arrow

बेरुजु प्रचण्ड सरकार

सरकारको अनियमित खर्च बढ्दै, एकै वर्ष साढे ८२ अर्ब बेरुजु थपियो

गत वर्ष ९५ अर्ब ६० करोड रुपैयाँ बराबरको अनियमित खर्च, १३ अर्ब मात्रै फर्छयौट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
mahalekha-parichhek.jpg

काठमाडौँ । देशमा भएका आर्थिक कारोबारहरुमध्ये एकै वर्ष ९५ अर्ब ६० करोड रुपैयाँ बराबरका अनियमित खर्च भएका छन् । महालेखा परीक्षक कार्यालयले आर्थिक वर्ष २०७९ ८० मा सो बराबरको अनियमित खर्च (बेरुजु) कायम भएको जनाएको हो ।

यो वर्ष अघिल्ला वर्षहरुमा देखाइएको बेरुजुमध्ये १३ अर्ब ७ करोड रुपैयाँ मात्रै फछ्र्यौट भएको छ । बाँकी ८२ अर्ब ५३ करोड रुपैयाँ बराबरको बेरुजु यो वर्ष थपिएको छ । 

महालेखा परीक्षक कार्यालयले आर्थिक वर्ष २०७८ ७९ सम्म ५ खर्ब ८७ अर्ब ३३ करोड रुपैयाँ बराबरको बेरुजु कायम गरेको थियो । आव २०७९ ८० मा थपिएको समेत गरी अब बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड रुपैयाँ बराबर पुगेको छ । 

महालेखा परीक्षक कार्यालयले संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, संसद, अदालत, नियामक निकाय तथा सार्वजनिक संस्थानहरुको लेखापरीक्षणको काम गर्छ ।

गत वर्ष संघीय सरकार अन्तर्गत ३२७७, प्रदेश अन्तर्गत १२७०, स्थानीय तह अन्तर्गत ७४८, समिति तथा अन्य संस्था २१७ र अन्य संगठित संस्था ९३ गरी ५६०५ वटा सार्वजनिक निकायको ७८ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको लेखापरीक्षण गरेको जनाएको छ । त्यसमध्ये यो वर्ष ९५ अर्ब ६० करोड बराबरको खर्च अनियमित भएको भन्दै बेरुजुमा हालिएको हो । 

यसरी बेरुजु देखाइएको रकममध्ये २३ अर्ब ४० करोड रुपैयाँ असुल गर्नुपर्ने खालको देखिएको छ । त्यस्तै, ६५ अर्ब ३ करोड रुपैयाँ बराबरको फछ्यौट गर्नुपर्ने, ७ अर्ब १६ करोड रुपैयाँ बराबर म्याद नाघेर फछ्र्यौट नभएको पेश्की रहेको उल्लेख गरिएको छ ।

कुन निकायको कस्तो अवस्था ?

यो वर्ष संघीय सरकार अन्तर्गत ४६ अर्ब ५३ करोड रुपैयाँ बराबरको बेरुजु थप भएको छ । यो कुल थप बेरुजु रकमको ५० प्रतिशत भन्दा धेरै हो । संघीय सरकार अन्तर्गतका निकायमा यो वर्ष २४ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको लेखारीक्षण भएको थियो । कुल लेखापरीक्षणको आधारमा यो बेरुजु झण्डै १.८९ प्रतिशत हो । 

त्यस्तै प्रदेश सरकार अन्तर्गत ३ खर्ब २३ अर्ब रुपैयाँ बराबरको लेखापरीक्षण हुँदा ६ अर्ब ५६ करोड रुपैयाँ बराबरको बेरुजु देखिएको छ । यो २.०३ प्रतिशत हो । स्थानीय तह अन्तर्गत ११ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको लेखापरीक्षण हुँदा ३१ अर्ब १ करोड रुपैयाँ बराबरको बेरुजु देखिएको छ । यो झण्डै २.७२ प्रतिशत हो । यो हिसावले आर्थिक अनुशासनको मामिलामा स्थानीय तह सबैभन्दा कमजोर देखिएका छन् । 

यो वर्ष संघीय सरकार अन्तर्गतको लेखापरीक्षणमध्ये अर्थ मन्त्रालयको मात्रै १७ खर्ब २२ अर्ब रुपैयाँ बराबरको लेखापरीक्षण भएको छ । त्यसमध्ये २५ अर्ब ४७ करोड रुपैयाँ बेरुजु देखिएको छ । त्यसमध्ये ३ अर्ब ५५ करोड असुल गर्नुपर्ने खालका बेरुजु छन् ।

त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयतर्फ १ खर्ब ३२ अर्बको लेखापरीक्षण हुँदा १२ अर्ब ९ करोड रुपैयाँ बराबरको बेरुजु देखिएको हो । यो ९.१५ प्रतिशत बराबर हो । त्यसमध्ये ६ अर्ब ९० करोड रुपैयाँ बराबरको रकम त असुल उपर नै गर्नुपर्ने खालको देखिएको छ । 

सञ्चार मन्त्रालय अन्तर्गत १५ अर्ब ७१ करोड रुपैयाँको लेखापरीक्षणमध्ये ३ अर्ब १२ करोड रुपैयाँ बराबरको बेरुजु देखिएको छ । यो १९.८८ प्रतिशत बराबर हो । सबै सरकारको खर्चमध्ये यो वर्ष सञ्चार मन्त्रालयको बेरुजु सबैभन्दा धेरै प्रतिशत देखिएको छ । संघीय सरकार अन्तर्गत कुल ४६ अर्बको बेरुजुमध्ये यी तीन निकायको मात्रै ४० अर्ब भन्दा धेरै बेरुजु देखिएको छ । 

त्यसबाहेक अरु धेरै बेरुजु देखिएका निकायहरुमा उर्जा मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, भूमि व्यवस्था मन्त्रालयलगायत छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ