arrow

नेपाल भ्रमण गर्न विश्वका पर्यटकलाई प्रधानमन्त्रीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
ok-oli-2081-04-19.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरुलाई आग्रह गरेका छन् ।

विश्वका छानिएका भ्लगरहरुको लुक्ला विमानस्थलदेखि सगरमाथा आधारशिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’ को प्रिमियर शो कार्यक्रममा प्रधानमन्त्रीले बताएका हुन् ।

प्रधानमन्त्रीले एक पटक नेपाल भ्रमणमा आएपछि जो कोहीलाई अर्को पटक आफै आउँआउँ लाग्ने समेत बताए ।

उक्त रियालिटी शोका माध्यमबाट हिमाल र प्राकृतिक सौन्दर्यबारे विश्वजगतलाई चिनाउन थप मद्धत पुग्ने उल्लेख गर्दै उनले नेपालको सुन्दर प्रकृति अवलोकन नगरिए जीवनको सार्थक अर्थ नहुने बताए ।

नेपालका हिमाल, प्रकृति, नदीनाला, छहराको अवलोकन र हात्ति चढेर जङ्गल सफारी गर्दा आउने आनन्द अवर्णनीय रहेको उनको भनाइ थियो ।

प्रिमियर शोमा लुक्ला विमानस्थल एक खतरायुक्त विमानस्थलका रुपमा प्रस्तुत गरिएको सन्दर्भमा प्रधानमन्त्रीले सामान्यतः विश्वका सबै विमानस्थल एक प्रकारले खतराकै स्थितिमा हुने तर्क राख्दैै लुक्ला विमानस्थलमा उडानका लागि अति तालिमप्राप्त र अनुभवी पाइलट मात्रै खटिने स्पष्ट पारे । 

उनले भने, “म आफैँ धेरै पटक विमान चढेर लुक्ला पुगेको छु, विमानस्थल खोँचमा रहेको र धावनमार्ग सानो भए पनि त्यहाँ दैनिक ८५ उडान हुन्छन्, पाइलटका कारण अहिलेसम्म कुनै दुर्घटना भएको छैन । त्यसकारण लुक्ला विमानस्थलमा कुनै खतरा छैन । विमानस्थल सुरक्षित छ, यसको जिम्मा म लिन सक्छु ।”

प्रधानमन्त्रीले नेपालमा सगरमाथासँगै चर्चा गर्न लायक हिमालहरु कञ्चनजङ्गा, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण, धौलागिरीलगायत रहेको बताए ।

प्रिमियर शो हेर्न प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालस्थित अमेरिकी राजदूतावासका अधिकारी, ख्यातिप्राप्त कलाकारलगायत उपस्थित थिए ।

श्री गुरुङद्वारा निर्देशित यस रियालिटी शोमा नेपालसहित ६ देशका ११ जना १९ देखि ३० वर्ष उमेरका युवा भ्लगरहरु सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ