arrow

सुशासनमा तगारो

सहकारी ठगी प्रकरणमा सरकार झुक्यो, ओलीको जोड असफल बनाउने

रविले राजीनामा दिन खोज्दा पनि शक्तिमा रहिरहन ओलीले रोके, कांग्रेस गिरीबन्धु टि–स्टेटको नीतिगत भ्रष्टाचारको विषय पनि उठाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
prachanda-oli-ravi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सदन र सडक दुवै स्थानमा आवाज बुलन्द हुँदै गएपछि सरकार अन्ततः झुकेको छ । 

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धनको ठूलो हिस्सेदार एमाले विपक्षी दलको मागसँग झुकेका हुन् । 

सहकारी ठगीबारे सरकार र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच भएको सहमतिले आज औपचारिकता पाउने भएको छ ।

सोमबार साँझ दलहरुको बैठकले ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति गरेको थियो । 

समितिमा पाँच दलका प्रतिनिधि रहने समझदारी सोमबार नै भएको छ । जसमा एमाले र कांग्रेसबाट दुई–दुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एक–एक जना रहने सहमति भएको छ । 

समितिले सूर्यदर्शन, सुप्रीमलगायत सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको पनि छानबिन गर्नेछ । जसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नरहने सहमति भएको हो । समितिलाई प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ ।

संसदीय छानबिन समिति बनेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पदमा बसिरहन कति उपयुक्त हुन्छ भन्ने प्रश्न उठेको छ । यसका पछाडि दुई वटा कारण रहेका छन् । 

विगतमा उनीआवद्ध रहेको कम्पनीले उनकै नाममा लिएको पैसा अपचलन भएको छ । 

आर्थिक रुपमा हिनामिना भएपछि लाखौँ पीडितहरु सडकमा आएका छन् । पीडितहरुले औषधि उपचार गर्ने खर्च पाएका छैनन् । 

करिब एक अर्ब रुपैयाँ हालका गृहमन्त्री रहेका लामिछानेको सञ्चालक हुँदा सहकारीको नियम विपरीत लगानी गरेको रकम डुबेको थियो । 

सो विषयमा नैतिक जिम्मेवारी लिने हो भने उनले राजीनामा दिएर छानबिन समितिलाई सहयोग गर्नुपर्ने हुन्छ । तर विपक्षीलाई फेरि पनि पेलेर जाने भन्ने मनस्थिति राख्ने हो भने गृह मन्त्रालय सम्हालेर प्रतिशोधमा उत्रने सम्भावना कायमै छ । 

जानकारहरुका अनुसार पहिलो भन्दा दोस्रो सम्भावना बढी रहेको छ । खासगरी सहकारी प्रकरणमा लामिछाने निकै तनावमा परेका थिए ।

जानकार स्रोतका अनुसार जेठ ४ गते लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवालाई होटल मेरियटमा भेटेर बालकोट पुगेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनले राजीनामा दिने सुनाएका थिए । 

सहकारी प्रकरण बढेर गयो, संसद पनि अवरोध भयो, अहिलेलाई राजीनामा दिएर सहजीकरण गरिदिन्छु पछि जे हुन्छ त्यही गर्ने बताएका थिए । तर ओलीले संसदमा बोल्ने वातावरण हुन लागेको र त्यसका लागि राजीनामा दिनु नपर्ने भन्दै तत्काल राजीनामा नदिन सुझाएका थिए । 

‘ओलीकै सल्लाहमा राजीनामा रोकिएको थियो, आइतबारको सम्बोधनपछि लामिछानेले राजीनामा दिने मनस्थिति बनाएका थिए’, रास्वपाका एक नेताले भने । 

ती नेताका अनुसार रास्वपालाई अहिले एमाले अध्यक्ष ओलीले एक सय प्रतिशत साथ दिने बताएपछि लामिछानेको आत्मबल बढ्दै गएको छ । 

‘संसद खुलाउनका लागि सभापतिज्यूले राजीनामा दिन्छु भन्दा बालकोटले रोक्यो । अहिले मन्त्रालय पनि फेर्नुपर्दैन, राजीनामा दिने कुनै आधार र कारण छैन भनेको हो त्यही भएर अहिलेको अवस्थामा गृहमन्त्रालयमा समय दिएरै काम गर्न लाग्नु भएको छ’, रास्वपाका ती नेताले भने ।

अहिलेको सरकारमा एमालेको प्रतिनिधित्व भए पनि महत्वपूर्ण मन्त्रालय लिएको छैन । गृह, अर्थ, परराष्ट्र, ऊर्जा जस्ता मन्त्रालय एमालेले लिएको छैन । तर ती सबै मन्त्रालय एमालेकै जस्ता छन् । 

अर्थमा वर्षमान पुनले केपी ओलीको भनाइलाई काट्ने कुनै आधार छैन भने परराष्ट्रमा एमालेकै कर्मचारीहरुको बाहुल्यता रहेकाले हरेक निर्णय एमालेकै नीति निर्देशनमा हुने गरेका छन् । 

गृह मन्त्रालयमा पनि एमालेकै हैकम बढी चल्ने गरेको छ । प्रहरी सरुवा, बढुवा र सीडीओे सरुवामा बढी एमाले नै हावी भएको छ । 

लामिछाने वा रास्वापा बाहेक अन्य कुनै दलले गृह मन्त्रालय लिएको खण्डमा एमालेको हालीमुहाली चल्न सक्दैन । ‘अहिलेको सरकार नै एमाले अध्यक्ष ओलीको चाहनामा चलेको छ’, माओवादीका एक पदाधिकारीले भने ।

अहिले देखिएको पनि त्यस्तै छ । संसदीय समिति बनाउने विपक्षीको मागमा प्रधानमन्त्री लचिलो बन्दा पनि एमाले अध्यक्ष कडा रुपमा प्रस्तुत हुने गरेका थिए । 

रास्वपाको सहकारी ठगी प्रकरणमा उठेको सवालमा रास्वपाभन्दा अघि ओलीले जवाफ दिने गरेका थिए । 

संसदीय समितिको टिओआर बनाउनु पर्यो लामिछानेलाई जोगाउन ओलीनै अग्रसर हुने गरेका थिए । 

सत्ताको नेतृत्व माओवादीले गरे पनि एमालेको निर्णय र निर्देशनवेगर चल्न नसक्ने अवस्थामा पुग्दा प्रधानमन्त्रीभन्दा माथि एमाले अध्यक्ष ओली हुन् कि भन्ने आभास हुन थालेको छ ।

‘प्रधानमन्त्रीभन्दा माथि सुपर प्रधानमन्त्री केपी ओली हुन्, उनको निर्देशन बिना महत्वपूर्ण निर्णय र काम अघि बढ्न सक्दैनन्’, सरकारमा रहेका एक मन्त्रीले भने । 

लामो समयसम्म प्रतिपक्षका मागप्रति कुनै पनि हालतमा एमाले लचिलो बन्न नसकेपछि सरकारको नेतृत्व एमालेले गरिरहेको छ कि माओवादीले भन्ने द्विविधा उत्पन्न भएको थियो । 

अहिले पनि प्रमुख प्रतिपक्षीलाई जसरी पनि पेलेर लैजाने नीति एमालेको छ । त्यसका लागि एमालेले प्रचण्डलाई पूरै कार्यकाल प्रधानमन्त्रीको प्रस्ताव गरेर आफूप्रति थप लचिलो बनाएको छ । 

कांग्रेसले मुलुकभरका दर्जनभन्दा बढी ठूला सहकारी संस्थाहरूले मात्रै सर्वसाधारण बचतकर्ताको २ खर्ब रुपैयाँ भन्दा बढी अपचलन गरेको भन्दै उनीहरूको बचत फिर्ता र सुरक्षाको सुनिश्चिततामा जोड दिँदै चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरिसकेको छ । 

पछिल्ला दिनमा एमाले र पार्टी अध्यक्ष ओलीप्रति कांग्रेसले गिरीबन्धु टि–स्टेटसँग जोडेर विभिन्न प्रतिक्रिया दिँदै आएको विषयमा एमाले र कांग्रेस आमुन्ने सामुन्ने हुने अवस्था छ । 

कांग्रेसका शीर्ष नेताहरुले नै झापाको गिरीबन्धु टि–स्टेट सम्बन्धी निर्णय सबै एमाले र तत्कालीन राप्रपाका अध्यक्ष सूर्यबहादुर थापाका पालामा हुँदा पनि दोष कांग्रेसलाई नै थोपर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

यसको प्रतिशोध साँध्न पनि एमाले अध्यक्ष ओलीले लामिछानेलाई तत्कालै गृहमन्त्रीबाट हटाउन नचाहेको पनि स्रोतले जनाएको छ ।  कांग्रेसले गिरीबन्धु टिस्टेट जग्गा प्रकरणलाई सदनमा जोडका साथ उठाउने तयारी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ