arrow

बालेन र एमालेका वडाध्यक्षबीच चर्काचर्की

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
walendra-sah-balen-81-2-18.jpg

काठमाडौँ । न्यूरोड क्षेत्रमा सडक साँघुरो बनाएर फुटपाथ विस्तार गर्न लागिएको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) र वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महर्जनबीच चर्काचर्की भएको छ । शुक्रबार महानगरपालिकाको नगर कार्यसमिति बैठकमा मेयर र वडाध्यक्षबीच टसल भएको हो । 

कार्यपालिका बैठक शुरु हुने बित्तिकै वडाध्यक्ष महर्जनले महानगरपालिकाको नगर प्रहरी आएर बिना भर्पाइ वडाको कागजपत्र लगेको विषयमा प्रश्न उठाएका थिए । वडाबाट भर्पाइ नै नगरी गुण्डाको शैलीमा कागज लगेको विषयमा कुरा नटुंगिदै उनले न्यूरोड क्षेत्रको सडक विस्तारको विषयमा कुरा उठाए । 

सडक विस्तारको विषयमा कुरा उठेपछि बालेनले ‘२४ नम्बर वडामा फुटपाथ बढाउँदा तपाइंलाई किन टाउको दुख्यो ?’ भन्दै प्रतिप्रश्न गरे । जवाफमा वडाध्यक्ष महर्जनले २२ र २४ वडाको नाममा न्यूरोडलाई फुटाएर यसको ऐतिहासिकता समाप्त पार्न खोजेको आरोप बालेनमाथि लगाए ।

बैठकमा महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले भने सडक विस्तार गर्ने कुरामा आफ्नो सहमति रहेको बताएका थिए । 

अर्को वडाले सहमति जनाएपछि २२ नम्बरका वडाध्यक्ष महर्जनले मेरो वडामा वडाका जनप्रतिनिधिहरुको समर्थन बिना सडक विस्तार नहुने आश्वासन खोजेका थिए । तर बालेनले नियम अनुसार सडक विस्तार हुने जवाफ दिए । 

‘एक लाख जना मान्छे हिँड्न फुटपाथ कति चाहिन्छ तपाईंलाई थाहा छ ?’ प्रतिप्रश्न गर्दै बालेनले भने, ‘जति चाहिन्छ हामी त्यति बनाउँछौँ ।’ सडक विस्तार गर्दा जाम बढ्छ भन्ने वडाध्यक्षको भनाइमा बालेनले भने, ‘पार्किङ गर्ने ठाउँमा फुटपाथ विस्तार गर्दा जाम कसरी बढ्छ ?’

वडा नम्बर २२ का वडाध्यक्ष एमालेका तर्फबाट निर्वाचित भएका हुन् भने राजभण्डारी कांग्रेसका तर्फबाट निर्वाचित भएका हुन् । अहिले न्यूरोडमा फुटपाथ विस्तार गर्न हुँदैन भनेर व्यापारीहरु लागेका छन् । सडक विस्तार हुन नदिने उक्त प्रयासमा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसमेत छन् । 

महासेठसँगको टसलसँगै सडक नभत्काउन सडक विभागले पत्र काटेपछि बालेनले एक ट्रक फोहोर सडक विभागको पछाडि लगेर खन्याइदिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ