arrow

भारी वर्षाले झापाको जनजीवन प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
jhapa.png.png
फाइल तस्बिर

झापा । भारी वर्षासँगै विभिन्न खोला, नदीमा आएका बाढीले झापाको जनजीवन प्रभावित भएको छ । 

बाढी पसेर कटान र डुबान भएका बस्तीका सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पछिल्लो समय कन्काईमा आएको बाढीले गौरीगञ्ज गाउँपालिका-१ को टप्पु बस्ती र झापा गाउँपालिकाको सुगाबथानका ५१ घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

झापा गाउँपालिका र गौरीगञ्ज-१ मा यस वर्ष  बाढीले तीन जनाको मृत्यु भएको छ । एक बालक बेपत्ता छन् । झापा गाउँपालिका-२ स्थित सानो माई खोलामा डुबेर सोमबार एक बालकको मृत्यु भएको हो । 

सोमबार दिउँसो खोलामा खेल्ने क्रममा डुबी घाइते भएका झापा गाउँपालिका-२ का रहमान आलम मियाका तीन वर्षीय छोरा दिलसाद आलम मियाको उपचारको क्रममा कन्काई अस्पताल सुरुङ्गामा मृत्यु भएको हो ।

यसअघि सोही ठाउँका एक जना र गौरीगञ्ज-१ का एक जनाको मृत्यु भइसकेको छ । गौरीगञ्ज-१ का १२ वर्षीय बालक कमल बनियानी खोलामा डुबेर दुई साता अघि बेपत्ता भए पनि फेला परेका छैनन् । 

त्यसैगरी रतुवा खोलामा आएको बाढीले कमल गाउँपालिका-६ खयरबारीमा कटान गरेको छ । आज कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाका सभापति चन्द्र साह, सचिव पारसमणी राईसहित रेडक्रसकर्मीको टोलीले प्रभावित क्षेत्रको स्थलगत जानकारी लिए । 

खयरबारी क्षेत्र विसं २०५० अघिदेखि रतुवा खोलाको कटानका कारण जोखिममा छ । रतुवाका कारण २० वर्षअघिदेखि विस्थापित भएका बाढी पीडित परिवारलाई तत्काल वैकल्पिक बसोबासको व्यवस्था मिलाइए पनि स्थायी बसोबासको व्यवस्था गर्न सकिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ