arrow

कोशी सरकार पुनर्गठनको तातो, कांग्रेसका आकांक्षी बढ्दो क्रममा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
koshi-pradesh-sabha-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन भएसँगै प्रदेशहरुमा पनि सरकार परिवर्तनको रस्साकस्सी छ । सो क्रममा कांग्रेस र एमालेका मुख्यमन्त्री नभएका प्रदेशमा सिंगो सरकार नै परिवर्तन हुँदैछ भने गण्डकी प्रदेश र कोशी प्रदेशमा पुनर्गठनमात्र । 

कोशीमा मंगलबारदेखि पुनर्गठनको प्रक्रिया अगाडि बढ्ने कांग्रेस केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद प्रदीपकुमार सुनुवारले बताए । 

त्यहाँ एमालेको नेतृत्वमा अहिले सरकार भइरहेकाले एमालेकै नेतृत्वले निरन्तरता पाउने केन्द्रमा सहमति भएको छ । सोअनुसार एमाले नेतृत्वमा रहेका अन्य दलका मन्त्रीहरु छिट्टै बर्खास्तीमा पर्नेछन् । 

केन्द्र सरकारबाट बाहिरिएको भए पनि माओवादी केन्द्रले भने कोशी छोड्न मानेको छैन । 

कांग्रेस सरकारमा जाने भएसँगै मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अन्य दलका मन्त्रीहरुलाई बर्खास्त गर्नेछन् । 

कांग्रेसका आकांक्षी धेरै
कोशी प्रदेश सरकार नौ सदस्यीय हो । जसअनुसार एमालेले सरकारमा सहभागी हुनका लागि ४ वटा मन्त्रालय दिने भनेको छ । तर कांग्रेसले ५ वटा मागेको छ । 

कांग्रेस सांसद सुनुवारका अनुसार ४ मन्त्री र एक राज्यमन्त्री कांग्रेसले पाउने सम्भावना रहेको बताए । 

आकांक्षी भने धेरै नै रहेको उनी स्वीकार्छन् । उनका अनुसार कांग्रेसबाट यसअघि दुई तीन महिनामात्र मन्त्रीहरु भएकालाई पूर्व भनेर सम्बोधन गरिरहनुको अर्थ छैन । 

उनको भनाइलाई मान्ने हो भने कांग्रेसका सबै सांसद मन्त्रीका दाबेदार हुन् । 

कांग्रेसभित्रै भागबण्डा 
कांग्रेसले चार ओटा मन्त्रालय पाउने भयो भने तीन समूहलाई चार ओटा भागबण्डा गर्नुपर्ने हुन्छ । 

अर्थात् पार्टीको शेरबहादुर देउवा समूह, डा. शेखर कोइराला समूह र कृष्णप्रसाद सिटौला समूह कोशीमा हावी रहेको छ । 

मोटामोटी रुपमा हेर्ने हो भने देउवा समूहले दुई ओटा र बाँकी एक एक मन्त्री कोइराला र सिटौला समूहले पाउने छ । 

कोइराला समूहले आफूलाई दुई ओटा चाहिने अडान गरेको भए पनि त्यो पूरा हुने सम्भावना कम छ । 

सिटौला समूहबाट प्रदेश महामन्त्री भुपेन्द्र राई, पूर्व प्रमुख सचेतक गोपाल तामाङ  र केन्द्रीय सदस्य भीम चापागाईँको नाम रहेको छ । 
शेखर कोइराला समूहबाट पुराना मन्त्रीहरुले दोहोर्याउन चाहेका छन् । समानुपातिकबाट पनि आकांक्षी रहेका छन् । 

कोइराला समूहबाट गोविन्द गिरी (इलाम) र मानबहादुर लिम्बू (मोरङ) लाई मन्त्री बनाउन दबाब रहेको छ । 

त्यस्तै इन्दिरा थापा, रामकुमार खत्री लगायतका सांसदहरु पनि मन्त्री बन्न पाउनु पर्ने भन्दै लबिङ तीव्र पारिरहेका छन् । उनीहरुले शेखर कोइरालालाई सीधै दबाब दिएका छन् । 

त्यस्तै देउवा पक्षबाट केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार लगायतले मन्त्री बन्न दबाब दिएका छन् ।  

सुनुवारले आफू दाबेदार हुनु भन्दा पनि आकांक्षी खुला रहेको बताए । सरकारमा जाने तयारी हुनासाथ कांग्रेसभित्र एकपटक हल्लीखल्ली मच्चिने निश्चित छ । 

९३ सदस्यीय प्रदेशमा एमालेले ४०, कांग्रेसले २९, माओवादीले १३, राप्रपाले ६, नेकपा एसले ४ तथा जसपाले १ सिट जितेको छ । 

एमाले कांग्रेस भए प्रदेश सभामा दुई तिहाई सिट पुग्नेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ