arrow

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, कांग्रेसले के गर्ला ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ । आज संघीय संसद अन्तर्गत आज दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे शुरु हुनेछ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । 

सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्ने छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्माननीय राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्ने छन् । सभामुखले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्वत २०८१ जेठ १ गते मंगलवारका दिन गर्नुभएको सम्बोधनको लागि प्रतिनिधि सभाको बैठकको तर्फबाट राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०” पेश गर्ने छन् । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्ने छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । 

उद्योग मन्त्री भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्वत २०८१ साल जेठ १ गते राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने छन् । 

अध्यक्षले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभा समक्ष पेस गर्ने छन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० सभा समक्ष पेस गर्ने छिन् । विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन), २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

नेपाली कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको मागसहित संसद अवरोध गर्दै आइ रहेको छ । सरकारले छानबिन समिति गठनको थालनी नगरे आज पनि संसद बैठक प्रभावित हुने देखिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ