सिन्धुली। सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली, जिल्ला विकास समिति सिन्धुली र कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा यही पुस ७ गतेवाट तेश्रो सिन्धुली महोत्सव हुने भएको छ ।
महोत्सवको पुर्वतयारी भैसकिनुका साथै यस वर्षको महोत्सव भिन्न प्रकारको र भिन्न उदेश्यका साथ आयोजना गरिने भएको छ । यस वर्षको सिन्धुली महोत्सव बाट भएको नाफाले जिल्लाका राजनीतिक दलहरुको सल्लाहमा जिल्लाको पहिचान झल्किने भौतिक संरचनाको निर्माणमा लगानी गरिने उद्धेश्य रहेको उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष विनेश कुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार जिल्ला स्थित विभिन्न राजनीतिक दलहरुसगँको छलफल पछि महोत्सवको मिति तय भएको हो । विगतका वर्षहरुमा उद्योग बाणिज्य संघको प्रस्तावमा दलहरुले सहमति जनाउने चलन रहेको थियो तर यस वर्ष भने दलहरुको प्रस्तावमा महोत्सवबाट जम्मा भएको नाफा रकमले दिगो र पहिचान युक्त संरचना निर्माण गरिने समेत श्रेष्ठको भनाई छ । यस वर्ष आयोजना हुन लागेको महोत्सव भव्य, सव्य र स्वौहार्द पूर्ण वातावरणमा सम्पन्न हुने कुरामा जोड दिए ।
महोत्सवमा २ सय ५० वटा स्टल रहने हुँदा स्टल राख्न इच्छुक महानुभावले यहि मंसिर २५ गते सम्म स्टल बुक गरिसक्नु पर्ने श्रेष्ठले बताए । महोत्सव अवधिभर स्टल खरिद गर्नेले १२ हजार रुपैंया तिर्नु पर्ने छ । साथै स्टल बुक गर्दा स्थानीयलाई विशेष छुट दिईने ब्यवस्था भएको उनले वाताए ।महोत्सवका स्टल मध्ये लोपन्मुख जातीको पहिचान झल्कने दुईवटा स्टल राख्ने र उक्त स्टलमा विशेष छुट दिईने भएको छ । लोपन्मुख जाती हायु, दनुवार, माझी मध्येका दुईवटा स्टलमा उनीहरुको मौलिक कला झल्कने सामाग्रिहरु राखीने छ । लोप हुन लागेका नेपाली कला संस्कृतिलाई जोगाउने उदेश्यले दुईवटा स्टल स्पेसल रुपमा जात जातीकालागि छुट्याईएको उद्योग वाणिज्यसंघ सिन्धुलीले जनाएको छ ।
महोत्सवमा स्थानीय कलाकारहरुलाई पनि विशेष प्राथमिकता दिइने जनकारी भएको छ । जिल्लामा कृयाशिल र स्थानीय कलाकार भएका क्लवहरु परिवर्तन जागरण क्लव, इसाक सिन्धुली, नाच्छ सिन्धुली, नव युवा चौतारी लगाएतका क्लवका कलाकारलाई पनि विशेष समय प्रदान गरिने भएको छ । कलाकारको प्रतिभाको उच्च मुल्याङ्कन गर्दै उत्कृष्ट कला र गला भएका कलाकारलाई यस बर्ष विशेष सम्मान गरिने भएको छ ।महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रख्यात कलाकारको वेजोड प्रस्तुति रहने छ।
महोत्सवमा स्थानीयको पासलाई यस बर्ष व्यवस्थित गरिने भएको छ । यस्तै महोत्सवमा प्रवेश शुल्क रु ५० रुपैंया कायम गरिएको छ भने महोत्सवलाई धेरै भन्दा धेरै दर्शकले अवलोक गर्ने आयोजकको अपेक्षा रहेको छ ।