काठमाडौँ । १९ वर्षमुनि एसीसी एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । मङ्सिर २८ सम्म श्रीलंकामा हुने प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १९ सदस्यीय टोली छनोट भएको हो । जसमा चार खेलाडी वैकल्पिक छन् ।
सन्दीप अहिले अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको क्लबबाट क्रिकेट खेलिरहेका छन् । सन्दीपको प्रदर्शन र उमेर भएकाले पनि केही लामो अवधि यु–१९ सम्हाल्न कप्तानी सुम्पिएको बताइएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एसिया क्षेत्र अधिकृत वेंकटपथी राजु, मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोद दासको छनोट समितिले टोली घोषणा गरेको हो । एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेट डिसेम्बर १३ देखि २४ सम्म श्रीलंकामा हुने भएको छ ।