arrow

भीड व्यवस्थापन गर्न चाहिने योजनाबारे रिपोर्ट दिन स्वास्थमन्त्री पौडेलको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
pradip-poudel-81-4-11a.jpg

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले गत साउन ४ गते संघीय अस्पताल प्रमुखलाई जारी गरेको ९ बुँदे सर्कुलर लागू भए नभएको बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जुम मीटिंगमार्फत जानकारी लिएका छन् । 

शुक्रबार बिहान मन्त्रालयमा भएको वेविनारमा देशै भरिका मुख्य अस्पताल प्रमुखहरू सँग जानकारी मागेका हुन् । उक्त जानकारी ईमेल मार्फत समेत लिखित रूपमा दिन आग्रह गरेका छन् । 

“अस्पताल प्रमुख ज्युहरु काममा व्यस्त हुनुपर्ने भएकाले समयलाई ख्याल गर्दै वेविनार गरिएको ” “सेवा प्रवाह गर्न भएका प्रयास के के भए ?”, “निर्णय बमोजिम नागरिकलाई सहज तरिकाले सेवा प्रवाहका लागि कुन कुन विषय कार्यान्वयन गर्नुभयो, तपाईंहरूका कार्यक्रम के के छन् ? ९ बुँदे बाहेक सेवा प्रवाह सहज बनाउन के के विषयमा सेवा थप गर्नुभयो ? जानकारी गराइदिनु होला ।” वेविनारमा देशै भरिका मुख्य अस्पताल प्रमुखहरूले आ-आफ्नो अस्पतालको अवस्था र सेवा थप गरेको विषयमा जानकारी गराएका थिए ।  

जसमा आधिकांश अस्पतालहरूले दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गरेको, केही अस्पतालमा विस्तारित सेवा लागू गरेको, चिकित्सकको राउन्ड, बिरामी भर्ना, डिस्चार्जमा समय व्यवस्थापन गरि सहजीकरण शुरु गरेको, ओपीडी र शल्यक्रियाहरूमा युनिट थप गरेको, स्वास्थ्य बिमा कार्यक्रम लागू भएका सबै अस्पतालमा औषधिको उपलब्धता कम भएको र औषधिको गुणस्तरसमेत कम रहेको हुँदा थप चुनौती बढेको, भीड व्यवस्थापनका लागि काम शुरु गरेको; काउन्टर थप गरेको, टोकन प्रणाली लागू गरेको, अनलाइन टिकट व्यवस्थापन गरेको, विद्युतीय भुक्तानी प्रणाली व्यवस्थित गरेको, अस्पतालको सेवा सम्बन्धी जानकारी प्राप्त गर्न कार्य सुरु गरेको, नेभिगेर म्याप र स्वयंसेवक परिचालन गरि सूचना तथा जानकारी सहज बनाउने प्रक्रिया  शुरु गरिएको, सोधपुछ तथा गुनासो सुन्ने कक्ष व्यवस्थित गरेको जानकारी दिएका थिए ।

ब्रिफिङ पछि मन्त्री पौडेलले भने, "सरकारी अस्पतालप्रति आम नागरिकको गुनासो बढेको बढ्यै छ, अस्पताल सफा हुन्न, सफा खाने पानी छैन, लाइन लामो हुन्छ, अपरेसनको पालो एक वर्षपछि आँउछ भन्ने जस्ता सामान्य कुरामा पनि नेगेटिभ कुरा धेरै भयो, अत्यन्तै गम्भीर भएर व्यवस्थापन गरिदिनुस् । डिउटीको समयमा अनिवार्य अस्पतालमै रहनुस् , डिउटीको समयमा कोही पनि अनुपस्थिति हुनु हुँदैन, यसलाई कडाइका साथ लागू गर्न जरुरी छ ।"
 
उनले अगाडि थपे, “हामीसँग साधन स्रोत भौतिक संरचना जनशक्ति पनि कम छ, यो दीर्घकालीन योजना अन्तर्गत रहेर, थप छलफल गरेर कार्यान्वयन गर्नुपर्छ । तर अहिलेलाई  उपलब्ध साधन स्रोत र  भौतिक संरचना जे जस्तो छ त्यहीभित्र पनि सुधारको काम हामीले गर्नु पर्छ ।  पर्फरमेन्स दिनु पर्दछ । ल्याब रिपोर्ट लिने, टोकन लिने लगायतका सबै सेवालाई अनलाइन गरौँ । साथै अस्पतालको पेज वा कुनै अनलाइन माध्यमबाट आवश्यक सूचना तथा जानकारी, अस्पतालमा कति बेड छ, अपरेसनको समय उपलब्धता, आइसीयूको अवस्था लगायतका विषयमा सार्वजनिक गरेर आम नागरिकलाइ सहज हुने जुनसुकै महवपूर्ण कुरा सार्बजनिक गरौं र पारदर्शी बनाऔँ ।  समग्र सरकारी अस्पतालको फार्मेसीलाई व्यवस्थित बनाऔं, गुण्स्तर औषधीको उपलब्धतालाई सुनिश्वित गरेर निशुल्क स्वास्थको दायित्व पुरा हुने र उपभोक्तालाई सस्तोमा औषधी उपलब्ध हुने अवस्था बनाऔं ”

सो अवसरमा सचिव डा रोशन पोख्रेलले सर्जरीका लागि लामो लाइन भएकाले सबै सर्जरीहरू अर्जेन्ट नहुने भएकाले अर्जेन्ट बाहेक रूटिन सर्जरीहरू कुर्न सकिने कुरा बिरामी र आफन्तहरुलाई राम्ररी बुझाइदिन अनुरोध गरे । 

उनले ल्याब रिपोर्टको लाइन बस्न नपर्ने गरी डिजिटल ब्यवस्था गर्न, आकस्मिक कक्षमा कसरी क्षमता बेड बढाउन सकिन्छ प्रयास गर्न र अस्पतालको फार्मेसीमा सबै औषधी उपलब्ध गराउन अनुरोध गरे ।

वेविनारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, अतिरिक्त  स्वास्थ्य सचिव, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ