arrow

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संविधान संशोधन गर्न जरुरी - शेखर कोइराला [भिडियो]

सरकारलाई असफल हुने छुट छैन, १० वर्षमा संविधान सुधार गर्नुपर्छ भन्ने बिर्सनु भयो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
shekhar-koirala-04-08.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले राम्रोसँग संविधानको अध्ययन नगरेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए । 

उनले संविधान के—के कुरामा सुधार गर्ने भन्नेबारेमा भने छलफल गर्न आवश्यक रहेको बताए । उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको भन्दै खुशी प्रकट गरे । उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संविधान संशोधन गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘संविधान संशोधनको कुरा गर्दा यस पटक संसदमा दुई तीन वटा कुरा आयो । यो संविधान के खराबी छ र ? यसमा कमी कमजोरी के छ ? चल्दै थियो, किन गर्ने ? भन्नेकुराहरु आए । तर उहाँहरुले एउटा कुरा पढ्नुभएको छैन जस्तो लाग्यो । १० वर्षमा यसलाई पुनरावलोकन गर्नुपर्छ भन्ने कुरा उहाँहरले बिर्सिनुभएछ । यो संविधानमै लेखिएको छ । केके कुरामा पुनरावलोकन गर्ने भन्ने कुरा पक्कै पनि आउँछ । नेपाली कांग्रेस र एमालेको सरकार त बन्यो, यो सरकारको प्राथमिकतामा संविधान सुधार, पुनरावलोकन, परिमार्जन भन्नुस्, के गर्ने हो ? त्यसलाई प्राथमिकतामा राख्नुभएको छ । साथै सुशासन र भ्रष्टाचार नियन्त्रणका कुरालाई पनि उहाँहरुले अत्यन्त महत्त्वपूर्ण तरिकाले राख्नुभएको छ । आर्थिक विकासका कुराहरूलाई द्रुत गतिमा लैजाने भनेर सात बुँदे सम्झौतामा यी कुराहरू छन् । हामीले किन संविधानमा केही सुधार गर्नुपर्छ भनिरहेका छौँ भने राजनीतिक स्थायित्व भएन । यो मिश्रित प्रणालीले गर्दा कुनै पनि दलको बहुमत नआउने भयो, राजनीतिक स्थायित्व भएन र राजनीतिक स्थायित्व नभईकन देश अघि बढ्न सक्दैन । त्यसकारण संविधान सुधारका कुराहरू अघि बढाएका हौँ । कति साथीहरू मिश्रित प्रणाली भएन, समानुपातिक समावेशी भएन भने संविधानको मूलभूत कुरा छ, ती कुरामा नै धावा बोलिन्छ, आक्रमण हुन्छ । उहाँहरुले के बुझ्नु भएन भने यो सरकार बनाउनु पूर्व निर्वाचन भयो, निर्वाचन हुँदा कांग्रेस र माओवादी एक ठाउँमा थियो । सरकार माओवादी र एमालेको बन्यो । त्यसपछि कांग्रेस र माओवादीको बन्यो । फेरि माओवादी र एमालेको बन्यो । प्रधानमन्त्री उही हुनुहुन्छ, पोलिसी चेन्ज भइरहेको छ । अनि देश कसरी अघि बढ्छ । उहाँहरु भन्नुहुन्छ, राम्रोसँग चलिरहेको थियो, किन चेन्ज गरेको । दुई ठुला दल एक ठाउँमा उभिँदा कतै निरङ्कुशता त जन्मिँदैन भन्ने डर छ ।’

सांसद कोइरालाले कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले खादा, माला र स्वागतमै समय बिताइरहेको बताए । आफूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई काममा ध्यान दिन आग्रह गरेको पनि बताए । सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट नरहेको बताए । उनले सरकारले जनतामा रहेको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताए । उनले राष्ट्रलाई प्राथमिकतामा राखेर जनतामा आशा जगाउँदै आर्थिक विकासमा फड्को मार्नुपर्ने बताए । 

उनले भने, ‘मन्त्रीहरू बन्नुभएको छ नेपाली कांग्रेसबाट १० जना जानुभएको छ । खादा, माला र स्वागतमै उहाँहरुको धेरै समय बितिरहेको छ । उहाँहरु आफैँ भन्नुहुन्छ । मैले आग्रह गरेँ, मन्त्रालयको काम गर्न ध्यान दिनुस् भनेको छु । उहाँहरु सचेत भएर अघि जानुपर्छ । किनभने यसचोटी यो सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट छैन । कुनै किसिमको कमी कमजोरी हुन दिनु हुँदैन । किनभने दुई ठुला दल मिलेर सरकार बनेको छ । जनतामा निराशा व्याप्त छ । यो अवस्थाबाट आशा र भरोसा दिलाउनु छ । निराशा चिर्नु छ र सँगै आर्थिक विकासमा फड्को मार्नुपर्छ । यो सबै गर्न कठिन छ तर चुप लागेर बसेर हुँदैन । जनताको निराशा चिर्न आशा कसरी जगाउन सक्छौँ त्यो गर्नुपर्छ । आशा जगाउने नाउँमा राष्ट्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ ।’

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन हुनुपर्ने, निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने, समावेशीलाई कुनै आघात नपुग्ने गरी अघि बढ्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ