arrow

कोशीमा बाढीको क्षति रोक्न उच्च सतर्कता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
koshi-river-03-18.jpg

काठमाडौँ  । सप्तकोशी नदीको बहावमा उतारचढाव शुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । जुन कुनै समयमा बढ्न सक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई मध्यनजर गर्दै तटीय भेगका दुवै जिल्ला सुनसरी र सप्तरीले शतकर्ता सहितको आवश्यक तयारी अघि बढाएको हो । बाढी पूर्व तयारीलाई लिएर कोशी ब्यारेजमा दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठक समेत डाकिएको छ । 

बैठकले नदीमा आउन सक्ने बाढीको आङ्कलन गर्दै सूचना सम्प्रेषण र विपद् पूर्व तयारीको कार्यलाई तदारुकताका साथ बढाउने निर्णय गरेको छ । बाढीसँगै कोशीमा डुङ्गा चलाउन र माछा मार्न प्रशासनले रोक लगाएको छ । बैठकले पानीको बहावसँगै आवश्यकताअनुसार ब्यारेजका ढोका खोल्न संयुक्त पहल गर्ने निर्णय समेत गरेको छ ।

सप्तकोशीमा बहाव बढ्दै जाँदा सम्भावित जोखिम मानिएका स्परको सुरक्षामा प्रशासनले विशेष चासो दिएको छ । नेपाली पक्षको समन्वयमा उक्त क्षेत्रमा भारतीय पक्षले तारजाली र बालुवा भरिएका बोरा राख्ने काम जारी राखेको छ । ब्यारेजमा सम्पन्न प्रजिअसहित सुरक्षा निकायको बैठकले सीमापार हुने अपराध र तस्करी नियन्त्रणका साथै तीव्र गतिका कारण राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका सवालमा समेत सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ । 

टोलीले कोशी ब्यारेज नियन्त्रण कक्ष (कन्ट्रोल रुम) का साथै ब्यारेज पुलको संरचना र नदी तटीय क्षेत्रको निरीक्षण समेत गरेको छ । सप्तकोशी नदीमा केही दिन यता २ लाख क्युसेकको आसपास बहाव मापन हुँदै आएको छ ।

सप्तकोशीको जलस्तर बढ्दा पछिल्ला केही वर्ष यता ब्यारेजका ५६ वटै ढोका खोलिँदै आइएको छ । भारतीय पक्षको नियन्त्रणमा रहेको ब्यारेजका ढोका खोल्न नेपाली पक्षले भारत सँग आग्रह गर्नुपर्ने हुन्छ । भारतीय पक्षले भने जलस्तरको मापनका आधारमा ब्यारेजका ढोका खोल्ने गर्छ । ढोका खोल्न ढिला हुँदा वर्षेनी नेपाली भूभाग डुबानमा पर्ने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ