arrow

सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छ- ओली [भिडियो]

अहिले यतिबेला ठ्याक्कै वामपन्थीहरू मिलेर मात्रै अगाडि बढ्ने अवस्था होइन,  प्रतिगमनका कुराहरू छोडौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
kp-oli-80-01-10.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सबलीकरणमा एकताबद्ध हुन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । सोमबार ललितपुरको गोदावरीथित सनराइज हलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सव समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । 

अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिने मिल्ने अवस्था रहेको पनि बताए । उनले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने बताए । अध्यक्ष ओलीले पूर्वराज्ञा ज्ञानेन्द्र शाहप्रति सङ्केत गर्दै प्रतिगमनको कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताए । उनले सरकार र वर्तमान सत्तारुढ दलहरूले पनि मुलुकबाट गरिबी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘अहिले हामी सहकार्यको माध्यमाबाट निकट हुँदै जान्छौँ । अहिले सहकार्यको माध्यमाबाट अगाडि बढ्छौ । र क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौँ । त्यस बिन्दुमा पुग्न सक्छांै । तर अहिले नै एकीकरण गरौँ, देशभरिका सबै मिलौँ भन्ने हो भने फुटेका किन थियौँ ? के भएर फुटेका थियौ ? यस्ता प्रश्नहरू उठ्छन् । अहिले सहमति, सहकार्य । सहकार्यका निम्ति सहमतिबाट जाऔँ । अर्को कुरा के हो भने अहिले यतिबेला ठ्याक्कै वामपन्थीहरू मिलेर मात्रै अगाडि बढ्ने अवस्था होइन । देशभक्त शक्तिहरू राष्ट्रिय शक्तिको रूपमा जसले काम गर्न मन्जुर गर्छ, त्यस्ता शक्तिहरू, देशको पक्षमा, सार्वभौमसत्ताको पक्षमा, देशको स्वाधीनताको पक्षमा, स्वतन्त्रताको पक्षमा भौगोलिक अखण्डताको पक्षमा, राष्ट्रिय हितहरूको पक्षमा र राष्ट्रिय स्वाभिमानको पक्षमा हुने मानिसहरू । भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने, भ्रष्टाचार नियन्त्रणको पक्षमा हुने व्यक्ति र शक्तिहरू । त्यसै गरेर विकासलाई अघि बढाउनु पर्छ । समाजमा शान्ति र सुव्यवस्था कायम गर्नुपर्छ, अनेक प्रकारका साम्प्रदायिक विद्वेष भड्काउने खालका, देशको विविधतालाई दुरुपयोग गर्ने खालका हाम्रा भाषा, जातजातिका संस्कृतिहरूको सम्मान गर्न छोडेर तिनका बीचमा अविश्वास बढाउने, त्यस्ता खालको क्रियाकलाप ग¥यो भने देश बिथोलिन्छ । देशमा अनेकता हुन्छ । देशमा एकता भएर राष्ट्र निर्माण गर्ने अभियानलाई यसले कुठाराघात गर्छ त्यसले । त्यसकारण त्यस्तो नगर्ने राष्ट्रिय एकताको पक्षमा रहेका यस्ता शक्तिहरू मिलेर अगाडि बढ्न सकिन्छ । दुई वटा पक्ष छ एकताका । अहिले सिंगै देश एक हुनुपर्दछ । सिंगै देश के कुरामा एक हुन सकिन्छ भने अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरौँ, सबल बनाऔँ । यसलाई माध्यम बनाएर सुशासन र विकासको बाटोमा अगाडि जाऔँ । साम्प्रदायिक विद्वेष होइन, सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकता कायम गरौँ । यसबाट अगाडि बढ्न सकिन्छ । लोकतन्त्रको रक्षा गरौँ, लोकतन्त्रको विकल्प खोज्ने होइन । त्यस मामिलामा सिंगै देश एक हुन सकिन्छ । हुनुपर्छ । अब एउटा कुनातिर बसेर केहीमान्छे देखिहाल्यो भने हौसिएर प्रतिगमनका कुरा गर्ने यस्ता खालका कुराहरू छोडौँ । साम्प्रदायिक विद्वेष भड्काउने यस्ता खालका कुराहरू छाडौँ । अहिले नयाँ कुरा के के न उठेजस्तो यस्तो गर्नुपर्ने आवश्यकता छैन । हिजो पनि मेची अञ्चल थियो, कोशी अञ्चल थियो । यस्तो थिए हिजो पनि नाम । सरकारमा अहिले नयाँ समीकरण बनेको छ । यो समीकरण यिनै प्रश्नहरूमा र त्यसमा पनि विकास, निर्माण गर्ने, शान्ति सुरक्षा कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, यी अभिभारा । देशमा विकासको अभियान चलाउने र जल्दा बल्दा जनताका समस्याहरू समाधान गर्ने, भूमिहीन सुकुम्वासीका समस्यादेखि लिएर, गरिबहरूका समस्याहरूदेखि लिएर अरू समस्या समाधान गर्ने देशको सबैभन्दा ठुलो चुनौती के हो यतिबेला भने र कलङ्कको विषय के हो भने २१ औँ शताब्दीमा पनि प्रगतिशील, लोकतान्त्रिक सरकारहरू बनिसकेपछि यस्तो उर्वर भएको जीवन्त र जीवनमय देशमा भोकमरी, गरिबिको समस्याले जनता पिल्सिनु र हामी त्यसलाई सम्बोधन गर्न असफल हुनु सबैभन्दा अशोभनीय नसुहाउने कुरा हो । त्यसकारण यसको अन्त्य गरिनुपर्छ । अहिले हामी सरकारमा हुनेहरूको अहिलेको प्रमुख कर्तव्य त्यो हो कि हामी गरिबिको अन्त्य गरौँ । गरिबी निवारण गरौँ हामीले ठोस कार्यक्रम त्यसका लागि बनाउनु पर्दछ । र, त्यो काम भ्रष्टाचार नियन्त्रण गरेर विकासका ठोस योजनाहरू ल्याएर नयाँ ढङ्गले प्रयोग गर्नसक्छौं । सरकारमा रहेका दलहरूले यी कुराहरूलाई ध्यान राखेर फराकिलोपनका साथ र साँच्चै हामीले केही गर्नु छ भन्ने कुरालाई ध्यानमा राखेर पोलिटिक्सलाई खाली प्रचारबाजीको विषय होइन, उपलब्ध प्राप्त गर्ने विषयको रूपमा अगाडि बढाउनु पर्छ । यस हिसाबले हामी अगाडि बढ्नु पर्छ भन्ने कुरा म राख्न चाहन्छु ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ