arrow

सचिवहरुसँग केपी ओली भन्छन् –यो सरकारलाई कुनै हालतमा सफल बनाउनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
kp-oli-secretaries-81-4-15.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई  निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराए ।

प्रधानमन्त्रीले भने, 'यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलन लडेर आएका यी पार्टी मुलुकको विकास र परिवर्तनका लागि सधैं मुख्य भूमिकामा छन् । त्यस कारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन ।' 

उपप्रधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने 'असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर आरामले बसेर हुँदैन । हामीले सफलताको सङ्केत चालु आर्थिक वर्षमा दिनुपर्छ । अर्काे आर्थिक वर्षमा अझ धेरै काम गर्नुपर्छ । यो सरकार ‘एक्सन ओरिएन्टेड’ हो । देशका लागि केही गरौँ भन्ने अठोट भएको सरकार हो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । बिना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ ।'

यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमतिबमोजिम दुई वर्ष पुग्नु एक दिन अघि राजीनामा दिने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने बताए ।

'त्यस कारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारी ढुक्कले काम गर्नुस्, त्यसको जिम्मेवारी सरकारले लिनेछ,' प्रधानमन्त्री ओलीले भने । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाबमोजिम जनतामा प्रभावकारी सेवा प्रवाह गर्न, भोकमरी र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध ढङ्गले  काम गर्न निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ