arrow

एघार बीमा कम्पनीको बोनस दर सार्वजनिक, प्रतिफलमा उलटफेर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
non-life-insurance-always.jpg

काठमाडौँ । सञ्चालनमा रहेकामध्ये ११ जीवन बीमा कम्पनीले आफ्ना बीमितलाई दिने प्रतिफल (बोनस) दर सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणमा आधारित बीमांकीय मूल्यांकनपछि ती बीमा कम्पनीहरुले बोनस दर नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गराइ सार्वजनिक गरेका हुन् । 

यसरी बोनस दर सार्वजनिक गर्ने कम्पनीहरुमा सिटिजन्स लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, मेट लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स रहेका छन् । 

त्यस्तै सन नेपाल लाइफ, एलआईसी नेपाल, राष्ट्रिय जीवन बीमा कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । 

कुन कम्पनीको बोनस दर कति ? 

गत आर्थिक वर्षको लागि बोनस दर सार्वजनिक गर्ने कम्पनीहरुमध्ये अहिलेसम्म न्यूनतम २० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँ प्रतिहजार बोनस दर निर्धारण गरिएको छ ।

यस्तो रकम बीमा कम्पनी र बीमालेखको आधारमा तय गरिएको छ । यसरी बोनस निर्धारण गर्नेमध्ये सबैभन्दा कम र सबैभन्दा बढी दुवै सूर्यज्योति लाइफ इन्स्योरेन्सको रहेको छ । 

सिटिजन्स लाइफ इन्स्योरेन्सले यो वर्ष सबैभन्दा छिटो बोनस दर सार्वजनिक गर्यो । सो कम्पनीले प्रतिहजार न्यूनतम ४४ देखि अधिकता ७७ रुपैयाँसम्म बोनस दर तोकेको छ । 

त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्सले ३५ देखि ७५ रुपैयाँसम्म, मेटलाइफले मेटलाइफदेखि ४५ देखि ८० रुपैयाँसम्म, एशियन लाइफ इन्स्योरेन्सले ४५ देखि ७५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । 

त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्सले ३२ देखि ८० रुपैयाँसम्म, सन नेपाल लाइफले २५ देखि ७५ रुपैयाँसम्म तथा सूर्यज्योति लाइफ इन्स्योरेन्स २० देखि ९० रुपैयाँसम्म बोनस दर निर्धारण गरिएको छ । 

बीमा क्षेत्रमा सबैभन्दा धेरै बीमालेख बिक्री गरेका र पूराना बीमा कम्पनीहरुमध्ये एलआईसी नेपालले यसपटक ४० देखि ६१ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । यो भारतीय जीवन बीमा कम्पनी एलआईसी इण्डियाको संयुक्त पूँजी लगानी भएको कम्पनी हो । 

सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले यो गत वर्षको लागि ६५ रुपैयाँ प्रतिहजारको फ्ल्याट इन्स्योरेन्स प्रस्ताव गरिएको छ । 

त्यस्तै, सबैभन्दा बढी बीमाशुल्क संकलन गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्सले यो वर्ष ५६ देखि ८२ रुपैयाँसम्म बोनस दर तोकेको छ भने नेशनल लाइफले शुक्रबार मात्रै बोनस दर घोषणा गर्दै प्रतिहजार ६३ देखि ८५ रुपैयाँ बराबरको बोनस दर सार्वजनिक गरेको छ । 

के हो बोनस दर ? 

जीवन बीमा कम्पनीहरुले संकलन गर्ने बीमाशुल्कमा जोखिम बहनभन्दा बढी बचत प्रयोजन हुन्छ । त्यस्तो बचतमा बीमा कम्पनीहरुले आर्जन गरेको प्रतिफलको हिस्सा समेत बाँडफाँट गरिन्छ । 

बीमा प्राधिकरणको नियामकीय व्यवस्था अनुसार अहिले बीमा कम्पनीहरुले गर्ने कुल वार्षिक नाफाको ९० प्रतिशत बीमालेख होल्डरलाई बाँड्नुपर्छ ।

बाँकी १० प्रतिशतमध्ये १ प्रतिशत नाफा कर्मचारीलाई र ९ प्रतिशत कम्पनीका शेयरधनीलाई बाँडफाँट गरिन्छ । जति धेरै बोनसदर भयो त्यति नै बढी प्रतिफल प्राप्त हुन्छ । 

उदाहरणको लागि कुनै व्यक्तिले १५ वर्षको लागि ५ लाख रुपैयाँ बराबरको बीमा गरेर तोकिएको वार्षिक बीमाशुल्क नियमित रुपमा तिर्छ । उदाहरणको लागि उसको बीमालेखको बोनस दर हरेक वर्ष ६५ रुपैयाँ छ भने उसले १५ वर्षपछि बोनस बराबर प्रतिवर्ष ३२ हजार ५ सयको दरले ४ लाख ८७ हजार रुपैयाँ बोनस पाउँछ ।

त्यसबाहेक बीमालेख बराबर आफूले तिरेको रकम समेत फिर्ता पाइन्छ । बीमालेख बराबरको रकमलाई सावाँ मान्ने हो भने बोनस बराबरको रकम बीमितको लागि प्रतिफल हुन्छ । त्यसैले बीमितको लागि यो दरको निकै ठूलो महत्व हुन्छ । 

अधिकतम बोनस देखाउने दाँतमात्रै

बीमा कम्पनीहरुले अहिले थोरै वर्षको बीमालेखलाई कम बोनस दर र धेरै वर्षको बीमालेखको लागि धेरै बीमालेख तोक्दै आएका छन् । अत्यधिक धेरै वर्षको बीमालेखलाई राम्रो प्रतिफल तोकेर आफूलाई अब्बल देखाउने प्रतिस्पर्धा अहिले देखिएको छ । 

उदाहरणको लागि सूर्यज्योति लाइफ इन्स्योरेन्सले चौरासीपूजा अग्रिम भुक्तानी एकल बीमालेख भनेर अधिकतम यो दर प्रस्ताव गरेको छ । यसमध्ये पनि ७५ देखि ९० रुपैयाँ भनेर शर्त तोकेको छ । जबकि १५ वर्षे अग्रिम भुक्तानी जीवन बीमामा यसले २० रुपैयाँ मात्रै बोनस दर निर्धारण गरेको छ । 

बीमा कम्पनीहरुले सबैभन्दा रुचाइएका बीमालेखहरुमा सबैभन्दा कम बोनस दर दिने र नरुचाइएका, लामो अवधि, आजीवन बीमालेखहरुमा मात्रै राम्रो बोनस दर दिने गरेका छन् ।

न्यूनतम बीमालेखलाई आधार बनाउने हो भने अहिले सबैभन्दा बढी बोनस दर सरकारी स्वामित्वको राष्ट्रिय जीनबीमा कम्पनी ६५ रुपैयाँले दिँदै आएको देखिन्छ । 

त्यसपछि नेशनल लाइफले ६३ रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सले ५६ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । कुनै समय सबैभन्दा धेरै बोनस दर रहेको नेपाल लाइफ इन्स्योरेन्सको बोनस दर अहिले ह्वात्तै घटेको छ ।

‘फ्युचर बोनस’को व्यवस्था सँगै कम्पनीले बोनस दर ९ रुपैयाँसम्म घटाएको छ । यो अवस्थाले १५ वर्ष अवधिको ५ लाखको बीमा गर्नेको प्रतिफल ६७ हजार ५ सय रुपैयाँसम्म घट्ने देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ