arrow

संसदीय छानबिन समिति अनिवार्य शर्त

संसदभित्रको अप्रिय स्थितिको जिम्मा सभामुखले लिनुपर्छ : महामन्त्री थापा

एमाले अध्यक्ष ओलीले कांग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता ठानेको भन्दै त्यस्तो नगर्न चेतावनी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
gagan-thapa-81-2-3.jpg

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएका छन् । 

प्रतिनिधि सभाको बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै सभामुखको कारण त्यस्तो स्थिति आएको बताएका हुन् । 

उनले सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर उनीहरुको निर्देशन अनुरुप बैठकमा कांग्रेसलाई पेलेर अगाडि बढेको बताए । 

उनले संसदमा जबर्जस्ती कार्यसूची प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गरेको बताए । 

नेता थापाले सभामुखले आफ्नो निष्पक्ष भुमिका निर्वाह गर्न चुकेको बताए । उनले भने, ‘आज सदनमा जे दृश्य देखियो । यो सन्दर्भमा सभामुखले सदनको सभामुखको जिम्मेवारीबाट जुन भुमिका निर्वाह गर्नुपर्ने हो । त्यो निर्वाह गर्न सर्वथा चुक्नुभएको भन्ने हाम्रो ठहर रहेको छ । सदनमा सत्तापक्ष, प्रतिपक्षको बिचमा कयौँ विषयहरुमा कुराकानी मिल्दैन । र सदनमा सभामुखलाई दलगत आवद्धताबाट मुक्त भएको र आफ्नो पुरानो दलगत रुझानहरुबाट पूर्ण रुपमा अलग्ग भएर तटस्थ भुमिका निर्वाह गर्ने एउटा अभिभावकको रुपमा अपेक्षा गरेका हुन्छौँ । हामीले आज सभामुखलाई बिहानैपनि हामीले गरिरहेका प्रयासहरुका बारेमा जानकारी गराएका थियौँ । अहिले पनि संसदीय छानविन समितिको सन्दर्भमा भइरहेको घटना विकासक्रमको बारेमा जानकारी गराएका थियौँ । आज सदनको बैठक प्रारम्भ भइसके पछाडी सदनको काम, कारबाही अगाडी बढ्न सक्दैन भनेर हामीले आफ्नो बिरोध प्रकट ग¥यौँ । आज प्रमुख प्रतिपक्षी दल त वेलमा पुगेको थियो नै । आज सदनभित्र अन्य सबै प्रतिपक्षी बेञ्चमा रहेका प्रायः सबै दलका माननीयहरु आज उठ्नुभएको अवस्था थियो । प्रमुख प्रतिपक्ष दल वेलमा पुगेको र संसदभित्रका अन्य सम्पूर्ण प्रतिपक्ष दलहरु उभिइरहेको अवस्थामा सभामुखले त्योभन्दा अगाडी सत्तापक्षको तीनवटा पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर आएर जे जति कुराहरु सदनभित्र गराउनका निम्ति निर्देशन दिइयो । हुबहु त्यसको पालना गरेको देखियो । काँग्रेसको अवरोधको बाबजुद पनि सदन अगाडी बढ्छ भन्ने हिजो एमालेको अध्यक्षले त्यसका बारेमा हुंकार गर्नुभएको र त्यसलाई पुरा गर्नका निम्ति सभामुखको पदको जिम्मेवारी पूरा भएको दृश्य आज हामीले सदनमा देख्यौँ । आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो यसको मुल जिम्मेवारी सभामुखले लिनुपर्छ । किनकी सदनमा जर्बजस्ति विषय कार्यसूचीमा प्रवेश गराएर एक प्रकारको अप्रिय, अनपेक्षित स्थितिको सिर्जना गर्ने कामको मुल जिम्मेवारी सभामुखले लिनुपर्छ । सभामुख एउटा पार्टीको नेताको आदेश पालकको रुपमा उहाँको भुमिका यसरी रहने कुरा हाम्रो निम्ति दुःखको विषय हो । सभामुखलाई हामी उहाँको भुमिकाप्रति जिम्मेवारीपूर्ण ढंगबाट निर्वाह गर्नका निम्ति सचेत गराउन चाहन्छौँ ।’

महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता ठानेको भन्दै कांग्रेसका सांसदहरुलाई त्यस्तो नगर्न चेतावनी दिए । 

उनले सभामुखले जबर्जस्ती बैठक अगाडि बढाएपछि कांग्रेसका सांसदहरुले विरोध गरेको भन्दै एमाले अध्यक्ष ओलीले काग्रेसका सांसदहरुलाई निर्देशन दिन खोजेको बताए । 

उनले भने, ‘आज सभामुखले गर्नुभएको व्यवहार र जबर्जस्ती सरकारी काम, कारबाही अगाडि बढाउन खोजिसके पछाडि हामीले आफ्नो ठाउँबाट सरकारको काम, कारबाही अगाडि बढाउन नदिने कुरा राख्ने हाम्रो कोसिस हो । तर एमालेका अध्यक्षज्यू एउटा कुरामा झुक्किनु भयो जस्तो लाग्यो । उहाँले कांग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता ठान्नुभयो जस्तो लाग्यो । एमालेका सांसदहरुलाई उहाँको कुरा हो, उहाँले हप्काउने, धम्क्याउने, तर्साउने, उठबस गराउने उहाँले त्यो अधिकार राख्नहुन्छ होला । उहाँहरुको सम्बन्ध पनि त्यस्तै होला । तर नेपाली कांग्रेस पार्टीका बारेमा त्यो नसोच्नु होला । काँग्रेसका सांसदका बारेमा पनि त्यो नसोच्नु होला । हामी तपाईका कार्यकर्ता होइनौँ । हामी तपाईलाई सम्मान गर्छौ । तपाईले हामीलाई अह्राउने होइन भन्ने कुरा जानकारी गराउन चाहन्छौँ । हामी सदनमा मुठभेडको स्थिति सिर्जना होस् भन्ने कहिले पनि चाहँदैनौँ ।’

महामन्त्री थापाले सरकारले जसको फाइल खोले पनि हुने बताए । उनले सरकारमा बसेका मन्त्रीहरुले यसको र उसको फाइल खोल्छौँ भनेर अभिव्यक्ति दिइरहेको भन्दै काम गरेर देखाउन आग्रह गरे । उनले सबै फाइल खोले पनि कांग्रेस त्यसको लागि तयार रहेको स्पष्ट पारे ।
उनले भने, साथीहरुले के कुरा बिर्सनुभयो कि भन्ने लाग्छ । हामी सरकारमा छौँ भन्नेकुरा बिर्सनुभयो कि भन्ने लाग्छ । कुन कुन फाइलहरु खोल्नुपर्ने हो । ति सबै फाइलहरु खोल्नुभए हुन्छ । खोलौँ । खोल्नैपर्छ । हामी त संसदमा प्रस्तावित भएको अख्तियारको र भ्रष्टाचार निवारण सम्बन्धी ऐनमा पाँच वर्ष पछाडि हदम्याद हुन्छ है, त्यो भन्दा पछाडि सार्वजनिक जिम्मेवारीमा बसेका मानिसहरुले गरेको भ्रष्टाचार विषयको सम्बन्धमा थप लाग्दैन भन्दैगर्दा भ्रष्टाचारको विषयमा हदम्याद लागु हुनु हुँदैन । सय वर्ष पछि भएपनि सार्वजनिक जिम्मेवारीमा बसेको छ भने त्यसको फाइल खोल्नुपर्छ भनिरहेका छौँ । अहिले सरकारमा बसेका साथीहरुले त धमाधम खोले हुन्छ । गिरिबन्धुको फाइल खोल्नु । सबै फाइल खोल्नु । कुनै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वप्रमुख हुनुहुन्थ्यो, अलिकति बाहिर कुनै विषय उठायो भने म तेरो नि फाइल खोल्दिन्छु, तेरो नि खोल्दिन्छु भनेको कुरा सम्झिरहेको छु । सरकारमा बस्नेले म यो खोलिदिन्छु । त्यो खोलिदिन्छु भन्ने होइन ।’

महामन्त्री थापाले संसदीय छानबिन समिति अनिवार्य शर्त भएको भन्दै समिति नबनेसम्म संसदमा सरकारी काम, कारबाही अगाडि बढ्न नदिने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ