल्न बाँकी छँदै समूहबाट बाहिरिएको हो ।
टोटनह्याम भएको समूह ई को अर्को खेलमा रुसको सिएसकेए मस्को र जर्मनीको बायर लिभरकुजेनले १–१ गोलको बराबरी खेलेका छन् ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह एफ को खेलमा स्पेनको क्लव रियल मड्रिडले पोर्चुगलको स्पोर्टिङमाथि २–१ को जित निकालेको छ ।
रियललाई विजयी गराउन राफेल भार्नान र करिम बेन्जेमाले एक एक गोल गरे । स्पोर्टिङका जोआ परेराले रातो कार्ड खाएको खेलमा एड्रिन सिल्भाले सान्त्वना गोल गरे ।
सोही समूहको अर्को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले पोल्याण्डको लेजिया वार्सलाई ८–४ को फराकिलो अन्तरमा हराएको छ ।
यो खेलपछि समूहको शीर्षमा पुग्न अर्को खेलमा रियलले बोरुसियालाई हराउनै पर्ने हुन्छ ।
च्याम्पियन्स लिगको समूह एचको खेलमा ईटालीको युभेन्टसले स्पेनको सेभियालाई ३–१ ले तथा फ्रान्सको लियोले क्रोएसियाको डाइनामो जाग्रेबलाई १–० ले हरायो ।