arrow

अन्नपूर्ण न्यूरो अस्पतालमा रोबोटबाट शल्यक्रिया, दुई दिन लाग्ने जटिल अप्रेशन आधा घण्टामै [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
annapurna-neuro-basanta-panth.jpg

काठमाडौँ । काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा रोबोट प्रविधिमार्फत शल्यक्रिया शुरु भएको छ । टाउको तथा स्नायु प्रणालीसँग सम्बन्धित जटिल प्रकारको शल्यक्रियामा रोबोटिक सिस्टमबाट सहायता लिन शुरु गरिएको अस्पतालले जनाएको छ । 

मंगलबार अस्पतालमा आयोजित कार्यक्रमबीच ‘रेमेबोट’ उक्त ‘न्यूरो रोबोटिक सेट’को उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा अस्पतालका अध्यक्ष तथा न्यूरो सर्जरी विभागका प्रमुख डा. वसन्त पन्तले उक्त मेशिनको उद्घाटन गरे । 

औपचारिक उद्घाटन गर्नुअघि उक्त रोबोटको सहायतामा तीन वटा जटिल प्रकारका शल्यक्रियाहरुको सफल परीक्षण सम्पन्न भएको अध्यक्ष डा. पन्तको भनाइ छ । 

रोबोटले कसरी गर्छ काम ? 
उक्त रोबोटलाई मुख्यतया तीनवटा भागमा विभाजन गरिएको छ । यी भागहरुलाई हात, आँखा र दिमागको रुपमा बुझ्न सकिने डा. पन्त बताउँछन् । हात भनेर चिनिने भागले चिकित्सकले निर्देशित गरे बमोजिम चिर्नुपर्ने वा घाउ बनाउनुपर्ने ठाउँ पत्ता लगाउने (टार्गेटिङ) र त्यसमा छेदन गर्ने काम गर्छ । 

त्यस्तै, आँखा भनेर चिनिने भागले शल्यक्रिया भएको अंगलाई नियाल्ने र यसको जानकारी दिमाग भनेर चिन्न सकिने सीपीयूलाई पठाउने काम गर्छ । क्यामेराबाट प्राप्त जानकारीको आधारमा सीपीयूले आवश्यक फिडब्याक दिने काम गरिरहेको हुन्छ । 

मान्छेको शरिरले जस्तै रोबोटको सिस्टमले समेत एकैसाथ काम गरिरहेको हुन्छ । उता रोबोटमै जोडिएको स्क्रिनमा शल्यक्रियासम्बन्धी प्रत्यक्ष अवस्था डिस्प्लेसमेत गरिरहेको हुन्छ । 

डा. श्रेष्ठका अनुसार यो रोबोटको एक्युरेसी ०.५ मिलिमिटरसम्मको हुन्छ । अर्थात् यसलाई दिइएको निर्देशनका आधारमा तोकिएको ठाउँको ०.५ मिलिमिटरसम्मको ठाउँमा यो मेशिनले टार्गेटिङ गर्छ र त्यही अनुसार गहिराइसम्म चिर्ने, छेदन गर्ने वा घाउ बनाउने काम गर्छ ।

अस्पतालले उक्त रोबोटिक सेट झण्डै ८ करोड रुपैयाँ खर्च गरेर चीनबाट ल्याएको हो । चिनियाँ प्राविधिक टोलीले उक्त रोबोटको सञ्चालनबारे अस्पतालमै आएर चिकित्सक तथा नेपाली प्राविधिकको टोलीलाई तालिमसमेत दिएको छ । 

१० वर्ष आयू अनुमान गरिएको उक्त रोबोटका लागि कम्पनीले तीन वर्षको वारेन्टी दिएको छ । यो अवधिमा मेशिनमा समस्या आएमा अस्पतालमै प्राविधिक टोली आएर बनाइदिनेछन् । 

त्यसो त शुरुमा अस्पतालले उक्त मेशिन अमेरिकाबाट ल्याउन अप्रोच गरेको थियो । तर एउटा मेशिन नेपालसम्म डेलिभरी गर्न नसक्ने भनेपछि विकल्पमा चिनियाँ कम्पनीबाट ल्याइएको हो । 

अस्पतालका अध्यक्ष डा. पन्त अमेरिकी कम्पनीले कम्तीमा चार वटा सेट लिनुस् भनेपछि सफल नभएको बताए । ‘उहाँहरुले चार वटासम्म लिने भए मात्रै हामीले डेलिभरी र सर्भिस दिन सक्छौँ भनेपछि हामीले चीनबाट ल्याउन थाल्यौँ, चीन नजिक भएकोले पनि हामीलाई सजिलो भयो ।’

दुई दिन लाग्ने शल्यक्रिया आधा घण्टामै 
यो रोबोटको सहयोगमा शल्यक्रिया गर्दा २ दिन लाग्ने शल्यक्रिया आधा घण्टामै सकिने अस्पतालकी फङ्सनल न्यूरो सर्जरी सम्बन्धी विशेषज्ञ डा. रेशा श्रेष्ठ बताउँछिन् । त्यस्तै, दुई अढाइ घण्टा लाग्ने शल्यक्रियासमेत १५ मिनेटमै सम्पन्न हुन सक्ने उनको भनाइ छ । 

‘अपरेसनमा सबैभन्दा जटिल कुरा भनेको टार्गेटिङ हो । रोबोटले टार्गेटिङ गरिदिने र कमभन्दा कम क्षतिमा चिर्ने काम गरिदिने भएकोले यसले अप्रेसनको समय घटाउँछ,’ डा. श्रेष्ठ भन्छिन्, ‘२ दिन लाग्ने अपरेसन आधा घण्टामै सकिएको छ । दुई अढाइ घण्टा लाग्ने अपरेसन १५ मिनेटमै सकिएको छ ।’

यसरी रोबोटको सहयोगमा शल्यक्रिया गर्दा बिरामीको दुखाइ कम हुन र शल्यक्रियापछि रिकभर हुनसमेत धेरै समय नलाग्ने डा. श्रेष्ठ बताउँछिन् । यसअघिका शल्यक्रियाहरुले यसलाई पुष्टि गरेको उनको भनाइ छ । उद्घाटन कार्यक्रममा अघिल्लो दिन शल्यक्रिया गरिएको व्यक्तिले सजिलैसँग लेख्न सकेको देखाइएको थियो । 

कति महँगो हुन्छ रोबोटबाट शल्यक्रिया ? 
ठूलो खर्च गरेर प्रविधि भित्र्याएको भए पनि यसले बिरामीहरुमा ठूलो व्ययभार भने नथपिने अस्पतालले जनाएको छ । यद्यपि सामान्य रुपमा शल्यक्रिया भएका बिरामीभन्दा २० देखि २५ प्रतिशतसम्म रोबोटिक शल्यक्रियाको लागत लाग्नसक्ने डा. पन्त बताउँछन् । ‘रोबोटिक प्रविधिलाई वैकल्पिक रुपमा राख्ने र यो प्रविधि प्रयोग गर्दाको शुल्क नै दोब्बर गरेको अवस्था पनि हामीले पाउँछौँ,’ अध्यक्ष पन्त भन्छन्, ‘तर हामी त्यसो गर्दैनौँ, बढीमा २०–२५ प्रतिशत महँगो पर्न सक्छ ।’

त्यसो त, यो प्रविधि दक्षिण एसियामै पहिलो भएको डा. पन्तको दाबी छ । रोबोटिक सर्जरीको शुरुआत त पहिलेदेखि नै भएको हो । यो रोबोटले भने स्पाइन र क्रेमियल दुवैमा काम गर्छ । यस्तो सेट चाहिँ अहिलेसम्म नेपालमा छैन । भारतमा पनि यो प्रविधिको प्रयोग भएको छैन ।

उक्त रोबोटको निर्माता कम्पनीले अहिलेसम्म यस्तै प्रकारको रोबोट झण्डै १०० वटा निर्माण गरी बिक्री गरेको छ । त्यसमध्ये चीनभन्दा बाहिर खपत हुने यो दोस्रो देश हो । यसअघि काजखस्तानको अस्पतालले उक्त कम्पनीबाट यो प्रविधि खरिद गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ