arrow

जीवन बीमा कम्पनी

जीवन बीमा कम्पनीलाई १४ अर्ब पूँजी थप्ने बाध्यता, सरकारी कम्पनी झन् दबाबमा

१३ वटामध्ये बाँकी नौ वटा कम्पनीले अझै पनि चुक्ता पूँजी पुर्याउन बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
beema-samiti.jpg

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी पुर्याउन अझै १४ अर्ब बराबरको पूँजी थप्नुपर्ने भएको छ । बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन मात्रै सो बराबरको पूँजी थप्नुपर्ने अवस्था देखिएको हो । 

बीमा कम्पनीहरुको तथ्यांकअनुसार अहिले अस्थित्वमा रहेका चार कम्पनीले मात्रै ५ अर्ब न्यूनतम चुक्ता पूँजी पुर्याएका छन् । त्यसरी पूँजी पुर्याउनेहरुमा नेपाल लाइफ, हिमालयन लाइफ, नेशनल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेका छन् । १३ वटामध्ये बाँकी ९ वटा कम्पनीले अझै पनि चुक्ता पूँजी पुर्याउन बाँकी नै छ ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई अघिल्लो २०७९ को चैत महिनाभित्रै चुक्ता पूँजी पुर्याउने समयसमीमा दिएको थियो । अहिले करिब १४ महिनापछिसम्म पनि चारवटा कम्पनीले मात्रै सो लक्ष्य पूरा गरेका हुन् । समितिले निर्देशन दिनुअघि नै एउटा कम्पनीको चुक्ता पूँजी तोकिएकोभन्दा माथि पुगिसकेको थियो । 

कुन कम्पनीले कति बढाउनुपर्छ चुक्ता पूँजी ? 

बीमा कम्पनीमध्ये अहिले सबैभन्दा धेरै पूँजी बढाउनुपर्ने अवस्था राष्ट्रिय जीवन बीमा कम्पनीको रहेको छ । हाल उक्त कम्पनीको चुक्ता पूँजी ९ करोड ९५ लाख रुपैयाँ मात्रै छ । तोकिएको ५ अर्ब पूँजी पुर्याउन सो कम्पनीलाई ४९ गुणा भन्दा बढी पूँजी थप गर्नुपर्छ । कम्पनीले ४ अअर्ब ९० करोड ५ लाख रुपैयाँ बराबरको चुक्ता पूँजी थप गर्नुपर्ने अवस्था छ । 

चुक्ता पूँजी पुर्याउन अहिले अर्को सबैभन्दा सकस अवस्था एलआईसी नेपाललाई छ । हाल २ अर्ब ६५ करोड पूँजी रहेको उक्त कम्पनीलाई अझै २ अर्ब ३५ करोड अर्थात् करिब ८८ प्रतिशत पूँजी थप्नै पर्छ । यो वर्ष उक्त कम्पनीले कुनै लाभांश दिन सकेन । 

अर्कोतिर कम्पनीको बहुसंख्यक शेयर होल्ड गर्ने भारतको एलआईसी इण्डियाले समेत नेपाल लाइफमा थप लगानी गर्न चाहेको छैन । त्यसैले यो कम्पनी नियामकीय कारबाहीको दायरामा पर्ने निश्चित देखिएको छ । 

यीबाहेक थप चारवटा कम्पनीको पूँजी १ अर्बभन्दा बढी रकमले कम छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ अर्ब ८० करोड, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको १ अर्ब ६० करोड, सिटिजन्स लाइफको १ अर्ब ६ करोड तथा आईएमई लाइफ इन्स्योरेन्सको १ अर्ब रुपैयाँ पूँजी थप्नुपर्ने भएको हो । 

बीमितहरुको पैसाले एयरलाइन्समा समेत लगानी गरेको उक्त कम्पनी आफ्नै पूँजी पुर्याउन भने असफल भएको छ । एशयन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनमार्फत् चुक्ता पूँजी पूरा गर्ने कार्ययोजना पठाएको बीमा प्राधिकरणले जनाएको छ । 

सन नेपाल लाइफ, सिटिजन्स र आईएमई लाइफ भने नयाँ कम्पनी हुन् । एक वर्ष अघि मात्रै प्रिमियम मूल्यमा आईपीओ जारी गरेका ती कम्पनीहरुले शेयर प्रिमियमलाई पूँजीकरण गर्ने र नाफा समेत जोडेर पूँजी पुर्याउने तयारी गरिरहेका छन् । बाँकीमध्ये सानिमा रिलायन्सको ८१ करोड र प्रभु महालक्ष्मीको ७० करोड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३६ करोड रुपैयाँ बराबरको चुक्ता पूँजी थप गर्नुपर्ने अवस्था रहेको देखिएको हो । 

अहिले सञ्चालित सबै बीमा कम्पनीहरुसँग ५६ अर्ब ६६ करोड रुपैयाँ बराबरको चुक्ता पूँजी रहेको बीमा समितिले जनाएको छ । अब थप हुन बाँकी रहेको पूँजी औसतमा २५ प्रतिशत हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ