arrow

प्रधानमन्त्री ओलीले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
oli-oath-81-3-31-final.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । ओलीले तेस्रो कार्यकालका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

ओली २०७२ साल असोज २५ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । २०७४ साल फागुन ३ गते उनी दोस्रो पटक प्रधानमन्त्री भएका थिए । 

२०७८ साल बैशाख ३० गते उनी प्रधानमन्त्री भएकै बेलामा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः प्रधानमन्त्रीमा नियुक्त गरेको समयलाई तेस्रो बनाएर अहिलेको शपथलाई चौथो भनी सरकारी रेकर्डमा उल्लेख भए पनि कार्यकाल सम्हाल्ने हिसाबमा भने यो तेस्रो पटक नै हो । 

यसपालि दुई ठूला दल नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका हुन् । 

दुई पार्टीबीच संविधान संशोधनको मुद्दा लिएर सत्ता गठबन्धन गरेको भए पनि अहिलेसम्म संविधानको कुन कुन बुँदा संशोधन गर्न खोजिएको हो भन्ने खाका तयार भएको छैन । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाएका छन् । त्यसपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराउने छन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।    
राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा  नियुक्त गरेका थिए । 

प्रतिनिधि सभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिसँगै अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

मन्त्री बन्नेहरुको सूची:
१- प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२- विष्णु पौडेल –  उपप्रधान तथा अर्थ
३- पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४- रमेश लेखक – गृह
५- प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
६- आरजू राणा देउवा – परराष्ट्र
७- बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
८- बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 
९- दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०- नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११- देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२- विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१३- अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४- तेजुलाल चौधरी – युवा तथा खेलकुद
१५- मानवीर राई – रक्षा
१६- दीपक खड्का – ऊर्जा
१७- राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८- ऐनबहादुर शाही – वन तथा वातावरण
१९- शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०- प्रदीप यादव – खानेपानी
२१- रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ