arrow

बजेट कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने अध्यक्ष ओलीको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
kp-sharma-oli-02-19.jpg
तस्बिर-फाइल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि नमिलेका र सच्च्याउने कतिपय विषयमा सरकारसँग छलफल भइरहेको बताए । 

“मुलुकमा उद्यमशीलतालाई प्रोत्साहन गर्न कच्चा पदार्थको आयात सहज हुनुपर्ने र करका दर कम हुनुपर्नेमा ध्यान जान सकेन, यस विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको छु । बजेटलाई प्रभावकारी कार्यान्वयनका लागि अरु के-के विषय सच्च्याउनुपर्दछ भन्ने सन्दर्भमा पनि कुरा भइरहेको छ”, उनले भने ।

अध्यक्ष ओलीले अब हामी आफैँले पुँजी र प्रविधि विकासका गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले भने, “हाम्रो पुँजी र प्रविधिले पुगेन भने बाहिरबाट ल्याउनुपर्दछ तर मुख्यतः हामी आफैँले उत्पादन तथा पुँजीको सिर्जना र विकासमा ध्यान दिन आवश्यक छ ।”

उनले मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याए पनि फाइदा लिन नसकिएको भन्दै अब रोजगारीका अवसर सिर्जना हुनेगरी लगानीको उपयोग हुन जरुरी रहेको धारणा राखे ।

देशलाई औद्योगिकीकरण र रोजगारीको अवसर सिर्जना गर्ने खालका लगानी भित्र्याउनुपर्नेमा उनको जोड थियो ।

अध्यक्ष ओलीले उद्योगमा प्रविधिको प्रयोगले औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने भन्दै कृषिको आधुनिकीकरण र औद्योगिकीकरण गर्न नसके देशको अवस्था नबदलिने बताए ।

पार्टीका पोलिटब्यूरो सदस्य सुजिता शाक्यले मुलुकमा उद्योग स्थापना गरेर रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ