arrow

राजनीतिमा कुसंस्कार

बालेनसँग जोरी खोज्दै ओलीः सम्बन्ध झन् भन्दा झन् टाढा

थापाथलीको सुकुम्बासी बस्तीसँगै अल्फाबिटादेखि न्यूरोडको फुटपाथ विस्तारसम्म एमालेको अवरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २६ शनिबार
oli-balen-2081.jpg

काठमाडौँ । २०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचन प्रतिस्पर्धामा हुँदा काठमाडौँ महानगरपालिकाका लागि प्रमुख दावेदार थिए एमालेका केशव स्थापित । देशकै राजधानी भएको महानगरपालिकाको मेयरको प्रतिस्पर्धाका लागि उम्मेदवारी तय गरेकी सुनिता डंगोललाई उपमेयरको उम्मेदवारमा झारेर आफ्नै पार्टीबाट टिकट दिलाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयरको प्रतिस्पर्धामा स्थापितलाई उभ्याएका थिए । 

अघिल्लो पटकको निर्वाचनमै देखिएको नयाँ शक्तिको ‘चार्मिङ’ लाई राम्रोसँग बुझेका ओलीले बालेनसँग भिड्न योग्य उनी बाहेक अर्को उम्मेदवार देखेनन् । 

चुनावी प्रचारका क्रममा पनि प्रतिस्पर्धा स्थापित भर्सेस बालेनजस्तै देखियो । अघिल्लो चुनावमा रञ्जु दर्शनालाई पनि सम्मानजनक मत दिएको काठमाडौँले यसै पनि पुरानो शक्तिको विकल्प खोजिरहेकै थियो । त्यसमाथि बालेनको फरक प्रचार शैली र सामाजिक सञ्जालको फलोअर समेतका कारण उनी मेयरको बलियो दाबेदार बनेका थिए । 

अर्कोतर्फ २०५४ सालमा ८४ हजार भोट ल्याएर मेयर जितेको र माइतीघर मण्डला खाली गर्ने, कलंकीको सडक विस्तार गर्ने जस्ता महत्वपूर्ण काम गरेका स्थापितको अवस्था पनि कमजोर थिएन । त्यसमाथि उनको प्रचार शैली र स्वभावका कारणले पनि उनीमाथिको क्रेज छँदै थियो । ‘मरुँ मरु लाग्ने आर्यघाट बनाउने जस्ता’ उट्पट्याङ भनाइदेखि ‘सपनाको काठमाडौँ’लाई भिजुअलाइज्ड गर्न सक्ने खुबी उनमा थियो । 

उता नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहसँग पनि कांग्रेसको संगठन र गणेशमान सिंहदेखि प्रकाशमान सिंहसम्मको लिगेसी थियो । तर तुलनात्मक रुपमा उनको चर्चा कम नै थियो । प्रतिस्पर्धामा पहिलो दुई पात्र नै अगाडि थिए । जुन चुनावी नतिजाले देखाएकै थियो । 

चुनावमा सबैभन्दा बलियो प्रतिस्पर्धी नै पहिलो शत्रु हुन्छ । यो अर्थमा बालेनका लागि पहिलो शत्रु शुरुमै एमाले भएको थियो । त्यतिबेला बिजारोपण भएको शत्रुता आजसम्म आइपुग्दा घट्नुको सट्टा झन्झनै झाँगिदै गएको छ । 

बालेनको निर्वाचनपछि नयाँ शक्तिको रुपमा राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ओलीकै छत्रछायाँमा हराउँदा बालेन स्वतन्त्र व्यक्तिकै रुपमा समग्र एमाले र अध्यक्ष ओलीसँग भिडिरहेका छन् । 

सोमबार बालेनले गिरीबन्धु टि–स्टेटको जग्गाबारे प्रसङ्ग निकाल्दै ओलीमाथि खनिए । उनले १०० अर्ब भ्रष्टाचारको मुद्दालाई डाइभर्ट गर्न ओलीले न्यूरोडको विवाद सिर्जना गरेको आरोप लगाए । त्यतिमात्रै नभएर नयाँ शक्ति आएर कारबाही गर्ने भन्दै आफू राष्ट्रिय राजनीतिमा आउने संकेतसमेत एकैसाथ गरे । 

काठमाडौँ महानगरपालिकाले पार्किङ हटाएर फुटपाथ विस्तार गर्न भत्काएको ठाउँमा सडक विभागले कालोपत्रे गरिदिएपछि बालेन आक्रोशित भएका हुन् । व्यापारीसँगको सेटिङमा एमाले नेतृत्वले काम गर्न नदिएको उनको बुझाइ छ । अहिले संघीय सरकारको भौतिक पूर्वाधारमन्त्रीमा एमालेकै मन्त्री छन् । वडामा समेत एमालेका जनप्रतिनिधिले मात्रै विरोध गर्नुले आफूप्रति एमालेको नेतृत्व नै असहयोगी बन्ने गरेको बालेनको बुझाइ छ । 

ओली–बालेन दूरी बढ्नुको मूल कारण
चुनावी प्रतिस्पर्धामा प्रमुख शत्रु एमाले देखिए पनि यसलाई दुवै पक्षले सौहार्दपूर्ण रुपमै लिएका थिए । त्यही कारण हुन सक्छ चुनावी नतिजा आफ्नो पक्षमा आउने देखिएसँगै बालेन ओलीलाई भेट्न बालकोट पुगेका थिए । 

बालकोटले पनि बालेनलाई रातो कार्पेट बिच्छ्याएरै स्वागत गरेको थियो । काठमाडौँ महानगरलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर बालेनले त्यतिबेला ओलीसँग सुझावसमेत मागेका थिए । 

मेयरको काम थालेपछि बालेनले ‘सुधार’ का केही कामहरु गर्न थाले । खासगरी नक्सा पासबिना बनेका घर टहरा खाली गर्ने विषयमा बालेन अघि बढेका थिए । यो क्रममा सुरुमा नर्भिक हस्पिटलको टहरा भत्काउन प्रयास गरे । त्यस्तै बुद्धनगरको अल्फाबिटा कम्प्लेक्समा समेत बालेनले डोजर चलाउने प्रयास गरेका थिए । 

नर्भिक हस्पिटल वसन्त चौधरीले सञ्चालन गर्दै आएको भए पनि यो हस्पिटलको स्वामित्व चौधरी ग्रुपले लिन्छ । जसका अध्यक्ष विनोद चौधरी नेपाली कांग्रेसका सांसदसमेत हुन् । उनका भाइ हुन् वसन्त । तर नर्भिक हस्पिटलको डोजर प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा लगायत कांग्रेसका बोलेनन् । 

उता एमाले निकट मानिने द्विराज शर्माको अल्फाबिटा कम्प्लेक्समा डोजर चलाउँदा महेश बस्नेतले कडा प्रतिवाद गरे । त्यहाँसम्म पनि ठीकै थियो होला तर थापाथलीको सुकुम्बासी बस्ती हटाउने प्रकरणपछि भने बालेन ओलीप्रति निकै आक्रोशित छन् । २०७९ कात्तिकमा सुकुम्बासी बस्ती हटाउन गएका नगर प्रहरीलाई स्थानीय सुकुम्बासीहरुले लखेटेका थिए । 

बस्ती हटाउने नगर प्रहरीको प्रयास सफल नभएपछि महानगरले संघीय सरकारको सहयोग मागेको थियो । त्यतिबेला ओलीकै दबाबमा सरकारले सहयोग नगरेको बोलेनको बुझाइ छ । ओलीले त्यतिबेला सुकुम्बासी बस्तीमा डोजर चलाएर तमासा गरिएको बताएका थिए । एमालेका केन्द्रीय नेता नै सुकुम्बासी बस्तीका हर्ताकर्ता देखिनु र ओलीको त्यो अभव्यक्तिपछि बालेन एमालेप्रति थप आक्रोशित छन् । 

त्यही अवस्था सिनामंगलको सुकुम्बासी वस्तीमा समेत छ । अहिले काठमाडौँ महानगरपालिकाको सबैभन्दा टाउको दुःखाइ यही दुईवटा सुकुम्बासी बस्ती बनेको छ । तर पनि सुकुम्बासी बस्ती हटाउने योजना अझै सफल हुन सकेको छैन । कांग्रेस र माओवादीको सरकार हुँदा नै सहयोग नपाएको अवस्थामा अहिले एमालेको साझेदारीमा बनेको सरकारले यसमा सहयोग गर्ने अवस्था नदेखेर महानगरले अहिले बस्ती हटाउने प्रयास नै गरेको छैन । 

नगरपालिकामा पनि एमाले प्रतिपक्ष जस्तै
शुक्रबार काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा एमाले न्यूरोडमा सडकपेटी विस्तारको सम्बन्धमा वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महर्जनसँग बालेनको चर्काचर्की भयो । वडा कार्यालयबाट फाइल जफत गरिएको सन्दर्भमा शुरु भएको विषय सडक विस्तारसम्म पुगेको थियो । जबकि न्यूरोडमै पर्ने वडा नम्बर २४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले भने यो कदमलाई समर्थन गरे । 

एमालेको नेतृत्व अहिले न्यूरोडमा फुटपाथ विस्तार होस् भन्ने चाहँदैन । अहिले न्यूरोड क्षेत्रमा हटाइएको पार्किङसमेत उपयुक्त नभएको एमाले नेतृत्वको ‘टप–टु–बटम’ बुझाइ छ । यसले स्थानीय व्यवसायमा ठूलो असर परेको भन्दै वडाध्यक्ष महर्जनले पटक–पटक विरोध गर्दै आएका छन् । 

पार्किङको सम्बन्धमा पनि यसअघि वडाध्यक्ष महर्जन र मेयर बालेनबीच चर्काचर्की भएको थियो । वडाको नाममा न्यूरोडलाई बाँडेर ऐतिहासिकता बिगार्न खोजेको बालेनमाथि महर्जनको आरोप छ । 

बालेनको बुझाइमा महानगरबाट आफू बाहिरिएपछि न्यूरोड क्षेत्र पुरानै अवस्थामा पुर्याइन्छ भन्ने छ । अहिले फुटपाथ विस्तार रोकियो भने मेयर फेरिएपछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोच भएकाहरुले फुटपाथ विस्तार रोकिरहेको आरोप लगाएका छन् ।

बालेनको स्टाटसपछि सिर्जित अवस्था
गिरीबन्धु टि स्टेटको प्रकरणमा बालेनले ओलीको नाम लिएपछि ओली आक्रोशित छन् । बालेनको अभिव्यक्तिको भोलिपल्ट संञ्चारकर्मीले गिरीबन्धुबारे प्रश्न सोध्दा संसद बाहिर नै ‘बालेनलाई सोध्नु’ भन्ने ठाडो जवाफ दिएका थिए । त्यसपछि पटक–पटक बालेनको बारेमा एमालेले संसदमा प्रश्न उठाएको छ । 

एमाले सांसद योगेश भट्टराईले बालेन पछिल्लो समय उच्छृङ्खल बन्दै गएको आरोप लगाए । संसदको विशेष समयमा उनले बालेनमार्फत लाखौँ युवाले नेपालको भविष्य खोजेको भए पनि पछिल्लो दिनका गतिविधिले युवाहरूको सपनामाथि बालेनले धोका दिँदै गएको टिप्पणी गरे । 

उता कांग्रेस भने बालेनलाई काम गर्न दिनुपर्छ भन्ने पक्षमा देखिएको छ । बिहीबारको बैठकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्यूरोडमा फुटपाथ विस्तार गर्ने कि नगर्ने भन्ने विषय महानगरपालिकाको अधिकार भएको भन्दै संघीय सरकारले हस्तक्षेप गर्न नमिल्ने बताए । 

उनले बालेनको अभिव्यक्तिबारे ओली आफैँ वा केन्द्रीय नेताले नभएर समस्या भए स्थानीय तहका प्रतिनिधिहरुमार्फत् नै विरोध गर्नुपर्ने बताए । ‘काठमाडौँको मेयरसँग कुनै कुरामा भिड्नुपर्दा उपमेयरलाई भन्दा हुन्छ नि, त्यही तहको पार्टी प्रतिनिधिलाई भन्दा हुन्छ नि, तिनले त्यही भने भयो नि कि मेयरसाब संयमले बोल्नुस्, तर आफैँ अघि सर्नुभयो बोल्न,’ शर्माले भने, ‘यो प्रकरणमा म यतिमात्रै भन्न चाहन्छु, न्यूरोडमा नागरिकको सुविधाको लागि सडक पेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठीक गरेका थिए, उनलाई त्यहाँ काम गर्न दिइनुपर्छ ।’

ओलीको अभिव्यक्ति र बालेनको कामबारे कांग्रेस पक्षमा उभिएपछि एमालेले तत्काल त्यसको प्रतिवाद गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस अराजकतालाई संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको आरोप लगाए । ‘बालेनको अराजकतालाई संरक्षण गर्नुपर्ने कांग्रेस यतिसम्म कमजोर भइसकेको हो ?’ उनले प्रश्न गरे । 

ओली आफैँ पनि त्यतिमा रोकिएका छैनन् । शुक्रबार मात्रै उनले बालेनलाई झिँगाको संज्ञा दिँदै उनको अभिव्यक्ति भैँसीलाई झिँगाले लात्ताले हानेजस्तो भएको टिप्पणी गरे । ‘भैँसीलाई लात्ताले हानेँ भनेर झिँगा दंग परेको छ’ ओलीले भने । 
 
बालेनले भने यी घटनाक्रमबारे कुनै अभिव्यक्ति दिएका छैनन् । तर फुटपाथ विस्तार गर्न नदिनु प्रतिशोध भएको उनको भनाइ छ । सडक विभागले आफूसँग प्रतिशोध लिएको भन्दै बालेनले भनेका छन्, ‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिशन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्यूरोडलाई लथालिङ्ग र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ