arrow

प्रतिशोधको राजनीतिमा 'सफ्ट पावर' र भीडको विवेक

logo
प्रियरंजन दाहाल, 
प्रकाशित २०८१ जेठ २३ बुधबार
priyaranjan-dahal-81-2-23.jpg

जब दुई चार जना बाटोमा बसेर एक साथ आकाशतिर हेर्छन्, त्यो बाटो भएर जाने प्रायः सबैले आकाशतिर एक नजर अवश्य लगाउँछन्  । काठमाडौँमा एक पटक गणेशले दूध खाएको भनेर प्रायः सबै आ-आफ्नो घर नजिक दूध खुवाउन लागे । 

यहाँ भगवानप्रति अनादर वा आस्थाप्रति प्रश्न गर्न खोजिएको हैन तर आम रुपमा मान्छेको र भीडको  मनोविज्ञानको विषयमा चर्चा गर्न खोजिएको हो । जब एउटा समूह कुनै घटनामा संलग्न हुन्छ, अन्जानमै अरु त्यसलाई पछ्याउन थाल्छन् र आफ्नो विवेक प्रयोग गर्न छोड्छन् ।  

हामी धेरैले अनुभव गरेको हुनुपर्छ- कहिलेकाहिँ लिफ्ट चढेर माथिबाट तल जानुपर्ने हुन्छ हाम्रो अगाडि लिफ्टको ढोका खुल्छ, त्यो तल जान लागेको लिफ्टमा अगाडि हुने एक जना माथि जानुपर्ने मान्छे चढ्यो भने माथि जाने सबै चढ्छन् र जब त्यो तलतिर जान्छ अनि बल्ल अरुले पनि आफूहरु झुक्किएको थाहा पाउँछन् ।

नेतृत्व गर्नेको विवेकलाई हामी यति धेरै विश्वास गर्छौँ कि हामी आफ्नो बाटो नै भुल्छौँ । व्यक्तिगत रुपमा योग्यहरु पनि समूहमा  बिना विवेक पछि लाग्न पुग्छन् र भीडको गलत निर्णयको सिकार हुन पुग्छन् । 

जीवविज्ञानी विलियम बिबेले भन्ने गरेको "सर्कुलर मिल" यसलाई प्रमाणित गर्ने बलियो आधार हो । जब एउटा कमिला आफू अगाडिको कमिलाको बाटोलाई पछ्याउँदै जान्छ तर नेतृत्व गर्ने कमिलाले आफ्नो खाने ठाउँ  विविध कारणले छोडिसकेको हुन्छ । नेतृत्वको पछि लाग्ने सबै कमिला एउटा बाटोमा गोल चक्कर लगाइरहन्छन् जबसम्म तिनीहरुको प्यास र भोकले मृत्यु हुँदैन । 

वास्तवमा सामूहिक निर्णयहरु सधै गलत हुन्छ्न भन्ने होइन । विविधताकोबीच देखिने अनेकन असहमतिलाई संगालेर गरिने अन्तिम  स्वतन्त्र निर्णय प्राय: सही हुन्छन् भन्ने विश्वास गरिन्छ । शोधकर्ताहरुको भनाइमा यदि निर्णय गर्दा समूहको हरेक सदस्यले स्वतन्त्रतापूर्वक विवेक प्रयोग गर्‍यो भने प्रायः सामूहिक निर्णयहरु सही नै हुने गर्छन् । कमिलाको ताँतीमा हरेक कमिलाले भोजन खोज्न स्वतन्त्र निर्णय गर्ने हो भने उसले मर्नु पर्दैन तर उसले आफ्नो विवेक प्रयोग नगरेको दिन ऊ मृत्युको मुखमा पुग्छ । 

कुनै पनि सामूहिक निर्णय गर्दा विविधताबीच गरियो भने हरेकमा हुने विशेष गुणको उच्चतम  प्रयोग गर्न सकिन्छ र परिणाम झन् राम्रो निस्किन सक्छ । एउटै विषयका मान्छेहरु राखेर गरिएको काममा तिनले भए गरेका र जानेका विषयलाई अधिकतम उपयोग त गर्छन् तर विविध सम्भावनाहरुको पाटोलाई तिनले चटक्क बिर्सिन पुग्छन् । 

अहिलेको डिजिटलाइज्ड  दुनियाँमा युट्युब, टिकटकलगायत विभिन्न सामाजिक सन्जालले  ठूलो प्रभाव पारेका छन् । कतिपय सन्दर्भमा स्वयम् देशहरु नै यी साधनहरुको प्रयोग गरेर शत्रु देशविरुद्ध प्रस्तुत भएका छन् । तर यी प्रविधिको प्रयोगलाई आफ्नो अनुकुल बनाउने प्रयत्न गर्दा असलसँग खराब प्रवृत्ति र चरित्रहरुको पनि बोलबाला बढेको देखिन्छ ।  

एउटा समूह आफ्नो व्यक्तिगत लाभलाई केन्द्रमा राखेर सामुहिक निर्णयका लागि समाज,सिंगो देश र संसारलाई नै प्रयोग गर्न सक्ने खतरा रहन्छ । सामाजिक सञ्जालमा आउने कतिपय विषय वस्तुहरुलाई नागरिकहरु बडो इमान्दारीपूर्वक स्वीकार गर्छन् र अनुमोदन गर्छन् । व्यक्तिगत रुपमा सही विषयवस्तु नै  अनुमोदन गर्ने देशका जिम्मेवार नागरिकहरु पनि समूहको निर्णयमा आँखा चिम्लिन पुग्दा त्यसले समाज,राष्ट्र र राजनीतिक,धार्मिक रुपमा विश्वब्यापी  स्थिरतालाई नै प्रभावित बनाउन पुग्छ । 

परिवर्तित एक्काइशौँ शताब्दीमा "सफ्ट पावर" पनि त्यतिकै शक्तिशाली हतियारका रुपमा देखा परेको छ । अनेकन राजनीतिक जालझेललाई सफ्ट पावरको प्रयोग गरेर आफ्नो पक्षमा पार्ने  सजिलो साधनको रुपमा अहिले सामाजिक सञ्जालहरुलाई प्रयोग गरिएको छ । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमासमेत त्यसको भारी प्रयोग भयो भन्ने विषय चर्चामा आएकै हो । 

अझ पछिल्लो वर्षहरुमा पत्रकार भन्दा युट्युब इन्फ्लुएन्सरहरुको प्रभाव ह्वात्तै बढेको छ । जसले गर्दा राजनीतिक नेतादेखि कलाकार खेलाडी सबै तिनको विस्तारित श्रोता, दर्शकसम्म पुग्न पछि लागेका छन् । 

एउटा पत्रकार आफ्नो समाचारलाई प्रमाणित गर्न अनेकन आधारहरु खोज्छ । व्यापक शोध, तथ्य-जाँच, नैतिकता र पत्रकारिताका निश्चित मापदण्ड र अनुशासनलाई केन्द्रमा राखेर समाचार बनाउँछ । उसलाई सुपरिवेक्षण गर्ने सरकारी र पत्रकारितासँग सम्बन्धित निकायहरु हुन्छन् । 

उसलाई समाचारका श्रोतहरु चाहिन्छ । तर युटुब वा यसखाले सामाजिक संजालमा आउने र उठाइने विषयहरुलाई पत्रकारिताका आधारभूत मापदण्डहरुले पनि छुँदैन ।  आफ्ना व्यक्तिगत अनुभव र विचारहरुलाई उसले जसरी पनि प्रस्तुत गर्ने अधिकार र छुट उसलाई छ । उसका कन्टेन्टहरुको आधिकारिकता, विश्वसनियता खोज्ने जिम्मा दर्शक श्रोताकै हुन्छ । 

दर्शक श्रोताको संख्या राम्रो भएको व्यक्ति वा संस्थाले सजिलै समाज र राष्ट्र्का निकायहरुमा प्रभाव पार्न सक्छ । माथि उल्लेख गरिएजस्तो भीडले अन्जानमै आफ्नो विवेक ती सामाजिक सञ्जालका केही संस्था र ब्यक्तिलाई दिन पुग्दा कहिले सुखद त कहिले दुःखद परिणाम आउनु स्वाभाविक हो । 

कतिपय घटनामा लामो  अनुसन्धानपछि पत्रकारहरुले सार्वजनिक गरेका सत्यतथ्यहरु बदनियतपूर्ण ढंङ्गले व्यक्तिगत स्वार्थवश सामजिक सञ्जालका इन्फ्लुएन्सरहरुले त्यसलाई सजिलै प्रभावहीन बनाइदिएका घटनाहरु पनि देखिन सुनिन आएका छन् । यसो भन्दैगर्दा सामाजिक सञ्जालका सकारात्मक असरहरु पनि नभएका होइनन् ।  कतिपय आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने  घटनाहरुलाई यिनै सामाजिक सञ्जाल र माध्यमहरुले सार्वजनिक गरेका छन् ।   

अहिले देखिएका समस्याहरुमा आफ्नो विचार नै अन्तिम सत्य हो भनेर प्रचारित गर्ने , भीडको विवेकलाई सजिलै आफ्नो नियन्त्रणमा लिने, आफ्नो विचारलाई तिनको पनि बनाउने र कतिपय अवस्थामा  व्यक्तिगत स्वार्थका लागि त्यसको दुरुपायोग गर्ने हो । 

यस्तो खालको प्रवृत्ति प्रायः राजनीतिक र धार्मिक क्षेत्रमा देखिन्छ । संख्याले अर्थ राख्ने राजनीतिमा त यसको सबैभन्दा बढी महत्व हुने नै भयो । अझ निर्वाचनको मुखमा कसैप्रति पूर्वाग्रह राखेर भ्रमपूर्ण समाचार वा विषय उठाइदिँदा उम्मेद्वारले निर्वाचनमा त्यसको दुष्प्रभाव त भोग्छ नै निर्वाचनपछि पनि त्यसको स्पष्टीकरण दिइहनु पर्ने हुन्छ ।

प्रायः राजनैतिक र धार्मिक नेतृत्व आफ्नो विचार समूहलाई स्वतन्त्र विचारहरुलाई प्रवेश गर्न रोक्न खोज्छ र आफ्नो विचारलाई नै पहिलो र अन्तिम अनि सत्य विचार भने देखाउन खोज्छ । फरक विचारको प्रवेशले आफ्नो समूह कमजोर र विभाजित हुने उसलाई लाग्छ । नेतृत्व पटक पटक एउटै कुरा र सूचना दिइरहन्छ । यसका लागि सामाजिक सञ्जालको प्रयोग सजिलो र अपरिहार्य माध्यम बनेको छ ।  

तर जति जति यसको प्रयोग बढ्दै गएको छ यसको विस्तार हुँदै गएको छ । दुरुपयोग पनि उही संख्यामा हुने त्रास बढेको छ । नागरिकलाई सचेत, सुसूचित  गराउने नाममा एकाथरी आफ्ना कलंकहरु छोप्न सामाजिक सञ्जाललाई भर मग्दूर प्रयासमा लाग्छन् भने अर्कोतिर अरुलाई खुइल्याउन पनि त्यतिकै लागेको  देखिन्छ ।

एउटा इमान्दारलाई कसैले बदनियतपूर्ण ढंगबाट बिना आधार आरोपित गरिदियो भने उसले जीवन पर्यन्त  आफू चोखो छु भनेर प्रमाणित गर्ने प्रयत्न गरिरहनु पर्छ । यस्ता ब्यवहारहरुले राजनीति झन् झन् दूषित र घृणाको विषय बन्दै गएको छ । 

चाहे समाज होस्,राष्ट्र होस् वा विश्व परिदृश्यमा कुरा गरियोस्,अनेकन विचारहरुको घर्षण र संयोजनले उत्तम विचार र समाज जन्मने हो । अनेकतामा एकताको सही अर्थ पनि त्यही हो । समान विचार मात्रै स्वीकार गरिनुको अर्थ नयाँ वैचारिक आयामको ढोका सदाका लागि बन्द हुनु हो  । 

फरक विचार भयो भने फरक ढंगले सोचिन्छ । फरक सोचले नयाँ आविष्कार गर्ने हो  । आफ्नो योजना लागू गर्ने, गराउने र सफलता, असफलताको भविष्यवाणी गर्ने एउटै समूह भयो भने उसले अन्जानमै पूर्वाग्रह राख्छ र उत्कृष्ठ  परिणामको अन्दाज गर्न सक्दैन ।  

जबसम्म शासकले,नेताले वा कुनै पनि संस्थाको नेतृत्व गर्ने ब्यक्ति वा समूहले आफू भन्दा अलग विचार समूहको विचार र भावनाको कदर गर्दैन उसले कुनै न कुनै ठाउँमा पुगेर असफलता बेहोर्नु नै पर्छ । चलनचल्तीमा सबैभन्दा बढी प्रयोग हुने  "सय कौरब र पाँच भाइ पाण्डवको पाँच गाउँ नदिने कथा" ले पनि वास्तवमा यही भन्न खोजेको हुनुपर्छ । प्रजातन्त्रको मुलभूत मान्यता पनि यही नै हो । यही मान्यताले गर्दा नै प्रजातान्त्रिक  राज्य ब्यवस्थालाई तुलनात्मक रुपमा बहुस्वीकार्य मानिएको हो ।  

शायद कौरब दाजुभाइ भित्र स्वतन्त्रतापूर्वक हरेकले आफ्नो विवेक प्रयोग गरेर निर्णय लिएको भए कमिला को "सर्कुलर मिल" को अवस्था आउने थिएन । स्वतन्त्रताको अर्थ सधै सही विचार नै लिइएको हुन्छ भन्ने होइन तर उसले पक्षपातपूर्ण निर्णय गर्नबाट भने अवश्य अलग राख्छ ।  

मनोवैज्ञानिकहरुका अनुसार बिना पक्षपात गरिने सामूहिका निर्णयहरु अधिकतर सही हुने गर्छन् । यसरी निर्णयहरु लिंदा एक अर्काको गल्ती कमजोरीलाई भेट्टाउने र सच्याउन सहयोग हुनेगर्छ । विविधतासहितको स्वतन्त्र विचारहरुको समूहको सामूहिक निर्णय प्रभावकारी हुन्छन् भन्ने विश्वासका साथ कोभिड-१९ को समयमा न्यूजिल्याण्ड सरकारले महामारी विज्ञ,अर्थशास्त्री र सामजिक कार्यकर्तालाई संयुक्त रुपमा परिचालित गर्‍यो ।

सबैका आ–आफ्नै विचारहरु थिए । ती सबैलाई समान स्थान दिएर  योजनाहरु बनाइए । यसरी  विश्वब्यापी महामारीमा सबैभन्दा कम प्रभावित देशमा न्यूजिल्यान्ड परेको थियो । पछि अरु देशहरुले पनि क्रमश: त्यसलाई नै आधार बनाए । 

 प्रायः राजनीतिमा सामूहिक विचार भनिए पनि नेतृत्व आफूभन्दा तलका विचारहरुलाई अस्तित्वमा आउन दिन चाहँदैन । बरु आफ्नो समूहमार्फत आम रुपमा आफ्नो  विचारमात्रै ठीक भएको बताउँछ । 

झन् अहिले सामाजिक सञ्जालका अनेकन माध्यममा आफ्ना कार्यकर्तालाई  प्रयोग गरेर भीडलाई एकोहोर्याउने प्रयत्न गरिन्छ । बुद्धिजीवी, प्राज् ,स्वतन्त्र विचार भएकाहरुलाई यसरी लखेटिन्छ मानौँ ती देशका सबैभन्दा ठूला अपराधी हुन् । 

तिनको फरक विचार र मतलाई भ्रष्ट, बिकाउ चरित्र भनेर कहाली लाग्दो गरी ट्रोल गरिन्छ । लोकप्रियतालाई आफ्नो जीवनभरको पूँजी मान्नेहरुका लागि कतिपय अवस्थामा त्यसले यति कमजोर बनाइदिन्छ कि ती स्वतन्त्र विचार भएकाहरु पनि आत्मसमपर्ण गर्न पुग्छन् ।    

मनोवैज्ञानिक अर्विन जेनिसले "सामूहिक विचार" नामको सिद्धान्तमा  केही महत्वपूर्ण विषयहरु उठाएका छन् । कसरी समूह आफ्नो हरेक ठीक र बेठीक निर्णयलाई सही प्रमाणित गर्ने कोसिस गर्छ । कसरी आफ्ना कमजोरीलाई ढाकछोप गर्ने निरन्तर प्रयत्न गरिरहन्छ र एउटा समयसम्म भीडको विवेकको दुरुपयोग गरेर अगाडि बढिरहन्छ र अन्त्यमा असफलताको खाडलमा जाकिन पुग्छ । 

समूह आफ्नो सफलतामा यति विश्वस्त हुन्छ कि आफ्नो असफलतापट्टी ध्यान दिँदैन । आफू भन्दा फरक विचारलाई शत्रुवत् ठान्छ र ध्यान दिँदैन । आफ्नो समूह भित्रबाट फरक मत प्रवाह हुन नदिन दबाब दिन्छ । एउटै विचार समूहको सदस्य पनि कतिपय  आफ्नै सदस्य समूह र  नेताको जानकारीबाट सूचनाहरु बचाउँछ, लुकाउँछ । जो उसको लागि  हानिकारक हुन्छ । 

हाम्रा धर्मशास्त्रहरुमा अनेकन मत, सम्प्रदाय ती नै फरक विचार र चिन्तनका उपज हुन् । विभिन्न उपनिषद्हरुमा उल्लेख भएका  याज्ञवल्क्य र गार्गीका संवाद हुन् अथवा शौनक र अंगिरा ऋषिका बीचको संवाद हुन्, सबैले विभिन्न दृष्टिकोण सुन्नु र बुझ्नु कति महत्वपूर्ण छ भनेर बताउँछ । विशेष गरेर शासकहरुले झन् बढी फरक विचार र दृष्टिकोणहरुको सम्मान गर्नुपर्छ । 

सफ्ट पावरका रुपमा देखिएका नयाँ प्रविधि र माध्यमहरुले नागरिकलाई सशक्त र संगठित बनाउने, तिनको आवाजलाई राज्यसम्म पुर्याउने, राज्यले आफ्नो सूचना सजिलै जनतासम्म पुर्याउने, सामाजिक र राजनीतिक जागरणका लागि पनि यो महत्वपूर्ण माध्यम बनेको छ । तर योसँगै  आफूसँग मेल खाने विचारलाई मात्रै प्रस्तुत गर्ने र एक खालको विचारमा निरंकुशता लाद्ने  सरकार र विरोधीहरुले  प्रोपोगाण्डाका लागि प्रयोग गर्ने र आफू अनुकुल अभिमत बनाउन प्रयोग गर्ने हुन्छ ।  

भनिन्छ सोसल नेटवर्किंग साइट्सद्वारा उपयोग गरिने एल्गोरिदमले लोकप्रिय वा विभाजक सामग्रीलाई प्राथमिकता दिन्छन्, जसले गलत सूचना र विभाजनको  वातावरण बनाउँछ । त्यसमा विभाजकहरुले निरन्तर आक्रमण गरेर सही सूचनाहरुलाई कमजोर बनाउने,गलत सूचनालाई लोकप्रिय बनाउने र असहमतिको आवाजलाई चुप गराउन सक्छ । 

विशेष गरेर शासकहरु आफ्नो विचार लाद्न विरोधीलाई कानूनको डन्डा लगाउँछन् । सबै खाले  श्रोत र शक्तिको दुरुपयोग गर्छन् चाहे त्यो हार्ड पावर मानिने प्रहरी प्रशासन होस् अथवा सफ्ट पावर मानिने शक्तिहरु हुन् । प्रजातान्त्रिक देशहरुमा सूचनाको पहुँच धेरैले पाउने सम्भावना रहन्छ र फरक मत तुलनात्मक रुपमा बढी स्वीकार्य हुन्छ । 

यस्ता शासकीय ब्यवस्थामा नागरिक र नेतृत्व कानून मान्न तयार हुने र नैतिकतालाई महत्व दिने खालको हुनुपर्छ । अन्यथा  शासक असहिष्णु पर्न गयो भने सबै खाले शक्ति र  सत्ताको चरम दुरुपयोगको सम्भावना पनि उत्तिकै रहन्छ । 
 
महाभारतको शान्ती पर्वमा युधिष्ठिर र भीष्मको संवाद छ जसले शासक कस्तो हुनुपर्छ भनेर  धर्म र राजनीति, शान्ति र नीति, न्याय र दण्ड, सहिष्णुता र समावेशिता आदि विषयमा छलफल भएको उल्लेख छ ।

युधिष्ठिरलाई सम्झाउँदै भीष्मले भनेको एउटा श्लोक छ : 

राजा तु सन्न्यस्तदण्डः स धर्मं रक्षितुं क्षमः।
तस्माद्धर्मेण योज्यः स्याद् दण्डेनैव न याच्ञया॥

आफ्नो राज्यमा न्याय र अनुशासन कायम राख्न राजाले दण्डको उचित र सही उपयोग गर्नुपर्छ । दण्डको उद्देश्य सुधार र न्यायको स्थापना हो,प्रतिशोध वा अत्याचार होइन । 



नयाँ