arrow

सरकारप्रति ओलीले यसरी पोखे असन्तुष्टि [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
kp-oli-03-01.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् । शनिबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताए । 

एक-दुई जनाको मुख हेरेर सरकारमा छँदै छाँै भनेर नहुने उनको भनाइ थियो । उनले नेकपा एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताए । उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गरे । उनले ठिक ठाउँको छलफल, सुझाव, निर्णयबाट मात्रै स्थितिमा परिवर्तन ल्याउन सकिने बताए । 

उनले भने ‘बजेटको सन्दर्भमा भएको कति ठिक, कति बेठिक त्यो अलि छलफल गर्नुपर्ने हुन्छ । एक दुई जनाको मुख हेरेर हामी सरकारमा छाँै भनेर गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदै छौँ भनेर हुन्छ । हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि सरकारमा गएको हो । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने । हामीले नै चलाइरहेका मन्त्रालयहरूको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ त्यसको विनियोजन ? त्यो पनि हेर्नुपर्ने हुन्छ । यी सबै विषयमा साथीहरूले खुलेर छलफल गर्नुस् ।'

उनले नेकपा एमाले प्रतिक्रियावादी शक्तिहरू जसरी विचार, नीति, उद्देश्य शून्य, स्वार्थका थैलाहरू बोकेर हिँड्ने पार्टी नभएको बताए । उनले स्वार्थका थैलाहरू भर्नका लागि अशिष्टता, असभ्यता, अमर्यादा, अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने काममा एमाले नलाग्ने बताए । उनले प्रतिक्रियावादीहरुले नेकपा एमालेविरुद्ध दिनदिनै नयाँ नयाँ अकल्पनीय कुराहरू आविष्कार गरी समाजमा भ्रम पैदा गरिरहेको बताए ।

उनले भने ‘ बाहिर बजारमा फिँजाउने कुरा होइन । बाहिर बजारमा भन्दै हिँड्ने त्यसले कुनै फेसबुकले कुनै कुरालाई सच्याएर ल्याइदिँदैन । त्यो ठिक ठाउँको छलफल, ठिक ठाउँको सुझाव, ठिक ठाउँका निर्णयबाट मात्रै स्थितिमा परिवर्तन आउँछ । त्यसकारण हामी प्रतिक्रियावादी शक्तिहरू जस्तो, विचार शून्य, नीति शून्य, उद्देश्य शून्य, स्वार्थका थैलाहरू बोकेर ती स्वार्थका थैलाहरू भर्नका लागि अशिष्टता, असभ्यता, अमर्यादा, अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने त्यस्ता खालका भ्रमका तुवाँलाहरू फैल्याउने क्रमका विपरीत क्रियाकलापहरूमा हामी लाग्दैन । फेरि हामीले खण्डन मण्डन त गर्नुपर्ने हुन्छ । हाम्रो पार्टीका विरुद्ध उनीहरूको हमला अत्यन्त तीव्र छ । नयाँ कुरा दिनैपिच्छे अकल्पनीय कुराहरू उनीहरूले आविष्कार गरेर बजारमा फैल्याउँछन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ