arrow

कानुन बनाउने कार्य आफैँमा जटिल विषय हो : मुख्यमन्त्री कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
hikmat-karki-01-31.jpg
तस्बिर-फाइल

दमक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानुन बनाउने काम सहज नभएको बताएका छन् । 

प्रदेशसभा सचिवालयले झापाको गौरादहस्थित नमूना कृषि सहकारीको भवनमा आयोजना गरेको ‘प्रदेश तथा स्थानीय तहमा कानुन निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था’ विषयक कार्यक्रममा उनले कानुन निर्माण गर्दा देशको संविधान अध्ययन गर्न आवश्यक रहेको औँल्याए ।

कतिपय स्थानीय र प्रदेश सरकारले बनाएका कानुन संविधानसँग बाझिने गरी आएको स्मरण गर्दै उनले संविधान अध्ययन गरेर आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए । 

कानुन बनाउने काममा गम्भीर हुन उनको आग्रह छ । उनले कानुन बनाउँदा शब्दशब्दमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । 

पढेर मात्रै कानुन बनाउन नजानिने भएकाले कानुन बनाउने काम सबैभन्दा कठिन भएको मुख्यमन्त्री कार्कीको धारणा छ । 

कानुन निर्माणका लागि सङ्घीयता आएको पछिल्लो छ सात वर्षको समय पर्याप्त रहेको उल्लेख गर्दै उनले भने, “सुशासनका लागि पनि कानुन अति आवश्यक भएकाले त्यसतर्फ ध्यान दिनुपर्छ ।” 

उनले कानुन बनाएपछि राजस्व उठाउनसमेत सहज हुने र त्यसले स्थानीय तह र प्रदेश सरकारलाई विकास निर्माणमा बजेट विनियोजन गर्न सहज हुने विश्वास व्यक्त गरे । 

कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले स्थानीय तहलाई कानुन निर्माणका लागि सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

कार्यक्रममा कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवार, प्रदेश सांसद होमबहादुर थापा, तारादेवी ढकाल, नम्बरलाल धिमाल, कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुली, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीलगायत स्थानीय तहका जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ