मुलुकमा विद्यमान गरिबी हटाउने गरी आवश्यक कार्यक्रम तत्काल ल्याउँछौँ- प्रधानमन्त्री ओली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
641
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विद्यमान गरिबी हटाउनका लागि सरकारले आवश्यक कार्यक्रम ल्याउने बताएका छन् ।आइतबार प्रतिनिधि सभा बैठकमा आफूमाथिको विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै उनले सो कुरा बताए।
राष्ट्रिय योजना आयोगको नेतृत्वमा एउटा संयन्त्र बनाई सरकारले गरिबी हटाउनका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । उनले सबै पालिकामा खाद्य भण्डारणको स्थापना गर्न स्थानीय तहसँग सरकारले तत्काल समन्वय र सहकार्यको कामलाई अघि बढाउने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘सबै पालिकामा खाद्य भण्डारणको स्थापना गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गर्नेछौँ । यस बाहेक निरपेक्ष गरिबी चाँडोभन्दा चाँडो कसरी हटाउने भन्ने सम्बन्धमा योजना आयोगको नेतृत्वमा सम्बन्धित मन्त्रालयको एक संयन्त्र तयार पार्नेछौँ । र, त्यसको सुझावको आधारमा कार्यक्रम तर्जुमा गर्नेछौँ । सडकमा बालबालिकाको बेहाल हुन नदिन हामीले मन्त्रीपरिषद्बाट हामीले निर्णय गरिसकेका छौ । जुनसुकै भूगोलमा जन्मिएको भए पनि बालबालिकालाई भोकै मर्न दिइन्न ।’
प्रधानमन्त्री ओलीले सडकमा बालबालिकाहरूलाई बेहाल हुन नदिनका लागि आफूले मन्त्रीपरिषद्को पहिलो बैठकबाट नै आवश्यक निर्णय गराएको स्मरण गराए ।