arrow

सुन्तला विक्रि केन्द्र बन्दै सिद्धार्थ राजमार्ग

आय आर्जनको माध्यम बन्दै सडक

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
syangja-orange.jpeg
स्याङ्जा । सुन्तलाको पकेट जिल्लाको रुपमा परिचित छ स्याङ्जा । विगतका बर्षहरुमा उत्पादित सुन्तला निर्यात मात्रै गर्ने स्याङ्जाका किसानहरु अहिले सडकमै बसेर राम्रो आम्दानी गर्न सफल भएका छन् । मेहनत गर्न सकेमा पैसा यही छ भन्ने उदाहरण पनि देखाएका छन् सुन्तला किसानले । 
 
सडकमै बसेर लाखौ आम्दानी गर्न सफल भएका किसान हुन भीरकोट नगरपालिका ५ का डोलनारायण श्रेष्ठ । उमेरले ७४ बर्ष काटेका श्रेष्ठ सिद्धार्थ राजमार्गको स्याङ्जा वालिङ् सडक खण्डका सुन्ताला विक्रिका लागि पुराना व्यवसायी पनि हुन् । ५ बर्षदेखि सडकमै बसेर सुन्तलाको व्यपारको थालनी गरेका श्रेष्ठको सिको अहिले अरुले पनि गर्न थालेका छन् । पहिलो बर्ष १० लाखको सुन्तला सडकबाटै विक्रि गरेका श्रेष्ठ पछिल्लो समय भने व्यपार घटेको बताउछन् । मैले सिकाएकै कारण सबैले सडकमै व्यवसाय गर्न थालेकोमा भने श्रेष्ठ निकै खुशी छन् । 
 
छोरालाई विदेश जानबाट रोकेर सुन्तला खेतीमा हाम फालेका श्रेष्ठलाई सुन्ताला खेती अहिले आम्दानीको राम्रो श्रोत बनेको छ । दुई छोराका बावु श्रेष्ठका जेठो छोरा भारतमा नोकरी गर्दै आएका छन् । श्रेष्ठले विक्रि गरेको देखेर पछ्याउदै गरेका अन्य किसानहरु पनि सडकमै राम्रो आम्दानी भएको बताउछन् ।  विगतका बर्षहरुमा करोडौको सुन्तला बाहिरी जिल्ला र ठुला शहरबजारमा पुग्ने गरेको थियो । तर सिद्धार्थ राजमार्गमै किसानहरुले सुन्तला विक्रि गर्न थालेपछि अहिले सम्म करिव ५ करोड भन्दा बढीको सुन्तला सडकमै विक्रि हुने गरेको अनुमान गरिएको छ । 
 
सडकमा बसेर सुन्तला विक्रि गर्दा कस्तो व्यपार हुने रहेछ भनेर सुरु गरियो अर्की व्यवसायी केशरी गैह्रे भन्छिन्, “व्यापार गर्दै जादा अत्यन्तै राम्रो आम्दानी हुने गरेपछि सडकमै व्यवसाय शुरु गरेकी हुँ ।” दैनिक १० हजार देखि १५ हजार सम्मको सुन्तला सडकबाटै विक्रि हुने गरेको गैह्रे बताउछिन् । 
 
गैह्रे मात्रै होइन सयौको संख्यामा राजमार्गका छेउछाउमा सुन्तला विक्रिका लागि किसानहरु बाटो कुरेर बसेको दृश्य देख्न पाइन्छ । स्याङ्जा सदरमुकाम पुतलीबजारबाट बुटवल तर्फ लागेपछि सिद्धार्थराजमार्गको छेउछाउमा सुन्तला विक्रिका लागि बसेका व्यवसायीहरु देख्न पाइन्छ । स्याङ्जाको सुन्तलाको स्वाद अत्यन्तै मिठो हुने यात्रुहरु बताउछन् । सुन्तलालाई हिमालको हावा चाहिने भएकाले पनि स्याङ्जाका अधिकांश क्षेत्रहरु हिमालको नजरमा पर्दछन् । हिमालको नजर भएकाले स्याङ्जाको सुन्तला मिठो लागेको चितवनका टेकप्रसाद गुरुङ् बताउछन् । 
 
प्रतिकुल मौसमका कारण यो बर्ष सुन्तलाको उत्पादन अत्यन्तै राम्रो उत्पादन भएको छ । गतबर्षको तुलनामा यो बर्ष सुन्तलामा ११ प्रतिशत बृद्धि र आम्दानीमा पनि बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय स्याङ्जाले जनाएको छ । यो बर्ष करिव ३० करोड भन्दा बढीको सुन्तला बिक्रि हुने जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजप्रसाद दवाडीको भनाई छ ।
 
जिल्लाका तिन नगरपालिका र ४८ गाविसमा सुन्तला खेती राम्रो हुदै आएको छ । पुतलीबजार, भीरकोट र वालिङ नगरपालिका तथा एलादी, अर्जुनचौपारी, रापकोट, तिनदोवाटे, माझकोट, सेतिदोभान, फापरथुम लगायतका गाविस सुन्तला उत्पादनमा पकेट गाविसका रुपमा परिचित छन् ।
 
 सुन्तलाबाट राम्रो आम्दानी हुने भएपनि सरकारले सुन्तला खेतीका लागि किसानहरुलाई उपलव्ध गराउनु पर्ने तालिम नगराउदा सुन्तला उत्पादनमा सोचे भन्दा कम भएको विज्ञहरु बताउछन् । स्याङ्जाको पहिचानको रुपमा रहेको सुन्तलालाई सरकारी निकायबाट उपलव्ध गराउनु पर्ने सेवासुविधा हुने हो भने यसबाट अझै राम्रो आम्दानी हुने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ