arrow

सरकार स्टन्टबाजीका लागि कुनै काम गर्दैन [भिडियो]

संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरू मुलुकमा क्रियाशील

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
kp-oli-04-20.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरू मुलुकमा क्रियाशील रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरूले प्रतिगमनका लागि कांग्रेस–एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीको आफूहरूले स्टन्टबाजीको रूपमा कुनै पनि काम नगर्ने बताए । 

आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै उनले सरकार र सत्तारुढ गठबन्धनले कुनै पनि खालको भ्रम सृजना गर्ने गरी काम नगर्ने बताए । 

उनले संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइबल, कुरान जस्तो असंशोधनीय दस्ताबेजको रूपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका कांग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पारे । 

उनले संविधान संशोधन विरुद्ध भ्रम फैल्याउन कोसिस भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे । नेकपा एमाले, नेपाली कांग्रेस जस्ता लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको यो समीकरणले भनेको संविधान संशोधन स्वाभाविक रूपमा लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानलाई अझ व्यवहारिक, सुदृढ, अझ लोकप्रिय बनाउने, यसको ग्राह्यता, स्वीकार्यता, प्रभावकारिता, यी सबै पक्षहरूलाई अभिवृद्धि गर्नका लागि भएको प्रधानमन्त्री ओलीको भनाई थिया । उनले समृद्ध नेपाल: सुखी नेपाली बनाउने लक्ष्य अनुरूप नै संविधान संशोधन गर्ने कुरालाई अघि बढाइएको बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘कतिपयले अहिले पनि हाम्रो विरुद्ध भ्रम फिँजाउने कोसिस गरिरहेका छन् । हामीले संविधान संशोधन गर्नुपर्छ भन्यौँ । यो धार्मिक ग्रन्थ जस्तो वेद हो कि, बाइबल हो कि, कुरान हो कि ? जस्तो असंशोधनीय विश्वास मात्रै गर्न पर्ने, फेर्न नपाइने ग्रन्थजस्तो गरेर व्याख्या गर्न खोज्ने । संविधान एउटा देशको अग्रगतिका लागि, जनताको भलाइका लागि, सुशासन र विकासका लागि, सामाजिक उन्नति, प्रगतिका लागि, आफ्नो संस्कृति समयानुकूल विकासका लागि समयमा परिस्कृत हुँदै जाने र परिमार्जन हुने जाने दस्ताबेज हो भन्ने कुरा अझै त्यसमा पनि भ्रम फिँजाएर हिँड्न खोज्ने तत्त्वहरू सक्रिय छन् । अहिलेको जो समीकरण बनेको छ नेपाली कांगेस र नेकपा एमालेको । यो समीकरणले संविधान संशोधन जस्तो कुरा गर्दा यो प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीहरूले होइन । यो लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेन्डा हो संविधान संशोधन । त्यसकारण लोकतन्त्रका लागि यो कुनै भुलभुलैया वा कुनै अफवाहको भरमा वा कुनै अन्योलग्रस्त भएर अथवा पपुलिष्ट हुनका लागि अथवा कुनै स्टन्टबाजीको रूपमा यसले कुनै पनि काम गर्दैन, कुनै विचार पनि प्रस्तुत गर्दैन । कुनै अन्योल र भ्रम पनि चाल्दैन । स्टन्टबाजी पनि गर्दैन, कसैलाई झुकाउने खेल पनि खेल्दैन । नेकपा एमाले यस भित्र छ । र, नेकपा एमाले, नेपाली कांग्रेस जस्ता लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको यो समीकरणले भनेको संविधान संशोधन स्वाभाविक रूपमा लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानलाई अझ व्यवहारिक, सुदृढ, अझ लोकप्रिय बनाउने, यसको ग्राह्यता, स्वीकार्यता, प्रभावकारिता, यी सबै पक्षहरूलाई अभिवृद्धि गर्ने । यस हिसाबले मुख्य रूपमा यसको प्रभावकारितामा देशको विकासका लागि, सुशासनका लागि र संविधानले परिकल्पना गरेजस्तै मान्छेका समस्या केन्द्रित, समाज केन्द्रित, त्यस हिसाबले अघि बढ्ने मूल्य, मान्यता अनुरूप नै समृद्ध नेपाल: सुखी नेपाली । नेपाललाई समृद्ध बनाउनु छ, नेपाली जनतालाई सुखी बनाउनु छ । यही उद्देश्यमा हामी लागि रहेका छौं ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ