arrow

संसद्‌को गतिरोधकाबीच दुवै सदनको बैठक बस्दै, यस्ता छन् सभाका कार्यसूची

अवरोधबीच संसद्‌बाट सरकारको नीति तथा कार्यक्रम पारित हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ । संसद्‌को गतिरोधकाबीच दुवै सदनको बैठक बस्दै छ । आज संसद्‌मा कांग्रेससहित विपक्षि दलको अवरोधबीच संसद्‌बाट सरकारको नीति तथा कार्यक्रम पारित हुदैछ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसको अवरोधबीच विश्वासको मत लिएका थिए । 

बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् । सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ । 

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०” पेश गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ जेठ १ गते मंगलवार संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आ.व. २०८१-०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, आ.व. २०८१-०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि माननीय सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने, प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । 

सभामुखले प्राप्त संशोधनहरू र सम्माननीय राष्ट्रपतिले २०८१ जेठ १ गते मंगलवार संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आ.व. २०८१-०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्माननीय राष्ट्रपतिबाट सम्वत २०८१ साल जेठ १ गते संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८१-८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अध्यक्षले आर्थिक वर्ष २०८१-८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्नेछन् । अध्यक्षले आर्थिक वर्ष २०८१-८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमलाई निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ