arrow

प्रधानमन्त्री ओलीले शपथ लिँदै, को को बन्दैछन् मन्त्री ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
kp-sharma-oli-2080-09.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान शपथ लिँदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई बिहान ११ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ । आजै नवनियुक्त मन्त्रीहरुले पनि शपथ दिलाउने तयारी गरिएको छ ।

आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए । ओली तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनी प्रधानमन्त्री भएकै बेलामा २०७८ बैशाख ३० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेको समयलाई तेस्रो बनाएर अहिले चौथो भएको बताइए पनि निरन्तर उनले कार्यकाल सम्हाल्ने भने यो तेस्रो पटक हो । 

यसअघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबि पेश गरेका थिए । 

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । 

त्यसपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबि पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहानै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् । 

को बन्दैछन् मन्त्री ? 
अहिलेसम्म कांग्रेस–एमालेले मन्त्रीहरुको छनोट गर्ने क्रममा रहेका छन् । अहिलेसम्म कांग्रेसबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजू राणा देउवा, प्रदीप पौडेल, रामनाथ अधिकारी, तेजुलाल चौधरी, हृदयराम थानी लगायतको चर्चा छ । 

एमालेबाट विष्णु पौडेल, योगेश भट्टराई, छविलाल विश्वकर्मा, विद्या भट्टराई, सुनिता बराल, पदम गिरीलगायत मन्त्री बन्ने चर्चा रहेको छ ।

तर शपथ ग्रहण गर्ने समय केही घण्टामात्र बाँकी रहँदा दलहरुले मन्त्री बन्नेहरुको नाम सार्वजनिक गरेका छैनन् । 

त्यस्तै कांग्रेस र एमालेबीच मन्त्रालयको बाँडफाँट भएको छ । जस अनुसार नेपाली कांग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पाउने बताइएको छ ।

त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ