arrow

११ प्रतिशतले बढ्यो आन्तरिक राजश्व, महत्त्वाकाङ्क्षी लक्ष्यबीच ७६ प्रतिशत प्रगति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
IRD-antarik rajasso bibhag.jpg
तस्बिर : फाइल

काठमाडौँ। देशभित्र हुने आर्थिक क्रियाकलापका कारण सरकारलाई प्राप्त हुने राजश्वको आकार ११ प्रतिशतले बढेको छ। आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०८०/८१ मा यस्तो वृद्धिदर हासिल गरेको हो।

आन्तरिक राजश्व उठाउने प्रमुख जिम्मेवारी रहेको आन्तरिक राजश्व विभागले आर्थिक वर्षको सम्पूर्ण अवधिमा ५ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको जनाएको छ। अघिल्लो वर्ष यस्तो राजश्वको आकार ४ खर्ब ७९ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो।

यद्यपि उक्त वर्षका लागि लक्षित राजश्व भन्दा सङ्कलित राजश्व ७६.६४ प्रतिशत रहेको छ। यस आर्थिक वर्षमा आन्तरिक उत्पादनतर्फ ६ खर्ब ७७ अर्ब ७३ करोड रुपैयाँ राजश्व परिचालन गर्ने लक्ष्य रहेकोमा सो बराबरको मात्रै प्रगति हासिल हुन सकेको हो। यद्यपि यस वर्षको लक्ष्य प्राप्ति अघिल्लो आर्थिक वर्षको भन्दा धेरै छ। 

कुन शीर्षकमा कति उठ्यो राजश्व ? 
यो आर्थिक वर्षमा सङ्कलित कुल करमध्ये आयकरबापत २ खर्ब ४१ अर्ब सङ्कलन भएको छ। त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ १ खर्ब ३० अर्ब, अन्तःशुल्कतर्फ १ खर्ब २ अर्ब, ब्याज करतर्फ ३६ अर्ब, बहाल कर अन्तर्गत २ अर्ब ७४ करोड, स्वास्थ्य सेवा करतर्फ ६ अर्ब ५९ करोड, शिक्षा करतर्फ ३ अर्ब २६ करोड र अन्य ८ अर्ब ९७ करोड रुपैयाँ सङ्कलन भएको छ।

रकमकै आधारमा हेर्ने हो भने चाहिँ यो वर्ष बहाल कर, अन्तःशुल्क, स्वास्थ्य सेवा करतर्फको आम्दानी घटेको छ। अरू शीर्षकको आम्दानी भने यो वर्ष बढेको छ। आयकरतर्फ १३.२३ प्रतिशत, ब्याज करतर्फ ११.९३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ १०.६५ प्रतिशत र शिक्षातर्फ ६३ प्रतिशत राजश्व वृद्धि भएको छ।

कुन क्षेत्रमा कति भयो लक्ष्य प्राप्ति ?
विभागका अनुसार यो वर्ष आयकर सङ्कलनको प्रगति ह्वात्तै बढेको छ। अघिल्लो वर्ष लक्ष्यको ७०.१९ प्रतिशत मात्रै आयकर सङ्कलन भएकोमा यो वर्ष ८०.०१ प्रतिशत पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो। यही आयकर वृद्धिका कारणले यो वर्ष लक्ष्यको तुलनामा प्रगति बढी देखिएको हो।

अरू शीर्षकका राजश्वतर्फ भने अघिल्लो वर्षको प्रगतिभन्दा यो वर्षको प्रगति घटेको छ। बहाल करतर्फ अघिल्लो वर्ष ८७.३९ प्रतिशत प्रगति रहेकोमा यो वर्ष ६९.३२ मा झरेको छ। त्यस्तै, ८७.८२ प्रतिशत रहेको प्रगति दर यस वर्ष घटेर ६१.६२ प्रतिशतमा झरेको छ।

मूल्य अभिवृद्धि करतर्फको प्रगति भने यो वर्ष सामान्य मात्रै घटेको छ। अघिल्लो वर्ष ८३.८५ रहेको प्रगति दर यो वर्ष घटेर ८२.७४ प्रतिशतमा झरेको हो। उता, राजश्वमा महत्त्वपूर्ण योगदान गर्ने अन्तःशुल्कको प्रगति भने यो वर्ष धेरै घटेको छ। अघिल्लो वर्ष ८०.५ प्रतिशत रहेको यो दर आव २०८०÷८१ मा ७०.४८ प्रतिशतमा झरेको छ।

यो वर्ष शिक्षातर्फको करमा ११६.१४ प्रतिशत प्रगति हासिल भएको छ। यद्यपि यो पनि अघिल्लो वर्षभन्दा कम हो। अघिल्लो वर्ष १३५.४७ प्रतिशत लक्ष्य हासिल भएको थियो। स्वास्थ्य सेवा करतर्फ अघिल्लो वर्ष ८२.३७ प्रतिशत प्रगति रहेकोमा यो वर्ष यस्तो प्रगति घटेर ६५.६३ प्रतिशतमा झरेको छ। 

आयकरमा सुधारको कारण
कमजोर आर्थिक मनोविज्ञानका कारण खस्किरहेको अवस्थाबीच यो वर्ष आयकर बढ्नुमा सरकारले गत आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था मुख्य कारण देखिएको छ। बजेटमार्फत सरकारले बैङ्क तथा वित्तीय संस्थाहरूले मर्जर तथा एक्विजिसनको क्रममा प्राप्त भएको बार्गेन पर्चेज बापतको पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको थियो। वर्षौँ अघिदेखि भएको कारोबारमा कर लाग्ने गरी भुतप्रभावी कानून ल्याएपछि उक्त व्यवस्थाको निकै विरोध समेत भएको थियो। 

उक्त विषयमा मर्जर तथा एक्विजिसनमा संलग्न ११ बैङ्कहरूले सर्वोच्च अदालतमा रिट समेत दायर गरेका थिए। तर, पुसमा अदालतले रिट खारेज गर्दै सरकारले कर उठाउन बाटो खुला गरेसँगै बैङ्कहरूले उक्त रकम दाखिला गरेका थिए। यसबापत झन्डै १३ अर्ब रुपैयाँ उठेको थियो। यही रकम उठ्दा यो शीर्षकको राजश्वमा प्रगति देखिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ