arrow

एमाले दुई दलीय व्यवस्थातिर ढल्किँदै, साना दलप्रति हेपाहा प्रवृत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
uml-cpn.jpg

काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरुले एक वर्षयता मुलुकमा दुई दलीय व्यवस्था आवश्यक रहेको अभिव्यक्ति दिँदै आएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेलाबखत साना पार्टीका नेताहरुलाई ‘हेपाहा प्रवृत्ति’को अभिव्यक्ति दिनु नौलो नभए पनि उनी बाहेकका अन्य नेताहरुले साना दललाई गाली नगरे पनि दुई दलीय व्यवस्थाको वकालत गर्दै अभिव्यक्ति दिनुले साना दलले मुलुकको राजनीतिक नेतृत्व गर्न नसक्ने अवस्था रहेको संकेत गर्न थालेका छन् । 

एमालेकै महासचिव शंकर पोखरेलले ‘धेरै राजनीतिक दल भए अस्थिरता बढ्छ । जति धेरै दल रहन्छन्, त्यति धेरै अस्थिरता हुन्छ’, भन्ने अभिव्यक्ति एक पटक होइन पटक पटक सुनाउन थालेका छन् ।

दाङको एउटा कार्यक्रमदेखि काभ्रेको जिल्ला पार्टी कमिटीलाई सपथ गराउँदासम्म यही अभिव्यक्ति दिइयो । त्यतिमात्र होइन बिहीबार मदन भण्डारीको जन्मदिनको अवसरमा गरिएको कार्यक्रममा पनि यही कुरा दोहोर्याएका छन् । 

तर यसका लागि संविधान संशोधन गरेर समानुपातिक व्यवस्था हटाउनुपर्छ भन्ने अभिव्यक्ति भने दिएको पाइएको छैन । नेपाली कांग्रेसका शीर्षतहका नेताहरुले समानुपातिक निर्वाचन प्रणालीकै कारण मुलुक अस्थिर गन्तब्यमा पुग्न थालेको बताए पनि एमाले भने यो बाटोमा देखिएको छैन । 

एमाले अध्यक्ष ओलीले आन्तरिक कार्यक्रममा समानुपातिक निर्वाचनबारे एक वर्षअघि धारणा राखेका थिए । तर महासचिव लगायतका नेताहरुले कुनै धारणा बाहिर ल्याएका छैनन् । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले मदन भण्डारी सङ्ग्रहालय उर्लाबारी मोरङमा बिहीबार आयोजित नेपाली कम्युनिष्ट आन्दोलनमा जननेता मदन भण्डारीको योगदान र आजको सन्दर्भमा “जनताको बहुदलीय जनवादको” सान्दर्भिकता विषयक एक विचार गोष्ठीमा बोल्दै  पोखरेलले मुलुकको विकासमा स्थिर राजनीतिक शक्तिको आवश्यकता बताउदै जति धेरैदल त्यतिनै मुलुक अस्थिरताको बाटो हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

‘मुलुककमा धेरै दल भए भने उनीहरुकै कारणले विकास निर्माणमा अवरोध हुनसक्छ, उनीहरुले नै अस्थिरता हुन्छ’, उनले भने । 

त्यस सन्दर्भमा उनले अवस्था अनुसार पार्टीको सङ्गठनात्मक ढाँचा फेरिनु पर्ने बताएका थिए । ‘युद्धका बेलामा सैनिक पार्टी जस्तो, चुनावका बेलामा जनपार्टी जस्तो, राज्य चलाउँदाखेरि राजकीय पार्टी जस्तो, यो खालको ढाँचामा पार्टी बनाउनु उचित हुन्छ भनेर आजको सन्दर्भमा पार्टी कस्तो बनाउनु पर्छ भनेर उहाँले उत्तर दिनुभयो’, पोखरेलले मदन भण्डारीलाई नै ‘कोट’ गरेर भने, ‘साना दलहरु च्याँखे दाउ खोज्न व्यस्त रहे, यो शुभ संकेत रहेन ।’

उनले संविधानमा बहुदलीय व्यवस्थाको अवधारण रहेको तथ्यलाई भने केही उजागार गर्न चाहेका छैनन् । बेलायत अमेरिका जस्ता विकासशील मुलुकको अवधारणामा महासचिव पोखरेल रहे पनि अहिले देखिएका साना ठूला सबै पार्टीहरु यही संविधानको उपज हुन् भन्ने तथ्यमा एमाले महासचिवको अभिव्यक्ति विलोप हुँदै गएको छ ।

उनले कार्यकर्तालाई आफ्नो पार्टी निर्माणको क्रममा भने अर्के अभिव्यक्ति दिएका छन् । एमालेलाई जनतामा आधारित कार्यकर्ता पार्टी बनाउने दृष्टिकोण जनताको बहुदलीय जनवादले अघि सारेको बताउँदै त्यसैले एमाले जनतामा आधारित कार्यकर्ताको पार्टी भएको र  जनताको बहुदलीय जनवादको पार्टी बनाउने दृष्टिकोण रहेको बताएर अल्मल्याएका छन् । 

नेपालको संविधान र स्वयं पोखरेलको पार्टी नेकपा एमालेले पनि दुई दलीय व्यवस्थाको कल्पना गरेको छैन । एमालेभित्र सैद्धान्तिक र बौद्धिक नेताको परिचय बनाएका महासचिव पोखरेल नेकपा एमालेका तत्कालीन महासचिव स्व. मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जवज) का व्याख्याता समेत मानिएका बेला उनकै जन्मदिन मनाउने क्रममा दुई दलीय व्यवस्थाको वकालत गर्नुलाई एमाले पंक्तिले सान्दर्भिक ठानेको छैन  । 

जबकि नेकपा एमालेले जबजलाई आफ्नो मार्गदर्शक सिद्धान्त मानेको छ । मदन भण्डारीले प्रतिपादन गरेको जबजले कतै पनि दुई दलीय व्यवस्थाको वकालत गरेको पाइँदैन । यसका लागि संविधान र एमाले आफ्नै रणनीतिक कार्यनीति र कार्यक्रम दुवै परिवर्तन गर्नु आवश्यक छ । 



लोकप्रिय समाचार
नयाँ