arrow

वाणिज्य बैंकमा कर्पोरेट शाखा स्थापना

logo
भीष्मराज ओझा,
प्रकाशित २०७३ मंसिर ८ बुधबार
bank-banijya.jpeg
काठमाडौँ। मुलुकमै पहिलो पटक सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बुधबारबाट विधिवतरुपमा छुट्टै कर्पोरेट शाखा स्थापना गरेको छ । वाणिज्य बैंकले कर्जा कारोबार गर्ने ठूला संस्थागत ग्राहक, कूटनीतिक नियोग एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आदिलाई आकर्षित गरी बैंकको व्यवसाय प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई केन्द्रीय कार्यालय परिसर सिंहदरबारमा कर्पोरेट शाखा स्थापना गरेको हो । 
 
कर्पोरेट स्थापनापछि मुख्य शाखा कार्यालय तथा विभिन्न शाखा कार्यालयमा रहेका ठूला कर्जा ग्राहकले कर्पोरेट शाखामार्फत एकीकृत सेवा प्राप्त गर्ने बैंकले जनाएको छ । यसको कार्य क्षेत्रभित्र पर्ने तर अन्य शाखाबाट कारोबार गरिरहेका ग्राहकको खाता उनीहरुको सुविधाअनुरुप कर्पोरेट शाखामा स्थानान्तरण गरिने प्रबन्धक विनयरमण पौडेलले जानकारी दिए । 
 
सो शाखामा  एक करोड वा सोभन्दा माथिका व्यक्तिगत तथा  पाँच करोड वा सोभन्दा माथिका संस्थागत निक्षेपकर्ता, कूटनीतिक नियोगको कुनै पनि निक्षेप, अन्तर्राष्ट्रिय गैससको निक्षेप १० करोड तथा सोभन्दा माथिका कर्जाको ग्राहकलगायतले कारोबार गर्न सक्नेछन् । बैंकको केन्द्रीय कार्यालय परिसरमा आज शाखाको उद्घाटन र स्वर्ण जयन्ती स्मारकको अनावरण गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सरकारी स्वामित्वको यस बैंकले अन्य बैंक र वित्तीय संस्थालाई प्रेरणा दिने गरी काम गर्नुपर्ने बताए  । 
 
वाणिज्य बैंकले कर्जा र निक्षेपको सन्तुलन मिलाउँदै सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा सेवा विस्तारमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । “राष्ट्रिय वाणिज्य बैंकको ३० प्रतिशत सेयर जनतालाई दिने र यसमा एनआइडिसी बैंक गाभ्ने विषयलाई मैले गम्भीर रुपमा लिएको छु, यो काम छिट्टै अघि बढ्छ,” उपप्रधानमन्त्री महराले भन्नुभयो । बैंकको कर्मचारीको वृत्तिविकास गरी प्रतिष्पर्धी बनाउन तथा उत्पादकत्वमा वृद्धि ल्याउन उनको सुझाव थियो । 
 
विसं २०२२ माघ १० गते विशेष ऐनअन्तर्गत स्थापना भएको वाणिज्य बैंकको हाल ६७ जिल्लामा १७१ शाखा छन् । मुलुकभर दुई हजार ३५३ स्थायी कर्मचारी रहेको यस बैंकका २१ लाख ५४ हजार निक्षेपकर्जा तथा एक लाख ५३ हजार कर्जा ग्राहक रहेका छन् । 
 
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले विगतको तुलनामा वाणिज्य बैंकमा धेरै सुधार आएकोमा प्रशंसा गर्दै बैंकमा जम्मा भएको पुँजी बजारमा लगानी गर्न आग्रह गरे। उनले बैंकको दिगो भविष्यका लागि जनताको स्वामित्व बढाउनुपर्ने र त्यसका लागि कम्तीमा ३० प्रतिशत सेयर वितरण गर्न जोड दिए । पैसा बजारमा नगएसम्म विकास नहुने उनको भनाइ थियो । “ब्याज खाएर बस्नुभन्दा केही जोखिम लिएर भए पनि लगानी बढाउनुस्, मुलुकमा लगानीका अपार सम्भावना छन्,” नेपालले भने। 
 
कृषि, ऊर्जा तथा विपन्न वर्ग क्षेत्र लगानी प्राथमिकतामा रहेको र त्यसमा कुल कर्जाको १३ प्रतिशत लगानी गरेको बैंकको तथ्याङ्क छ । हालै मात्र नेपाल प्रहरीमा कार्यरत सबैको तलब खाता खोल्ने सम्झौता गरी ६६ हजारखाता खोलिएको बैंकले जनाएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा रवीन्द्रप्रसाद पाण्डेले बैंकले उपलब्ध साधन स्रोत र जनशक्तिलाई परिचालन गरी काम गरिहेको बताउँदै वाणिज्य बैंकले अन्य बैंकको तुलनामा राष्ट्रिय अर्थतन्त्रका सूचक वृद्धि हुने गरी काम गरिरहेको धारणा राखे। 
 
आव २०५९/६० मा २२ अर्ब ऋणात्मक रहेको बैंकको सेयरधनी कोष आव २०७०/७१ मा  एक अर्ब २७ करोडले धनात्मक हुँदै आव २०७२/७३ मा नौ अर्ब ३२ करोड पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । विसं २०७७ सम्ममा भारत र चीनमा शाखा विस्तार गर्ने, ग्राहक सङ्ख्या ३० लाख पुर्‍याउने र आव २०७४/७५ देखि सरकारलाई कम्तीमा १० प्रतिशत सेयरधनी लाभांश दिने गरी काम गरिरहेका उनको भनाइ थियो । उनले चालु आवभित्रमा मुलुकभित्र शाखा विस्तार सङ्ख्या १९५ र ग्राहक सङ्ख्या २५ लाख पुर्‍याउने तथा खुद मुनाफा ३ दशमलव ०७ अर्ब पुग्ने लक्ष्य रहेको बताए  । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ